काठमाडौं । नेपालमा वर्षेनी विभिन्न बाहानामा सडक लगायतका सार्वजनिक स्थलहरुमा आन्दोलन हुँदै आइरहेका छन् । पछिल्लो समय जतिपनि आन्दोलन भएका छन् ती सबै कानूनको दायराभन्दा बाहिर गएर आन्दोलन गर्ने प्रवित्ति बढ्दो रहेको छ ।
अहिले सबैभन्दा बढी आन्दोलन हुने भनेको काठमाडौंको माइतीघर, बानेश्वर, भृकुटीमण्डप, नारायणहिटी जस्ता संवेदनशील ठाउँमा हुने गरेको छ । उसो त काठमाडौंको हरेक क्षेत्रमा सम्पदाको दृष्टिले मात्र होइन राजधानीको केन्द्र, प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेशद्वार, विद्यालय भएकोले यस्ता ठाउँमा आम जनमानिस, सवारी साधनको चाप हुने गर्दछ ।
विरोध प्रदर्शनले गर्दा हुने जामले मूलतः विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक, शारिरीक अशक्त भएका व्यक्ति, ज्याला मजदुरी गर्ने व्यक्ति तथा बिरामी र कार्यालय जाने कर्मचारीले खेप्नुपर्ने सास्ती कुनै शब्दमा व्यक्त गर्न सकिँदैन । एकछिन होइन, एक दिन होइन, महिनौंसम्म गरिने सडक प्रदर्शन र जामले बालबालिका र बिरामी मात्र होइन, आमनागरिकको दैनिकी पनि कष्टप्रद बन्ने गरेको छ ।
अत्याधिक सवारीसाधनको भार खेपिरहेको काठमाडौंको मुख्य सडक एकछिन जाम हुँदा सवारी व्यवस्थापनमा हुने जटिलता काठमाडौंवासीले वर्षौंदेखि खेप्दै र भोग्दै आएको विषय हो । यस्ता ठाउँमा गरिने प्रदर्शन र त्यसले गर्ने असरको बारेमा सम्बन्धीत निकायको खासै ध्यान गएको पाइँदैन ।
आन्दोलन गर्न नपर्ने भनेर भाषण गर्ने नेताहरू नै संवेदनशिल जस्तो ठाउँलाई आफ्नो निशाना बनाई मनोमानी ढङ्गले सडक, निषेधित क्षेत्र तोडेर अरूको अधिकार हनन् हुनेगरी आन्दोलनको नाममा अराजकता मच्चाउने गर्दछन् ।
नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने संवैधानिक हकको सम्मान गर्दै यो हकको प्रयोग गर्दा अर्का थरी नागरिकको अधिकार हनन् हुन नदिन पनि सजग बन्नु जरुरी छ । सरकारले सबै सरोकारवालाको सहमतिमा मात्र विरोध प्रदर्शन गर्न पाइने एक ठाउँको मात्र नीतिगत व्यवस्था गर्न जरुरी रहेकोे छ ।
नयाँ संविधान जारी भएपश्चात् सुस्ताएको सडक प्रदर्शन अहिले एकाएक गर्माएको छ । परिवर्तनविरोधी, संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी तत्वहरूको रहस्यमय अराजकता बढी नै रहेको छ ।
