काठमाडौं । चाडवडा नजिँकिएसँगै उद्योगी, व्यापारीहरुले पनि भारतीय नाकाहरुबाट चोरी, तस्करीका सामानहरु भित्र्याउने शृंखला बढ्न थालेका छन् । भन्सार र राजश्वका कर्मचारीहरु कमाउने मौका यहीं हो भन्दै चोरी, तस्करी र भन्सार छली गर्ने व्यापारीहरुसँग मिलेमतो गर्न लागिपरेका छन् ।
मौकाको फाइदा उठाउन सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवले आफू अनुकूलका कर्मचारीहरु फिट गरिसकेका छन् । त्यसको उदाहरण बनेको छ प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राजश्व अनुसन्धान विभाग नवनियुक्त महानिर्देशक तीर्थ चिलवाल । लामो सहयदेखि खाली रहेको राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चिलवाल विराजमान भएका छन् । विभागको महानिर्देशक पद लामो समय खाली रहेतापनि आधा दर्जन भन्दा बढी सह–सचिवहरुले आफू महानिर्देशक बन्न साम, दाम, दण्डभेदसहित दौडधूप गरेका थिए ।
व्यापारीहरुले पनि आ–आफ्नो फेबरका कर्मचारीहरु बोकेर नेताको घरदैलो गरिरहेका थिए । अन्य सह–सचिवहरुले दौडधूप गर्दागर्दै राजश्व माफिया कमल किशोर मालपाने नामक (गुड्खा र सूर्ती) व्यापारीले एमाले नेता विष्णु रिमाल र प्रधानमन्त्रीका स्वकीय सचिव राजेश शाक्यलाई १० करोड नजराना टक्र्याएर चिलवाललाई विभागको महानिर्देशक बनाएको स्रोतको भनाइ छ । विष्णु रिमाल र शाक्यले १० करोड झ्वाम पारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहै नदिइ तीर्थ चिलवाललाई राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाएको स्रोतको दावी छ ।
गुड्खा व्यापारी कमल मालपानेले २० अर्ब राजश्व छली गरेको समाचार सञ्चार माध्यममा पटक–पटक आउने गरेको थियो । समाचार बाहिरिए तापनि शक्तिकेन्द्र रिझाउन माहिर मालपानेले त्यही राजश्व छली गरेको २० अर्ब रुपैयाँ खर्च गरेर चिलवाललाई विभागको महानिर्देशक बनाउन सफल भएका छन् । मालपानेले राजश्व छली गरी आर्जन गरेको सम्पत्ति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका उच्च पदस्थ कर्मचारी, नेता र विचौलियालाई प्रभाव पारी आफू उम्किने गर्दै आएका थिए ।
उनै मालपानेले लामो प्रयासपछि राजश्व अनुसन्धान विभागमा चिलवाललाई महानिर्देशक बनाउन सफल भएका छन् । चिलवाल विभागको महानिर्देशक भएपछि मालपानेको कमाउधन्दा राम्रोसँग फस्टाएको बताइन्छ । चिलवाल पनि शाखा अधिकृत हुँदादेखि नै राजश्व र भन्सार कार्यालयमा जरागाडेर कमाउधन्दा चलाउन माहिर भएका व्यक्ति हुन् । चिलवालले आन्तरिक राजश्व विभागको महानिर्देशक भए तापनि तस्करहरुले राजश्व छली गरेर ल्याएको सामानप्रति मौन बस्ने गरेका छन् ।

