काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने बताएका छन्।
मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन् । यद्यपि यी हतियारबारे अन्तिम निर्णय भने बाँकी नै रहेको बताइएको छ ।
साथै उनले रुस ५० दिन भित्रमा शान्ति वार्ताका लागि तयार नभएमा रुसी सामानमा कडा करको नीति पनि लिने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार नै अमेरिकाले नाटोमार्फत युक्रेनलाई हतियार पठाउने र त्यसको सम्पूर्ण खर्च नाटोले बेहोर्ने बताएका थिए ।
नाटो एक अन्तर्राष्ट्रिय सैन्य गठबन्धन हो । अमेरिका स्वयं नाटोको सदस्य हो । सन् २०२५ सम्म नाटोका ३२ सदस्य राष्ट्र छन् । यसको उद्देश्य सदस्य राष्ट्रहरूको सामूहिक सुरक्षाको सुनिश्चितता गर्नु र बाह्य आक्रमणबाट रक्षा गर्नु हो । अमेरिकाले नाटोले गर्ने खर्चको ६६ प्रतिशत हिस्सा बेहोर्नेछ ।

