काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निमित्त अन्त्य भएको घोषणा गरेकी छिन् । मन्त्रालयले एकै पटक १२२ जना उपसचिव र ९७ शाखा अधिकृतहरुलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएर निमित्त अन्त्य भएको घोषणा गरेको हो । न्यौपानेले जिम्मेवारी सम्हाल्दा १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए ।
ती स्थानीय तहहरुमा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखेर खटाइएको बताइए पनि सरुवामा भिमकान्त पौडेलहरु हावी हुँदा गञ्जागोल देखिएको छ । यस्तै त्यहाँ अर्काे स्याङ्गजाली छन्, भीमकान्त पौडेल । पछिल्लो सरुवामा उनले ठूलै बदमासी गरेको पीडित कर्मचारीहरुले जनाएका छन् । कर्मचारी सरुवा गर्ने र बदर गर्ने धन्दा नै चलेको छ सामान्यमा । सरुवा हुन तीन लाख लिने र बदर गर्न चार लाख लिने काम सामान्य र कर्मचारी संगठनका नेताको आडमा भइरहेको बिषय यस अगाडि नै बाहिरिएको छ ।
यस्तै जनक रावलका खास मानिएका र भानु देउवाको बहिनी ज्वाई सुनिल रावलको सरुवा गर्दै बदर गरेर दाम उठाउने काममा समेत भीमकान्तको नाम जोडिन्छ । ०५४ सालमा सरकारी सेवामा प्रवेश गरेका पौडेल हावी हुँदा सरुवामा गडबडी भएको प्रशस्त उदाहरण देखिन्छ । जस्तो सामान्य प्रशासन मन्त्रालयमा ३० भन्दा बढी कर्मचारी एक दशकदेखि सोही मन्त्रालयमा कार्यरत छन्,उनीहरु कसैलाई चलाइएको छैन । अझै दुई बर्ष अवधि कटेका कर्मचारी सरुवा गरिएको भनिए पनि स्याङ्जाका स्थानीय तहहरूमा दुई वर्ष वा सोभन्दा बढी अवधी पुगेका केही कर्मचारीको सरुवा भएको छैन ।
जस्तो फेदिखोला र बिरुवा गाउँपालिका हुन् । तर गल्याङ नगरपालिका र चापाकोट नगरपालिकामा मात्र सरुवा हुनु र अन्य स्थानीय तहमा नहुनुुलाई अचम्म ठानिएको छ । मध्यबिन्दुमा पाँच महिना कटाउन मुश्किल भएको भन्ने शिशिर पौडेल, सञ्चारमा सरुवा भएको सात महिना नपुग्दै शुक्लागण्डकी नगरपालिका, तनहुँ गएका छन् । हरिराम नागिलालाई महिना दिन नपुग्दै सरुवा उल्टाएर मध्यनेपाल नगरपालिका लमजुङ लगेको छ भने त्यहाँका चण्डिका पौडेलको एक वर्ष नपुग्दै श्रम मन्त्रालयअन्तर्गत सरुवा भएको छ ।
नागिला राष्ट्रपति निकटका विवादित कर्मचारी हुन । विगतमा मन्त्रीकै पालिकामा बसेर विवादित भएका । यस्तै म्याग्दीको बेनी नगरपालिकाबाट मेयरसँग सहज ढंगले कार्यसम्पादन गरिरहेका अर्जुन शर्मालाई सरुवा गरेर उनको स्थानमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रशासन चलाइरहेका अधिकारी गएका छन् । यस्ता धेरै उदाहरण छन् ।
यता सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनेमध्ये १० वटा महानगर उपमहानगरपालिकामा कतै कर्मचारी खटाउन सकेको छैनन मन्त्रीले । अहिले पनि वीरगञ्ज महानगरपालिकादेखि धरान उपमहानगरपालिकासम्ममा निमित्त प्रमुख प्रशासकीय अधिकृतको राइँदाइँ देख्न पाइन्छ । जस्तो कि वीरगञ्ज महानगरपालिकामा उपसचिव अरविन्द लाल कर्ण निमित्त प्रमुख प्रशासकीय अधिकृत छने भने धरान उपमहानगरपालिका अम्बिकाप्रसाद चौलागाईं,मिनबहादुर भट्टराई इटहरीको उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
यस्तै जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल,बाराको कलैया उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव नाथु साह रहेका छन्। सहसचिवको दरबन्दी रहेको दाङको तुलसीपुर उपमहानगरपालिका केशवराज पार्धे र घोराही उपमहानगरपालिकामा ऋषिराम केसी निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन्।
पार्धे उपसचिवमा बढुवा हुनेबित्तिकै तुलसीपुर उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भए। उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै विकृत अभ्यास गर्न तुलसीपुरमा निमित्त भएर गएका हुन्।
सहसचिवको दरबन्दी रहेको नेपालगञ्ज उपमहानगरपालिकामा उपसचिव रामहरि शर्मा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। उनी प्रकाश ज्वाला मन्त्री हुँदा दाहिने हात थिए । अहिलेसम्म आधा दर्जन मन्त्रीको नीजि सचिव रहेका उनी सेटिङ्ग मिलाएर निमित्त खान पुगेका हुन । यस्तै धनगढी उपमहानगरपालिकामा पनि लामो समयदेखि उपसचिव नरेन्द्रबहादुर खाती निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् ।

