काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौंको अधिवेशन स्थगित भएको छ ।
राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा अधिवेशन स्थगित भएको हो । कार्यक्रममा उपस्थित रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विवाद रहेका विषय अधिवेशनको बन्दसत्रमा राख्न आग्रह गरेका थिए ।
उनले अधिवेशन शुरु नै नहुँदै नाराबाजी नगर्न आग्रह गरेका थिए । उनले यो विषयलाई नोटिसमा लिएको भन्दै मिसनमा रहेको पार्टीमा यस्तो क्रियाकलाप नगर्न आग्रह गरे । तर युवाहरुले नाराबाजी जारी राखेपछि अध्यक्ष लिङदेनले जिल्ला अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएका छन् । निर्वाचन कार्यतालिका सार्वजनिक नगरी र प्रतिनिधि यकिन नगरी अधिवेशन गर्न लागिएको संस्थापनइतरको भनाइ छ ।
जिल्ला अधिवेशन विधानसम्मत गर्नुपर्ने महामन्त्री डा.धवलशमशेर राणा पक्षको माग छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधिवत गठन भएका स्थानीय तहका समिति वा अधिवेशन सम्पन्न भएका समिति मात्र कायम गरिनुपर्ने संस्थापनइतर पक्षको माग छ ।
विधिभन्दा बाहिर रहेर गठन भएका वैधानिक समिति विरुद्ध गठन गरिएका समितिलाई मान्यता दिनु नहुने अडान इतर पक्षको छ ।

