काठमाडौं । लामो समयको खडेरीपछि सिरहामा रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ । केन्द्रका अनुसार साउन दोस्रो सातासम्म करिब ४५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।तर साउन तेस्रो साताबाट सुरु भएको निरन्तर वर्षाले रोपाइँको गति बढायो र मसान्तसम्म आइपुग्दा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको उल्लेख गरेको थियो ।
कृषि ज्ञान केन्द्रले जिल्लाका १७ स्थानीय तहसँग समन्वय गरेर रोपाइँको प्रगतिसम्बन्धी तथ्याङ्क सङ्कलन गरेको हो । सबै स्थानीय तहका कृषि शाखाको सहकार्य गरी तथ्याङ्क तयार पारेको जनाएको छ । खडेरीको समयमा अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । तर साउनको अन्त्यतिरको अनुकूल मौसम र किसानको सक्रियता रोपाइँलाई तीव्र बनाउन मुख्य कारण बन्यो । साउन १५ गतेअघि रोपिएको धानको उत्पादन राम्रो हुने सम्भावना छ, तर त्यसपछि रोपिएको धानमा उत्पादनमा केही ह्रास आउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

