काठमाडौं । म्याग्दी – बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । २०६४ सालमा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र गरिएको हो ।

