काठमाडौं । गृह मन्त्री रमेश लेखकले मन्त्रालय सम्हालेको एक वर्ष पुरा भइसकेको छ । लेखकले मन्त्रालय सम्हालेको वर्षदिन पुरा भइक्दा पनि प्रहरी संगठनलाई चुस्तदुरुस्त ढंगले चलायमान बनाउन सकेका छैनन् । न त प्रहरी ऐन ल्याएर लागु गर्न सके, न एसपी, एसएसपीहरुको बढुवा गर्न सके । उल्टै भिटिज भिषा र प्रहरीलाई हतियार खरिद गर्ने विषयमा विवादमा परे ।
प्रहरी संगठनलाई चलायमान बनाउन नसक्दा केही वर्षदेखि सुस्ताएका गुण्डाहरु एकाएक सलबलाउन थालेका छन् । गुण्डाहरु मात्रै सलबलाएका छैनन् उपत्यकाभित्रका विभिन्न स्थानमा ‘मसाज’ चलाउने नाममा जताततै यौन धन्दा फस्टाउँदै गएको छ । त्यतिमात्रै होइन राजधानीको मुटु मानिने रत्नपार्क अगाडि नेपाल विद्युत प्राधिकरणको वरिपरि यौनकर्मीहरु दिनदहाडै लाइन लागिरहेका हुन्छन्
। अर्कोतर्फ सार्वजनिक यातायातमा पाकेटमाराहरुले समूह बनाएर लूटपाट गर्नेहरुको भीड त्यत्तिकै छ । सार्वजनिक यातायातका साधनहरुमा चालक र सहचालकको मिलेमतोमा मोबाइल, सिक्री र पैसा लुट्ने धन्दा फस्टाइरहेको छ । उता विभिन्न क्षेत्रमा सञ्चालन गरिएका डान्सवार, क्याविन रेष्टुरेन्टमा दिनदहाडै मादक पद्धार्थ सेवादेखि अवैध कारोबार र यौनधन्दा चलिरहेको छ । त्यसैगरी, दोहोरीसाझमा अस्लिल नृत्यदेखि यौनधन्दा चलिरहेको छ । त्योसँगै मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, गुण्डागर्दी र झैझगडाका घटनाहरु त्यत्तिकै बढिरहेका छन् ।
अर्कोतिर उपत्यकाका विभिन्न स्थानमा सिंगै घर भाडामा लिएर बाह्रमासे जुवातास खेलाउने, अवैध कारोबार गर्ने लागुपदार्थ सेवन र यौन क्रियाकलापमा संलग्न हुनेको संख्या पनि त्यत्तिकै बढिरहेको छ । अहिले उत्पकाभित्र काम गर्नेभन्दा विभिन्न आश्वासन देखाएर ठगी गर्ने, लागुपदार्थ सेवन र वसारपसार गर्ने, विचौलियाको काम गरेर सर्वसाधारणलाई ठगी गर्नेहरुको भीड त्यत्तिकै छ । तर, उपत्यका प्रहरी प्रमुखहरु मुकदर्शक भएर बसिरहेका छन् ।
किन कि त्यस्ता धन्दा सञ्चालन गर्नेहरुले आ–आफ्ना क्षेत्राधिकारभित्र पर्ने प्रहरी प्रमुखहरुलाई हप्तावरी र महिनावरी बुझाउने गरेका हुन्छन् । तर, प्रहरीलाई हप्तावरी र महिनवारी नबुझाउनेहरुलाई धरपकड गरेजस्तो गरेर काम देखाउने गर्दै आएका छन् । तर, गृहमन्त्री लेखकले उपत्यकाभित्र यस्तो अवैध धन्दा फस्टाइरहँदा प्रहरीलाई जिम्मेवारी दिएर सुशासन कायम गर्न सकेका छैनन् । उल्टै सचिव र प्रहरी प्रमुखहरुसँग मिलेमतो गरेर आर्थिक लाभ लिने काम गर्दै आएको स्रोतले उल्लेख गरेको छ ।

