सरकार नियुक्ति र सरुवामा मस्त, निर्वाचन आयोग बजेटमा रुष्ट
काठमाडौं । सरकारले आगामी फागुन २१ प्रतिनिधि सभाको निर्वाचन गर्ने भनिरहँदा निर्वाचन आयोगले ६० प्रतिशत काम सम्पन्न भएको भनिरहेको छ । तर, सरकारले आयोगले दावी गरेअनुसारको बजेट नदिएपछि निर्वाचन आयोग असन्तुष्ट बन्न पुगेको छ । उता, भारतले निर्वाचनको लागि गाडीसहित आवश्यक सामग्री दिने तयारी गरिरहेको छ । तर, कांग्रेस र एमाले दुई ठूला दल आमनिर्वाचनभन्दा पनि पार्टीको महाधिवेशनमा होमिएका छन् ।
एमालेले मंसिर २७–२९ मा पार्टीको ११ औं महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ । उता, कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने, चुनाव अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद विगत डेढमहिनादेखि चल्दै आएको थियो । कार्यबहाक सभापतिको जिम्मेवारी पाएका उपसभापति पूर्णबहादुर खड्काले महाधिवेशनको मिति तय गर्न नसकेपछि सभापति शेरबहादुर देउवाले अस्ति मंसिर १५ गते आगामी पुस २६–२८ गतेभित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने सहमति भएको छ ।
कांग्रेस महाधिवेशनको मिति तय भए तापनि स्थान भने तोकिएको छैन । त्योसँगै केन्द्रीय प्रतिनिधिको लागि वडा, प्रदेश, क्षेत्र र जिल्लाहुँदै केन्द्रीय प्रतिनिधि छनोट गर्न बाँकी नै छ । डेढमहिना हाराहारीको समयमा सबै तहतप्काको अधिवेशन सम्पन्न गरेर केन्द्रीय प्रतिनिधि छनोट गर्नुपर्ने हुन्छ । त्यसले गर्दा पुस २६–२८ मै कांग्रेस महाधिवेशन हुन्छ भन्नेमा ढुक्क हुने अवस्था देखिँदैन । सभापतिको लागि कांग्रेसभित्र इतरपक्ष नेताहरु डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने चर्चा छ । तर, यता संस्थापन पक्षले कसलाई अगाडि सार्छ त्यो अहिलेसम्म निश्चित भएको छैन ।
संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंहले सभापतिको लागि दावी गर्ने सम्भावना छ । त्यसकारण सभापति देउवाले डा. शेखर र गगनमध्ये एउटालाई समर्थन गरेर अगि बढ्छन् कि संस्थापन पक्षको छुट्टै टिम खडा गर्छन् त्यो निश्चित भइसकेको छैन । पार्टीको आन्तरिक झगडाकै कारण कांग्रेसले आमनिर्वाचनतिर ध्यान दिएको छैन । एमालेले त निर्वाचनमा जाने होइन, संसद् पुनस्र्थापना गर्ने अडान कसिरहेको छ ।
उता, १२ वटा भुरेटाकुरे कम्युस्टि घटकहरुलाई जम्मा गरेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ । त्यसको संयोजक रहेका छन् पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नयाँ कम्युनिस्ट पार्टी खडा गरेका दाहाल यतिबेला पार्टी संगठनको लागि देशदौडाहामा निस्किएका छन् । पार्टी संगठनसँगै निर्वाचनमा भाग लिने भनिरहँदा प्रतिनिधि सभाको निर्वाचनका लागि कुनै तयारी गरेको पाइँदैन ।
यदि निर्वाचनमा गएको खण्डमा पनि १२ वटा विभिन्न घटकबाट आएका नेताहरुलाई कसरी व्यवस्थापन गर्छन् त्यो सर्वाजनिक भइसकेको छैन । त्यसले गर्दा आगामी फागुन २१ मै प्रतिनिधि सभाको निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी छैन । यदि निर्वाचन हुने थियो भने कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरु त्यसको तयारीमा जुट्नुपर्ने थियो । तर, विभिन्न वाद, एनजिओ, आईएनजिओ, फाउन्डेसन र पूर्वकर्मचारीहरुले खोलेका नयाँ दलहरु भने कालो धन प्रयोग गरेर चुनाव प्रचारतिर लाग्न थालेका छन् ।

