काठमाडौं । कोही कर्मचारीको हालत अक्सिजन लगाएको बिरामीजस्ता भएका छन् भने अड्डामा बस्न नपाए छटपटीमा पर्ने गर्छन । मन्त्री, मुख्यसचिवदेखि सचिवसम्मलाई मिलाएर क्षमता भएका खेलाडी कर्मचारीहरु अवसरमाथि अवसरको खेतिमा लाग्ने गर्छन । पावर र पहुँच नहुने कर्मचारीहरु सधैँ पुर्प‘रोमा हात राख्ने गर्छन । यतिबेला निजामतीमा कर्मचारीको बोलबोला छ ।
वैदेशिक अध्ययन, भ्रमण पनि तिनैहरुलाई फलिफाप छ । सिंहदरबारको चौघेरा तोडेर अन्यन्त्र जानु पर्दा ए ग्रेडका अड्डाबाट ए ग्रेडकै अड्डामा जाने गरेका छन् । तिनै भाग्यमानी कर्मचारी हुन खुमराज कोइराला, जो जागिरे अवधिभर अर्थ र योजना आयोग छोडेर अन्यन्त्र कतै जानु परेको छैन । योजना आयोगबाट बुटबलस्थित अर्थ मन्त्रालयको सचिव भएर गएका थिए । तर दुई महिना पनि त्यहाँ टिक्न सकेनन्, अहिले राष्ट्रिय योजना आयोगतिर छन् ।
निजामतीभित्रै जिन्दगीभर बोइङ चढ्न नपाउने कर्मचारी पनि छन्, बर्षमा २० पटक यस्ता अवसर पाउनेहरु पनि छन् । छात्रवृत्ति वैदेशिक अध्ययनको अवसर सबैभन्दा बढी लाभ उठाउने कर्मचारी सहसचिव राजेश्वर ज्ञवाली हुन् । जो शाखा अधिकृत हुँदादेखि उपसचिव हुँदासम्म गरी तीन पटक वैदेशिक छात्रवृत्ति पाइसकेका छन् । ०५८ सालमै छात्रवृत्ति पाए र इटालीबाट कानुनमा एलएलएम गरेर फर्किए । सात बर्ष पछि फेरि अन्तर्राष्ट्रिय व्यापारमा दक्षिण कोरियाबाट स्नातकोत्तर हासिल गरे ।
त्योसँगै इजरायलको अलुम्नी युनिभर्सिटीबाट चार महिने कोर्स गर्ने अवसर पनि ज्ञवालीले नै पाए । रघुवीर महासेठका विश्वासपात्र भएर काम गरेका उनी महासेठ मन्त्री हुँदा सिँचाई हुँदै उर्जामा पुगे । त्यसपछि नेपाल ट्रष्टमा हुँदा गोकर्णको जग्गा प्रकरणमा मुछिए । एउटै कर्मचारी अफिसर हुँदा २ बर्ष, उपसचिव हुँदा दुई बर्ष र सहसचिव हुँदा तीन बर्ष छात्रवृत्तिमा पढ्न पाउने भाग्यमानीमा पर्छन । एक पूर्व प्रशासक भन्दछन्, सहसचिवलाई लामो समय अध्ययनमा पढाउनु नै गलत हो । भुटानले दुई सय शाखा अधिकृतलाई क्याम्ब्रिजमा पढ्न पठाउँछ ।
नेपालका सहसचिव पनि वैदेशिक अध्ययनका नाममा उडेका उड्यै छन्, कोभिड कालमा पनि तिनको उडान रोकिएन । यस्तै चिनीको चास्नीमा डुबेर बदनामी कमाएकी र आफ्नै सहकर्मीलाई पेलेर अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको डिजी चलाइरहेकी मतिना वैद्य पनि उही लाइनकी कर्मचारीमा पर्दछिन् । त्यस्तै श्रीकृष्ण नेपाल, उमेश ढकाल, कमल भट्टराई, आश्मान तमाङ लगायतका यस्ता अवसरवादी कर्मचारीमा पर्दछन् ।
एकानारायण अर्याललाई परिक्रमा लगाएर तीन सातामै संघमा फर्कन सफल भए शोभाकान्त पौडेल । केही यस्ता सचिव र सहसचिवहरु छन्, जो बर्षाैदेखि प्रदेशमा डल्लिइरहेका छन् तर शक्तिशाली सहसचिव र सचिवहरु कहिल्यै प्रदेश नटेकी सिंहदरबारमै बसेर मस्ति गरिरहेका छन् । यस्तै, हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक महाशाखाबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका नारायण अर्याल, गृहमा हुँदा विवादै विवादमा मुछिएका थिए । अहिले निर्वाचन आयोगमा पुगेका नारायणप्रसाद भट्टराई, प्रदेशको सरुवा उल्टाएर महिला मन्त्री भगवती न्यौपाने हुँदा सामान्य प्रवेश गरेका पार्वती शर्मा, निता अर्याल, श्रीमानमार्फत सिंहदरको सामाग्री सप्लाई गरिरहेकी मीरा अचार्य समेत प्रदेश नटेक्ने सहसचिवका रुपमा चिनिन्छन् ।
अर्का सहसचिव जीवलाल भुसाल, पूर्व सचिव मधु मरासिनीका भाइ शम्भुप्रसाद मरासिनी, अर्थ मन्त्रालयका हर्ताकर्ता सहसचिवहरू सेवन्तक पोखरेल, महेश भट्टराई र थानप्रसाद पंगेनी, गृह मन्त्रालयमा पुगेका आनन्द काफ्ले र सुरेश पन्थी, उमेश मैनालीका सहोदर भाइ नारायणप्रसाद मैनाली, सहसचिव अनिता निरौला, गिताकुमारी हुमागाइँ, विपिन आचार्य, हेमराज अर्यालदेखि भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मी, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे, राजस्व अनुसन्धान विभागका महानिर्देशक तिर्थराज चिलुवाल, दिल्लीमा रहेका सहसचिव तारानाथ अधिकारी, भन्सार विभागका उपमहानिर्देशक भरतमणि पाण्डे र अमृत लम्साल, एकनारायण अर्यालको अर्काे प्रिय कर्मचारी तथा ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास एक दिनै प्रदेशमा नटेकी संघकै आकर्षक कार्यालयमा मस्ति गरिरहेका छन् ।
