ananta gurung

नेपाल राष्ट्र युवापिढीमैत्री छैन

राजनीति लेख

नेपालको हालत दिनकादिन खस्किँदै गइरहको छ । खासगरी नेपालको युवापिढीले नेपालमा बसोबास गरी यहाँ नै व्यापार व्यवसाय चलाएर बस्ने सोचमा पटक्कै छैन । सबैले भन्छन नेपाल राष्ट्रको भविष्य छैन त्यसैले यहाँ बसोबास गर्नु भनेको समय खेर फाल्नु मात्रै हो । अहिलेको नेपाली युवापिढी स्वतन्त्र र स्वछन्द भएर खुला आकासमा उड्ने पंछी झै बन्न चहान्छन तर नेपालमा त्यस्तो अवस्था कायम छैन ।

मेहनत गरी पसिना बगाएर काम गरेपछि युवाहरुले भरपेट खान पाउनुको साथै भविष्यको जीवनीको लागि केही बचत होस भन्ने पनि सोचेका हुन्छन् । मुस्किलले पेट पाल्ने काम नेपालमा फाटफुट पाईन्छ तर भविष्यको जीवन नै बनाउने गरी नेपालमा रोजगारी छैन । गाँस, बास र कपासको ग्यारेण्टी हुन्छ भनेर नै नेपाली जनताले कम्युनिष्ट दलहरुलाई जनआन्दोलनमा सघाएका थिए । त्यसपछि भएका आमचुनावहरुमा पनि नेपाली जनताले कम्युनिष्ट पार्टीहरुलाई नै भोट हालेका थिए ।

तर चुनाव जितेपछि सत्तामा पुगेका कम्युनिष्ट दलहरुले पुँजीवादलाई नै अपनाएर मेहनतकस नेपाली जनतालाई वेवास्ता गरेको मात्र होइन उनीहरुको मूल थातथलोलाई नै उजाड बनाउँदै लगेका छन् ।
गाउँमा बसोबास गर्ने नेपाली जनताको भौतिक सुरक्षाको साथसाथ आर्थिक सुरक्षा पनि नभएकाले आफ्नो पूर्वजले चर्चेको प्राकृतिक बसोबासको थलोलाई त्यागेर सहर पसेका छन् । नेपालको सहरमा पनि भने जस्तो जीवनयापन गर्ने अवसरहरु पाउन नसक्दा अहिले नेपाली जनता बिदेश पसेका छन् र बिदेशको अपरिचित भूमि र अपरिचित समाजमा घुलमिल हुँदै आफ्नो र आफ्नो परिवारको सुन्दर भविष्य निर्माणको लागि आवश्यक कमाई गर्ने सपना देखिरहेका छन् ।

कतीको त्यस्तो सपना पुरा होला वा नहोला अहिले नै भन्न सकिन्न किनकि बर्मा गएपनि कर्म संगै भन्ने उखान त नेपालमा पुरानो जमाना देखि प्रचिलित नै रहेकोछ । लिंगिय भेदभावको आधारमा नेपालमा महिलाहरु पनि पीडित छन । परिवारमा पनि बाबुआमाले छोरा र छोरीको लागि फरक शिक्षा दिने र घरको काममा छोरीहरुले ज्यादा खट्नु पर्ने जस्ता सामाजिक नियम आज उप्रान्त तक कायम नै रहेका छन् । महिलावर्ग उचित शिक्षाको अभावमा पुरुषहरु भन्दा कमजोर भएको हुँदा समान राजनीतिक वा परिवारको नेतृत्व गर्ने अवसरबाट बञ्चित भएका छन् । नेपालको संबिधान २०७२ ले ३३ प्रतिशत सम्म महिलाहरुको राजनीतिमा सहभागिता बढाउनु पर्ने तोकेको भएतापनि सोअनुसारको महिलाहरुको सहभागिता नेपालको राजनीतिमा हुन सकीरहेको छैन । आज पुरुष मानव तस्करहरुको सजिलो सिकार महिलाहरु नै छन ।

उचित शिक्षाको अभावमा उचित अनुचित छुट्याउनु नसक्दा हजारौंको संख्यामा नेपाली महिलाहरु खाडी र अफ्रिकी मुलुकहरुमा अलपत्र भएका छन् । त्यहाँका मानव तस्कर दलालहरुबाट पनि नेपाली महिलाहरु पिडित छन । कामको खोजीमा त्यहाँ पुगेका नेपाली महिलाहरुको चरम शोषण भईरहेको अवस्था छ । नेपाली युवापिढीलाई यसरी बिदेशमा पुर्याएर अलपत्र पार्ने मानव तस्करहरु राजनीतिक दलका नेताहरु नै हुन । घरजग्गाको दलालहरु पनि दलका नेताहरु नै छन । त्यसैगरी बिदेशीको दलाल बिचौलिया बनेर नेपालको विकास र राजनीतिमा प्रभूत्वकायम गरी बसेकाहरु पनि दलका नेताहरु नै छन ।

नेपाली जनताको गाँस, बास र कपासलाई नै व्यापार र व्यावसाय बनाएर नाफा कमाउने र कमाएकाहरु सबै दलका नेताहरु र कार्यकर्ताहरु नै हुन । नेपाली जनता आज आएर दलहरुले फैलाएको भ्रमको सिकार भईसकेका छन् । दलहरुले नेपाल राष्ट्रलाई स्वर्ग बनाउने भयो भन्ने नेपाली जनताले सुरुसुरुमा सोचेका थिए तर आज आएर सबै त्यसको उल्टो पाल्टो हुँदै गएपछि नेपाली जनता जिल खाएका छन् । “के गर्छस मंगले आफ्नै ढंगले“ भन्दै नेपाली जनता दलका नेताहरुलाई धारेहात लगाएर रुँदै बसेका छन् । नेपाली समाजको परपूर्वकाल देखि चल्दै आएको परिवारिक संस्था आज छरपष्ट भईसकेको हुँदा गाउँ घरमा मर्दा पर्दा साथ सहयोग दिने व्यक्तीहरु पनि छैनन् । मर्दाको मलामी जीउँदो जन्ती भन्ने नेपालको स्थापित समाजिक परिवारवादको घिटघिटी मात्रै बाँकी बचेको छ ।

बंश बृद्धि रोकिएको छ भने परिवारवाद चलायमान छैन । यस्तो हालतमा नेपालको भविष्य बोकेर नेपाल राष्ट्रलाई अगाडि बढाउनेहरु नेपालमा छैनन् । उहाँहरु नेपालको होईन बिदेशी मुलुकहरुको भविष्यालाई उज्वल बनाउनको खातिर दिन राता खटीरहेका छन् । भोक, प्यास र निद्रा सबै त्यागेर नेपाली युवापिढी बिदेशी मुलुकको विकासको लागि निरन्तर पसिना बगाईरहेका छन् । नेपाल राष्ट्र खाली भएकाले नेपालको गाउँघर सुनसान भएको छ अनि खेतबारीहरुमा मेहनत गर्ने किसानहरु बिदेश पलायन भएकाले बञ्जर बनेर बाँझै छन । आफ्नो देश सम्झेर नेपालमा नै बसेकाहरुको जीवनयापन पनि त्यति सरल र सहज छैन । दलका नेताहरु मानवताहिन भएकाले रिमीट्यान्स बाहेक अरु कुरा तिनीहरुको मनमा सुझ्दैन । अहिलेको ओली–देउवा सरकारले बिदेशमा कमाउनको लागि जान चहानेहरुको लागि बिना धितो बैंकहरुबाट ऋण दिने बजेट मार्फत व्यवस्था समेत मिलाएका छन् ।

राजनीतिक दलका नेताहरु नेपाल राष्ट्र र नेपाली जनताको भविष्य बिग्रने डर त्रास र चिन्ताबाट वेफिक्र छन । नेपालमा नै बसेका नेपाली जनतालाई पनि दलका शीर्ष नेताहरुले बिदेशी सित मिलेर नेपालको विकास र राजनीतिमा अनेक प्रकारको हष्तक्षेप गरी दुःख दिंदै आएका छन् । कहिले ईम्बोस्ड नंवर प्लेट र कहिले राष्ट्रियपरिचयपत्रो कुरा निकालेर नेपाली जनतालाई कुकुरले नपाउने सम्मको दुःख दिने गरेका छन् । उमेरले डाँडापारी पुगीसकेका बृद्धबृद्धा नेपाली जनतालाई कहिले यता र कहिले उता भनी लाईनमा उभ्याएर दुःख दिने गरेका छन् ।

एकातिर नेपाल राष्ट्र गरिव अनि यहाँ बसोबास गर्ने नेपाली जनता झन गरिब भएतापनि दलका नेताहरुले तिनीहरुको खुन पसिना चुस्न कहिले पनि छाडेका छैनन् । बिदेशी सित मिलेर तिनिहरुको दलाल बिचौलिया बन्दै नेपाली जनताको खुन, पसिना चुस्ने नयाँ नयाँ तरकिव र योजनाहरु बनाउने ल्याउने काम दलका नेताहरुले निरन्तर गरेका छन् ।

यस्तो दृष्टिकोणले सरसर्ती हेर्दा दलहरू भनेको भष्मासुर नै भएकाले आफै पनि भष्म हुन र अरुलाई पनि भष्म पार्न किञ्चित पनि हच्काचाउँदैनन् । राजतन्त्र र पञ्चायतको बिरुद्ध भ्रम फैलाएर सत्तामा पुग्न दलहरु सफल भएतापनि दलहरुले राजतन्त्र र पञ्चायतले भन्दा राम्रो गर्ने कुरालाई छाडौ त्यसको बराबरी सम्म पनि कहिले गर्न सकेको छैन । दलहरूले संसारलाई चकित पार्ने चमत्कारी विकास नेपालमा गरेका छौ भनी दाबी गर्दाछन तर त्यो सबै राजनीतिक दोगलापन मात्रै हुन । समय काल र परिस्थिति अनुसार भएका वा गरिएका विकासहरुलाई दलहरुले गरेको विकास भनी दाबी गर्नु सर्वथा झुटको खेती मात्रै हो ।

दलहरुले आफ्नो व्यवस्थापकिय नेतृत्व क्षमताको प्रयोग गरी भए गरिएका विकासहरु नगण्य छन । ऋण कती बोकाए, नेपाली जनता कस्तो आर्थिक संकटमा परेका छन् र के कती महंगीको मार व्यहोरीरहेका छन भन्ने महत्वपूर्ण बिषयहरुलाई गुपचुपमा राखेर संसारलाई चकित पार्ने चमत्कारी विकास गरेका छौ भनी दाबी गर्नु आफैमा बिरोधाभास र हाँस्यसपद कुराहरु हुन । नेपाली जनता जहाँ सरकारी सेवा लिन गएपनि मामुली कामको लागि पनि हप्तादिन सम्म खट्नु पर्ने हुन्छ । सदरमुकामबाट टाढा छ भने त खान बस्न र यात्रा खर्च पनि निकै नै हुने गर्दछ । सरकारी सेवा छिटो, छरितो रुपमा लिनको लागि दलका नेताहरुको झोले बन्नु पर्ने हुन्छ जुन सबैको लागि उपयुक्त छैन ।

सजिलै हुने वा पाउने सरकारी सेवाको लागि पनि दलका नेताहरुको वरिपरि चक्कर लगाउनु पर्ने, भनसुन गराउनुको साथै पैसा खर्च गर्नु पर्ने भएकाले नेपालका युवापिढीले नेपालमा बस्न रुचाएका छैनन् । हरेक पाईला पाईलामा चाकडी चापलुसी र घुस समेत खुवाउनु पर्ने भएकाले नेपाली युवापिढीको जनसक्ति दलका नेताहरु देखि वाक्कदिक्क भएर बिदेश पलायन भएका छन् । श्रम स्वीकृति देखि लिएर भिसा सम्मको लागि घुस खुवाउनु पर्दा नेपाली युवापिढीको मन कुडिएका छन र साथीहरु सित कुरा गर्दा अब नेपाल कहिले पनि फर्किन नपरोस भनि बिद्रोहको भवना प्रकट गर्दछन ।

नेपालमा केही व्यक्तिहरुलाई मात्रै धनी बनाउने राजनीतिक व्यवस्थालाई नेपाली जनताले चुनेको होइन । दलहरुले नेपालको अभूतपूर्व विकास गरी सबै नेपाली जनतालाई समृद्ध र सुखी बनाउने बाचा गरेका थिए । यो कुरा दलहरुको प्रतिबद्धता पत्रमा भनौ वा चुनावी घोषणा पत्रमा भनौ त्यसमा एकपटक मात्र होईन पटक पटक अनेक पटक उल्लेख गरिएका छन वा भएका छन् ।

नेपाल राष्ट्र र नेपाली जनताको ३६ बर्ष लामो महत्वपूर्ण समय वा अवधिलाई दलहरुले झुटो कुरा बोलेर वा फटाईगिरी गरेरै बिताएका छन । आज पनि नेपाल राष्ट्र र नेपाली जनतालाई भ्रममा पारी नेपालमा आफ्नो सुरुची अनुसारको शासन गर्ने प्रयासलाई त्यागेका छैनन् । दलहरुको हैषियत भनेको ३६ बर्ष नेपालको राजकिय सत्तामा बसेर पनि माग्नेको माग्ने नै हो ।

अहिले पनि बिदेशीको सहुलियत ऋण र अनुदान लिनको लागि दलका नेताहरु उनीहरुको दिसा पिसा खान पिउनको लागि पनि हमेसा तयार बसेका देखिन्छन । राजतन्त्र र पञ्चायती व्यावस्था नेपालमा हुँदा खेरीको आत्मसम्मान, स्वाभिमान र स्वावलम्बीलाई दलहरुले पोलेर खाईपचाई सकेका छन । दलहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई परनिर्भर मात्र बनाएको छैनकि नेपालको अस्तित्वलाई नै खतम पार्ने गरी भष्मासुरको डरलाग्दो चाल अभ्यासलाई सुचारु गरेका छन् ।

नेपाली जनता अहिले नै सजक भएर दलहरुलाई नरोकेमा नेपाल राष्ट्र इतिहासको पानामा चाँडै समाहित हुन कुनै बेर लाग्ने छैन । नेपाल राष्ट्र युवापिढी मैत्री नबन्नुमा दलहरुको गलत नीतिहरु र खुला भ्रष्टाचार नै जिम्मेवार रहेकोछ । देशभक्तिहीन वैदेशिक रोजगार नीति गलत भएकाले यसलाई बदली हाल्न नित्यान्त जरुरी छ । विदेशीले गर्दै आएको नेपालको विकास र राजनीति माथिको ठाडो वा नाङ्गो हस्तक्षेपलाई रोक्नुपर्छ किनकि यसबाट नेपालीको परनिर्भरता र भ्रष्टाचारलाई बढवा मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *