रामचन्द्र बस्नेत
जब निर्वाचन नजिकिँन थाल्छ अनि नेकपा एमालेका नेताहरु गुट हाबि हुन्छ । गुट पनि एकपछि अर्को गर्दै व्यक्तिवादी गुटबन्दीमा लाग्छन् ।
गुटमात्रै बनाउँदैनन् पार्टी नै विभाजनतिर धकेल्ने काम नेताहरुले विभिन्न कालखण्डमा गर्दै आएका छन् । २०४८ सालको आमनिर्वाचनमा नेकपा एमालेले ६८ सिट जितेको थियो । तर, २०५१ सालको मध्यावधि निर्वाचनमा एमालेले ८८ सिटमा जित हासिल गरेर प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो । त्यसपछि एमाले नेताहरुमा एकाएक घमण्ड सिर्जना भएपछि नेता वामदेव गौतमले पार्टी नै फुटाइ दिए ।
वामदेवले पार्टी फुटाएपछि एमालेका तत्कालीन अध्यक्ष स्वर्गीय मनमोहन अधिकारी भाषण गर्दागर्दै ढलेर बेहोस भएका थिए । २०५१ को निर्वाचनमा ८८ सिट जितेर सबैभन्दा ठूलो दल भएको एमाले वामदेवले पार्टी फुटाएपछि २०५६ सालको आमनिर्वाचनमा ७१ सिटमा खुम्चिन पुगेको थियो । २०५६ देखि माओवादी द्वन्द्वका कारण २०६३ सम्म मुलुकमा कुनै पनि निर्वाचन हुन सकेन । एकैचोटी २०६२/०६३ जनआन्दोलनपछि २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन भएको थियो । सो निर्वाचनमा नेकपा माओवादीले १२० सिट जित हासिल गरेर सबैभन्दा ठूलो पार्टीमा दर्ज भयो ।
त्यसपछि नेपाली कांग्रेस ३७ र नेकपा एमाले ३३ सिटमा खुम्चिन पुग्यो । नेपालको संविधान २०७२ जारी भएपछि बलियो हुँदै आएको एमालेबाट एकाएक विद्रोह गरी नेता माधव कुमार नेपालले २०७८ भदौ २ गते पार्टी फुटाएर एकीकृत समाजवादी पार्टी गठन गरे । माधव नेपालले एकीकृत पार्टी गठन गरेपछि एमालेले २०७९ सालको आमनिर्वाचनमा बहुमत ल्याउन सकेन । एकातिर नेपालले पार्टी फुटाए भने अर्कोतिर सुदूरपश्चिमका एमालेका नेता भीम रावललाई पार्टीबाट कारबाही गरेपछि एमालेलाई अर्को झड्का थपिएको थियो ।
त्योसँगै एमालेको भोट एकीकृत समाजवादीले काटिदिएपछि ७९को निर्वाचनमा समानुपातिक सहित एमाले ८८ सिटमा खुम्चिन पुगेको थियो । यदि पार्टी नफुटेको भए ०७९ निर्वाचनमा एमालेले सके बहुमत ल्याउथ्यो नसकेपनि ठूलो पार्टी बन्ने थियो । आगामी २०८४ को निर्वाचनको लागि एमाले बलियो हुँदै गएको थियो । तर, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएपछि एमाले पार्टीभित्र नेताहरुबीच मतभेद सुरु भएको छ । एमालेले यहीं भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाअधिवेशन गर्दै छ ।
सो विधान महाअधिवेशनमा एमाले अध्यक्ष केपी ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन सार्वजनिक गर्नेछन् । भण्डारीको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एवम् उपध्यक्षद्वय सुरेन्द्र पाण्ड र युवराज ज्ञवालीले फरक मत राख्ने तयारी गरिरहेका छन् । त्यसले गर्दा एमालेभित्र फेरि द्वन्द्वको स्थिति सिर्जना हुने देखिन्छ । एमालेभित्रको यथास्थित हेर्दा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको मतभेदले पार्टी कमजोर बन्ने कार्यकर्ताको आँकलन छ । अध्यक्ष ओलीबाट बिच्किएका र निकट नेता, कार्यकर्ताहरु बाहिर खुलेर बोल्न नसके तापनि भित्रभित्रै भण्डारीको पक्षमा उभिन थालेको आँकलन गरिएको छ ।
उक्त विधान महाधिवेशनमा अध्यक्ष ओलीबाट कस्तो राजनीतिक प्रतिवेदन पेश हुने हो र त्यसमा फरक मत राख्ने नेताहरुले कस्तो राजनीतिक प्रतिवेदन पेश गर्ने हुन् त्यो हेर्न बाँकी छ । त्यसले गर्दा यसपालिको विधान महाधिवेशन पहिलाको भन्दा फरक हुने देखिन्छ । त्यही विधान महाधिवेशनले पार्टीको भावी कार्ययोजना तय गर्नेछ । त्यही अनुसार नेकपा एमाले अगाडि बढ्ने विश्लेषकको भनाइ छ । तर, पार्टी एकढिक्का हुनुको सट्टा नेताहरुको होडवाजीले पार्टी नै सखाप हुने हो कि भन्ने आमकार्यकर्ताको धारणा छ । त्यसकारण एमालेलाई चेतना हुन जरुरी छ ।

