अर्थमन्त्री खनालको आडमा करोडौंको राजश्व छली

राजनीति समाचार

काठमाडौं । नक्कली भ्याट बिल प्रकरण, कर छली, कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन गर्ने, डेडिकेटेड फिडरलाइनमा अनियमिततालगायत प्रकरणदेखि कालोबजारीसम्ममा मुछिएका एक बदनाम व्यापारीले अर्थमन्त्रीलाई समेत प्रभावमा पारेर करोडौं राजश्व छली गरेको बाहिरिएको समाचार सर्वजनिक भएको छ ।

केपी ओली सत्तामा हुँदा होस वा प्रचण्ड, देउवा शक्ति र सत्तामा हुँदा दीपक भट्टमार्फत चलखेल गर्ने व्यवसायी सुलभ अग्रवाल हुन । अग्रवाल नेपाल उद्योग परिसंघको नेतृत्व तहमा बसेर काम गरिसकेका छन् । जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट, जगदम्बा मिल्स, रिद्धिसिद्धि मिनिरल वाटर, युनियन लाइफ इन्स्योरेन्स, जगदम्बा मोटर्स, जगदम्बा वायर लगायत दुई दर्जनभन्दा बढी व्यापार व्यवसाय गर्दै आएका अग्रवाल ०७२ सालको भदौदेखि २०७६ फागुनसम्मको २ अर्ब ६५ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने देखिएको थियो । तर दीपक भट्ट र केपी शर्मा ओलीलाई प्रयोग गरेर सो रकम पचाउन खोजेका थिए ।

उद्योगी व्यवसायीहरुले समेत बक्यौता रकम नतिर्न खोजेका थिए । अग्रवालको कम्पनीमध्ये एक जगदम्बा स्टिल्सले ९० करोड रुपैंयाको नक्कली बिल बिजक काटिएको बिषय समेत बाहिरिएको थियो । सोही उद्योग र अग्रवालले अर्थमन्त्री रामेश्वर खनाललाई प्रयोग गरेर करोडौं कर छलीमा उद्धत रहेको भेटिएको छ ।

अर्थमन्त्री खनाल मारवाडी व्यापारीहरुको खास मान्छे हुन् । खनाल निजामती सेवाको उच्च ओहदामा हुँदादेखि नै अग्रवालको पक्षमा काम गर्दै आएका थिए । मन्त्री खनाल कै आडमा अग्रवाले जगदम्बा ओभरसिजबाट भन्सार प्रणालीमै छेडखानी गरी ७१ लाखभन्दा बढी राजस्व छली गरेका छन् ।

अग्रवालले सानेपाको इन्टरनेशनल क्लव परिसरबाट सार्वजनिक रुपमा टोबाको स्टिक्स बिक्रि गर्दै आएका छन् । जगदम्बा ओभरसिजले नेपालमा बिक्री वितरण गर्दै आएको इलेक्ट्रिक डिभाइसमा राखेर तान्ने चुरोट (टोबाको स्टिक्स) आयातमा भन्सार विभागका कर्मचारीहरूसँग सेटिङ मिलाई भन्सार विभागको आशिकुडा प्रणालीमै छेडखानी गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । एचएस कोड २४०४११०० मा आयात हुने ‘सुर्ती भएको वा पुनर्निर्मित सुर्ती’ (टोबाको स्टिक्स) वास्तविक राजस्व महशुल भन्दा कम तिरेर भित्र्याइएको पाइएको हो ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार आशिकुडा प्रणालीमा एचएस कोड र वस्तुको मूल्य प्रविष्ट गरेपछि कानुनअनुसार लाग्ने सम्पूर्ण राजस्वसहितको बिल स्वतः जारी हुन्छ । तर टोबाको स्टिक्स आयातको विवरण प्रणालीमै फेरबदल गरी वास्तविकभन्दा धेरै कम राजस्व तिरेर मालसामान छुटाइएको भेटिएको बताएका छन् ।

भन्सार विभागको वैदेशिक व्यापार तथ्यांकले पनि वास्तविकभन्दा कम मूल्यमा टोबाको स्टिक्स भित्रिएको पुष्टि गरेको छ । आर्थिक वर्ष ०८२-८३ को कात्तिक मसान्तसम्म ९६ लाख रुपैयाँ मूल्य बराबरको ६१० किलो टोबाको स्टिक्स आयात हुँदा जम्मा ६७ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको विवरण भेटिएको छ ।

आर्थिक ऐन २०८-८३ अनुसार सुर्ती भएको वा पुनर्निर्मित सुर्तीमा ४० प्रतिशत भन्सार महशुल, ४० प्रतिशत अन्तःशुल्क, १० प्रतिशत स्वास्थ्य जोखिम कर र १३ प्रतिशत भ्याट लाग्छ । चालु आर्थिक वर्षमा आयात भएको ९६ लाख रुपैयाँ मूल्यको टोबाको स्टिक्सको गणना गर्दा मात्रै भन्सार, अन्तःशुल्क, स्वास्थ्य जोखिम कर र भ्याट जोडिएपछि कुल मूल्य २ करोड ३३ लाख ८८ हजार २८८ रुपैयाँ हनु आउँछ । यसमा निर्यातकर्ताले घोषणा गरेको मूल्य घटाउँदा कम्तीमा १ करोड ३७ लाख ८८ हजार २८८ रुपैयाँ राजस्व संकलन हुनुपर्ने हो तर विभागीय तथ्यांकमा जम्मा ६७ लाख रुपैयाँ मात्र देखिएकोले ७० लाख ८८ हजार २८८ रुपैयाँ राजस्व हिनामिना भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *