भियतनामकी उपराष्ट्रपति सुआनले आज उपराष्ट्रपति यादव र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै

राजनीति समाचार

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनी नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव समारोहमा सहभागी हुँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको हो। उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा उनी शनिबार नेपाल भ्रमणमा आएकी थिइन् । भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *