काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालको अवकासमा जाने दिन नजिकिँदै गर्दा भावी मुख्यसचिव बन्नको लागि आधादर्जान सचिवहरुको ताँती लाग्न थालेको छ ।
तिनै मुख्यसचिव बन्ने दौडमा उत्रिएका आधादर्जन सचिवमध्यबाट एकले अर्कोलाई खुइल्याउने प्रतिस्पर्धा भइरहेको छ । तथ्याङ्क विभागमा रहेका मधुसुदन बुर्लाकोटी र गृहसचिव रामेश्वर दङ्गाल दुईमध्य एक मुख्यसचिव बन्नुपर्ने होडवाजी चलेको छ । अन्यमध्यमा सुमन राज अर्यालय र कृष्णहरि पुस्कर (कर्ण)बीच पनि ठूलो प्रतिस्पर्धा चलिरहेको छ । यी दुईमा सुमन राज अर्याल वरिष्ठमा पर्दछन् भने दोस्रोमा कृष्णहरि पुस्कर पर्दछन् । अर्का प्रतिस्पर्धी हरेका छन् सुमन शर्मा ।
यीसँगै अन्य सचिवहरुको पनि दौधुप चलिरहेको छ । सरल र सबैलाई रिझाउन सक्नेमा गनिन्छन् अर्थसचिव घनश्याम उपाध्यक्ष । उनको पनि मुख्यसचिव बन्ने सम्भावना त्यत्तिकै छ । त्यसले गर्दा भावी मुख्यसचिवमा कसले बाजी मार्ने हो त्यो निश्चित भइसकेको छैन । हालकै मुख्यसचिव एकनारायण अर्याल पनि अध्यादेश ल्याएर आफ्नो जागिरे अवधि लम्ब्याउने प्रयास गरिरहेका छन् ।
अर्यालयको योजना सफल भएको खण्डमा अन्य सचिवहरुको सपना हावाले उडाउने देखिन्छ । यतिबेला श्रमसचिव कर्ण राजनीतिक दलका शीर्ष नेतादेखि प्रधानमन्त्री सुशीला र जेनजीहरुको शरणमा पुगिरहेका छन् । दल र जेनजीभन्दा पनि दक्षिणी छिमेकी मुलुक भारतसँग नजिक रहेको कारण प्रधानमन्त्री कार्कीले कर्णलाई मुख्यसचिव बनाउन सक्ने सम्भावना रहेको पनि कर्मचारीबीच चर्चा चल्न थालेको छ ।
कतिपय कर्मचारीहरुले त मुख्यसचिव हुनको लागि योग्यता, क्षमता, दक्षतासँगै कुटनीतिक नियोगहरुसँग सम्बन्ध राख्न सक्ने, कर्मचारी तन्त्रलाई चलायमान बनाउन सक्ने र विकासको कामलाई प्राथमिकता दिने क्षमता भएको व्यक्तिलाई मुख्यसचिव बनाउनुपर्ने आवाज पनि कर्मचारीहरुले उठाउन थालेका छन् । मुख्यसचिव कुनै व्यापारी र तस्करहरुले रोज्ने होइन, देशको हितमा काम गर्न सक्ने व्यक्तिलाई सरकारले बनाउने हो भन्ने प्रश्न पनि आमकर्मचारीमा उठ्न थालेको छ ।
हालका मुख्यसचिव अर्यालले निजामती क्षेत्र नै तहसनहस बनाएको र सरकारको हितमा काम गर्न नसकेको आरोप लागिरहेको छ । अर्कोतर्फ २०६५ सालदेखि संघीय निजामती ऐन आउन सकेको छैन । संघीय निजामती ऐन ल्याउनको लागि राजनीतिक दलनिकट कर्मचारी संगठनका नेताहरुले पहल नगरेको आरोप लागिरहेको छ ।
त्योसँगै हालका मुख्यसचिव अर्यालले संघीय निजामती ऐन लागु गर्छन् भन्ने कर्मचारीले आशा गरेका थिए । तिनै अर्याल निजामती कर्मचारीको लागि अभिसाप बन्न पुगेको आरोप छ र त्यसले गर्दा संघीय निजामती ऐन ‘हात्ती आयो, हात्ति आयो फुस्ता’ जस्तै भएर थन्किएको छ ।

