चोरी भएका ४१ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

विविध समाचार

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आईतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यका स्थित जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी,लैनचौर,चापागाउँ नयाँबानेश्वर,हात्तिसार,एयरपोर्ट,सिफल,पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार,नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका ४१ ओटा सहित ५२ ओटा सवारी साधन गत साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३,नेपाल प्रहरीको हटलाईन नम्बर एक सयमा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *