काठमाडौं । संघीय मालिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दुई साता अगाडि ६ वटै ट्रेड युनियनका अध्यक्ष र महासचिवलाई बोलाएर स्थानीय निकायमा कार्यकारी अधिकृत खटाउनको लागि सहयोग गर्न आह्वान गरेकी थिइन । मन्त्रीले आह्वान गरेपछि ६ वटै ट्रेड युनियनका अध्यक्ष र महासचिवहरु मन्त्रीको चाहना अनुसार सहयोग गर्ने प्रतिवद्दता जनाएका थिए ।
त्यसैको आधारमा संघीय मन्त्रालयमा वैठक बसी सहकार्य गर्ने सहमति भएपछि गाउँपालिका र नगरपालिकाहरुमा कार्यकारी अधिकृत खटाइएको छ । गाउँपालिका र नगरपालिकापछि महानगरपालिका र उपहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी धमाधम हुन थालेको छ । तर, संघीय मन्त्रालयमा वर्षौंदेखि जरा गाडेर बसेका केही कर्मचारीले मन्त्रीसँग एउटा कुरा गर्ने र सम्बन्धित कर्मचारीसँग तपाईंको काम गर्नुपर्ने भए यति पैसा चाहिन्छ भनेर डिल गर्ने गरेका छन् ।
रकम डिल गर्नेमा स्थानीय तहको प्रशासन शाखामा बसेर तर मारेका उप–सचिव भीमकान्त पौडेलले कर्मचारी सरुवामा सेटिङ गरेर करोडौं उठाएको स्रोतले उल्लेख गरेको छ । पौडेलले स्थानीय तहमा मात्रै सेटिङ गरेका छैनन् भूमि मन्त्रालय अन्तर्गतको मालपोत र नापी कार्यालयमा समेत नासु, शाखा अधिकृत र उप–सचिव सरुवामा डिल गर्ने गरेको स्रोतको भनाइ छ । यस विषयमा तामाकोशी सन्देशले बुझ्नको लागि सम्पर्क नम्बर माग्न संघीय मन्त्रालयकै एक कर्मचारीसँग आग्रह गर्दा ‘म फोन गर्न लगाइदिन्छु’ भन्दै पन्छिने काम गरेका थिए ।
अर्कोतिर संघीय मन्त्री एमाले भएकै कारण कर्मचारी सरुवा बढुवामा एमाले निकटलाई एकलौटी ढंगले अवसर दिएको आरोप मन्त्री न्यौपानेलाई लागिरहेको छ । मन्त्री न्यौपानेले सुगममा रहेका कर्मचारीलाई दूर्गममा र दूर्गममा रहेका कर्मचारीलाई सुगममा ल्याउने तयारी गरिरहँदा दल निकट कर्मचारी संघ, संगठनका कर्मचारी नेताहरु रुष्ट बनेका छन् । तर, मन्त्रीले खटाए तापनि चाडवाड नजिकिँदै गर्दा प्रदेश र स्थानीय तहमा कर्मचारी जान ढिला हुने देखिन्छ । कर्मचारी सरुवाको सिजनमा संघीय मन्त्रालयमा सधैं ‘गाईजात्रा’झैं भीड लाग्ने गरेको छ ।
त्यति हुँदाहुँदै पनि विगतका संघीय मन्त्रीभन्दा हालकी मन्त्री न्यौपाने निष्पक्ष ढंगले कर्मचारी खटाउन लागिपरेको देखिन्छ । उता, सधैं केन्द्र र सुगममा ढलीमली गर्दै आएका कर्मचारीहरु मन्त्री न्यौपानेको कार्यप्रति सहमति जनाउँदै कहाँ र कसरी मन्त्रीलाई फसाउन सकिन्छ भन्दै मौका हेरिरहेका छन् । त्यसले गर्दा पनि मन्त्री न्यौपानेले चाहेअनुसारको काम गर्न नसक्ने देखिन्छ । स्थानीय तहमा विभिन्न दलका जनप्रतिनिधि भएको कारण आफ्नो दल निकट कर्मचारीलाई रोज्ने गरेका छन् ।
जनप्रतिनिधिले आफूनिकट कर्मचारी रोजे तापनि उनीहरुको चाहना अनुसारका कर्मचारीहरु दूरदराजका स्थानीय तहमा जान चाहँदैनन् । मालदार स्थानीय तहमा भने सुनसुकै दलनिकट कर्मचारी पनि जान तयार हुन्छन् । तर, जनप्रतिनिधिले भने आफूनिकट दलकै कर्मचारी सोज्ने गरेका छन् । यस्ता विषयमा मन्त्री न्यौपानेले कसरी व्यवस्थापन गर्ने हुन् त्यो भने निश्चि भएको छैन ।

