विभाग पंगु बन्दा राजश्व छली गर्नेहरु मालामाल

राजनीति समाचार

काठमाडौं । राजश्व अनुसन्धान विभागमा महानिर्देशक पद रिक्त भएको पनि दुई हप्ता पुग्न थालेको छ । तत्कालीन महानिर्देशक चण्डी घिमिरे अवकास प्राप्त भएपछि उप–महानिर्देशक तथा प्रवक्ता कृष्ण कुमारी श्रेष्ठलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । आर्थिक वर्षको अन्त्यसँगै राजश्व अनुसन्धान विभाग निमित्तको जिम्मेवारीमा चल्ने भएपछि राजश्व संकलनमा गिरावट आएको छ । राजश्व संकलनमा गिरावट आएसँगै बजार अनुगमनमा समेत वाधा परेको छ । विभागमा महानिर्देशक नभएको मौका छोपी उद्योगी, व्यापारीहरुले व्यापक रुपमा राजश्व छली गरिराखेका छन् ।

विभागले यस्ता व्यापारीहरुसँग राजश्व उठाउन पनि सकेको छैन । अर्कोतर्फ निजी क्षेत्रबाट सञ्चालित ठूला–ठूला स्कूल, कलेज, म्यानपावर कम्पनी, कन्सलटेन्सी, होटेल, रेष्टुरेन्टजस्ता क्षेत्रबाट राजश्व छली हुँदा पनि राजश्व अनुसन्धान विभागले ध्यान दिन सकेको छैन । त्योसँगै निजी क्षेत्रबाट सञ्चालित इन्टरनेट, दूरसञ्चार प्रदायक कम्पनी एनसेल, विभिन्न बियर तथा रक्सी कम्पनी र सूर्य नेपाल प्रा.लि. जस्ता कम्पनीहरुले पनि ठूलो मात्रामा राजश्व छली गरिराखेका छन् ।

उता, कोकाकोला कम्पनीले राज्यलाई तिर्नुपर्ने अर्बौं कर नतिरी चोर बाटो प्रयोग गरी ऐन नै संशोधन गरी करोडौं ठगी गरिरहँदा सरकार र राजनीतिक दलहरु गुमनाम बनिरहेका छन् । गुमनाम पनि किन नबनुन् यिनै कम्पनीहरुले राजनीतिक दलका नेताहरुलाई चुनावका बेला करोडौं खर्च दिएका छन् । त्योसँगै विभिन्न राजनीतिक पार्टीका आसेपासे र आफन्तलाई जागिर खाने थलो पनि यिनै कम्पनीहरुलाई बनाएका छन् । उच्चपदस्थ कर्मचारीहरुले पनि जागिरबाट अवकास पाएसँगै निजी कम्पनीलाई जागिर खाने थलो बनाउने कारणले पनि यिनीहरुमाथि निगरानी हुने गरेको छैन ।

राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चण्डी घिमिरेले पनि राजश्व उठाउनेभन्दा कमिसन खाएर अकुत सम्पत्ति आर्जन गरेर विदाई भएका थिए । घिमिरे अवकास प्राप्त भएपछि अहिले कृष्ण कुमारी श्रेष्ठलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि झन् राजश्व छली गर्ने गिरोह नै सक्रिय भएको स्रोत बताउँछ । राजश्व छली रोक्नुपर्नेमा उल्टै विभागका कर्मचारीहरु होटेल, रेष्टुरेन्टको अनुगमन गर्ने नाममा तर्साएर दारुपानीमा रमाउने गर्दछन् । त्यसैगरी ठूला उद्योगहरुको अनुगमन गर्ने नाममा सानालाई तर्साउने र ठूला उद्योगी व्यापारीसँग मिलेमतो गरी कमिसनमा रमाउने गरेको पाइन्छ । राजश्वका कर्मचारीहरुको यस्तो रवैया चलिरहँदा उता अर्थमन्त्रालय भनेजस्तो राजश्व संकलन हुन नसकेको भन्दै गुनासो गरिराखेको छ । यता विभागका कर्मचारीहरु भने आर्थिक वर्षको अन्त्यसँगै उठ्तीपुठ्ती धन्दामा व्यस्त देखिन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *