विश्वभर स्तन र पाठेघर क्यान्सरको जोखिममा

शिक्षा/स्वास्थ समाचार

सरिता सिकर्मी

नेपालमा महिलामा हुने स्तन र पाठेघर मुख क्यान्सरको उच्च जोखिम रहेको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा स्तन क्यान्सर दोस्रो प्रमुख क्यान्सरको रुपमा रहेको छ,भने पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा छ ।

नेपालमा धेरै जसो ग्रामिण भेगको महिलाहरुलाई पाठेघर र स्तन क्यान्सरको उच्च जोखिमबारे जानकारी नै नभएको चिकित्सकहरुको भनाइ रहेको छ । लाज तथा संकोचका कारण अधिकांश नेपाली महिलाहरु परीक्षण गर्न मान्दैनन् । त्यति बेलासम्म उपचारको विकल्प समाप्त प्राय : भइसकेको हुन्छ । गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नर्गनाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ । आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन, पाठेघर क्यान्सर हुनेमा ३० वर्षपछि बच्चा जन्माउने महिला, बच्चा नजन्माएका महिला, स्तनपान नगराउने महिला, स्वस्थ्य खानपीनमा ध्यान नदिने आनुवांशिकका कारण महिलामा क्यान्सरको सम्भावना बढी हुन गरेकोे छ ।

४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिलाहरु प्रत्येक वर्ष स्तन जाँचका लागि म्यामोग्राफी गर्छन् भने नेपालमा एक प्रतिशतले पनि म्यामोग्राफी गरेको पाइदैन। पाठेघरको मुखको क्यान्सर ह्यूमन प्यापिलोमा भाइरस संक्रमणको कारणले संक्रमणबाट क्यान्सरमा परिणत हुन करिब दश देखि २० वर्ष लाग्दछ । त्यहि भएर महिलाले पाठेघरको मुखको क्यान्सरको परीक्षण समयमै गरेर पहिले संक्रमित भएको बेलामै उपचार गराउन आवश्यक छ र त्यसो गरेमा क्यान्सरबाट बच्न सकिन्छ । ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एच.पी.भी (१६,१८) ले गर्दा हुन्छ । नेपालमा कुल मृत्यु हुनेको संख्यामा ११ दशमलव ११ प्रतिशत महिलाहरुलाई स्तन क्यान्सर र पाठेघर क्यान्सरको कारण मृत्यु हुनेको संख्या रहेको एक अध्यायनले देखाएको छ । नेपालमा सन् २०२० मा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको थियो ।

नेपालमा क्यान्सरको गणना गर्दा महिला र पुरुष दुबैको फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्राको क्यान्सर रहेका छन् । ९० प्रतिशत भन्दा धेरै पाठेघरको मुखको क्यान्सर ह्ुमन प्यापिलामा भाइरसको कारणले गर्दा हुन्छ । तर यो सँग सानो उमेरदेखि असुरक्षित यौन जन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु र सरसफाइको कमीले हुन सक्छ । तर, स्तन क्यान्सर हुने यकिन तथ्याङ्क छैन । स्तन क्यान्सरको विकास मुख्यत : स्तनीय धमनी कोष वा लोबुलर कोषहरुमा हुन्छ । सम्भावित कारणहरुमा पारिवारिक तथा वंशाणुगत कारण, गर्भनिरोधक औषधिको प्रयोग वा महिला हर्मोन प्रतिस्थापन थेरापी, स्तनको क्षेत्रमा विकिरण (एक्स–रे) उच्च आहारीय चिल्लो पदार्थ, धुम्रपान, मद्यपान वा व्यायामको कमी आदि पर्दछन् ।

स्तन क्यान्सर भन्ने बित्तिकै महिलालाई मात्रै लाग्छ भन्ने गलत धारणा रहेको छ । पुरुषमा स्तन क्यान्सर बिरलै पाइएको छ । अमेरिकी क्यान्सर सोसाइटीले सन् २,००० मा एक हजार सात सय २० पुरुषमा स्तन क्यान्सर पत्ता लागेको थियो । पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुनाले अन्तिम अवस्थामा यस रोगको परीक्षण गर्छन् । त्यसकारण मृत्युदर उच्च हुन्छ । ६० देखि ७० वर्षका पुरुषमा स्तन क्यान्सरको जोखिम उच्च समूहमा पर्ने गर्दछन् । कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दो जुल्दो हुन्छ । अन्य क्यान्सर जस्तै स्तन क्यान्सर पनि नेपाली महिलाहरुलाई चुनौतीको विषय बनेको छ । नेपाल क्यान्सर सोसाइटीका अनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुने गर्दछ ।

गुलोबोक्यान सन् २०२० को तथ्याङ्क अनुसार नेपालको सन्दर्भमा ९ दशमलव ६ प्रतिशत स्तन क्यान्सर दुबै महिला र पुरुषमा तेस्रो प्रमुख क्यान्सरको रुपमा रहेको देखिएको छ । त्यसैगरी सात दशमलव सात प्रतिशत व्यक्तिमा मृत्यु भएको पाइएको छ । काठमाडौं महानगरले २०८२ वैशाख १२ सम्म सञ्चालन गरेको शिविरबाट ६ सय १३ जना महिलाले प्रारम्भिक उपचार गर्दा ४८ जनामा एचपिभी डीएनए पोजेटिभ देखिएको छ ।

यसैगरी परीक्षण गराएकामध्ये एक सय ४४ जनाको मेमोग्राम गरिएको छ । वंशाणुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नु पर्ने देखिएका महिलाको स्तनको मेमोग्राम गरिएको हो । परीक्षण गराएकामध्ये २२ जना स्त्री तथा प्रसुतिसँग सम्बन्धित समस्या देखिएको छ ।

काठमाडौं महानगरले वीर अस्पतालसँगको सहकार्यमा पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्न स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
त्यस्तै १७ दशमलव एक प्रतिशत स्तन क्यान्सर महिलाहरुमा दोस्रो प्रमुख क्यान्सरको रुपमा रहेको देखिएको छ । विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पर्छ । विश्वमा सबैभन्दा बढी मृत्यु गराउने रोग मध्ये क्यान्सर एक हो । विश्वको तथ्याङ्क अनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरकै कारण हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक वर्षमा विश्वमा दुई करोड क्यान्सरका नयाँ बिरामी थपिने गर्छन् । सोही अवधिमा ९७ लाख ३६ हजार पाँच सय २० जनाको मृत्यु हुन्छ । क्यान्सर लाग्यो भने मृत्यु हुन्छ भन्ने आम बुझाँइलाई परिवर्तन गरेर क्यान्सर लाग्न नदिन परीक्षण र लागि हाल उपचार गरे बच्न सकिन्छ भन्ने चेतना फैलाउन जरुरी रहेको छ । स्तन क्यान्सर र पाठेघरको मुख क्यान्सर वंशाणुगत रोगले पनि हुन सक्छ यदि कसैको आमा, दिदी वा प्रत्यक्ष सम्बन्धित कसैलाई रोग लागेको छ भने क्लिनिकल अध्ययनहरु अनुसार लगभग पाँचदेखि दश प्रतिशत क्यान्सर आनुवंशिक परिवर्तनहरुसँग सम्बन्धित हुन्छ ।

(क) स्तन क्यान्सरको चिन्ह :
स्तनमा गिर्खा पर्नु ।
स्तनको बनावट वा आकारमा परिवर्तन हुनु ।
स्तन वा स्तनको टुप्पाका छालामा परिवर्तन (उदाहरण : रातो, खस्रो, मोटो वा सुन्तला रङ्गको छालामा परिणतहुनु) ।
स्तनको टुप्पो चारैतिर खटिरा हुने ।
स्तन वा काखीमा नयाँ र लगातार असुविधा वा दुखाईं ।
काखीमा नयाँ डल्ला वा मोटाई ।

(ख) पाठेघर मुख क्यान्सरको चिन्ह :
क्यान्सरको अन्तिम अवस्थामा मात्र तल्लो पेट दुख्ने ।
अनियमित रुपमा रगत बग्ने ।
यौन सम्पर्कपछि रगत देखिने ।
महिनावारी सुकिसकेका महिलाहरुमा पनि रगत देखिने ।
बिना कारण ढाड, कम्मर तथा तल्लो पेट दुख्नु र खुट्टा सुन्निने ।
बिना कारण वजन घट्ने ।
कमजोरी हुने, रक्त अल्पता जस्ता लक्षणहरु देखिन्छन् भने क्यान्सर फैलिएको अवस्थामा दिसा, पिसाव गर्दा अप्ठ्यारो हुने गर्दछन् ।
(ग) स्तन क्यान्सरको रोकथाम :
नियमित व्यायाम गर्ने ।
धेरै मात्रामा तरकारी र फलफूलहरुको सेवन गर्ने र उच्च बोसो भएका खानाहरुबाट टाढा रहने ।
मदिरा सेवन वा धुम्रपान नगर्ने ।
बेला बखत सुझाबको लागि आफ्नो डाक्टरसँग परामर्श लिनुपर्छ ।
सूर्यको तेजिलो किरणको प्रभावबाट बच्ने ।
नूनको अत्याधिक सेवन नगर्ने ।
रातो मासुको धेरै सेवन नगर्ने ।
गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने । महिलाहरु जागरुक हुनुको साथै नियमित रुपमा स्तन क्यान्सरको जाँच गराई राख्नुपर्छ ।

(घ) पाठेघर मुख क्यान्सरको रोकथाम :
असुरक्षित यौन सम्पर्क नगर्ने ।
एच.पि.भी खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै यो खोप लगा मात्र बढी प्रभाबकारी हुने कुरा हाल सम्मको अध्ययनले देखाएको छ ।
तौल घटाउने ।
सन्तुलित आहारको सेवन गर्ने ।
तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने ।

(ङ) स्तन क्यान्सर हुने उच्च जोखिमहरु :
सामान्यतया, स्तन क्यान्सरको उच्च जोखिम उमेरको बृद्धिसँगै बढेर जान्छ ।
बाह्र वर्षभन्दा पहिले राजस्वला हुने किशोरी वा ५५ वर्षपछि राजस्वला रोकिने महिलामा उच्च जोखिम हुन्छ ।
दीर्घकालसम्म उच्च बोसो हुने जनावरको आहार ग्रहण गरेको ।
धुम्रपान गर्ने, मदिरा सेवन र व्यायामको कमिले जोखिम बढाउँछ ।
बच्चा नभएका महिला वा ५५ वर्षपछि बच्चा हुने महिला ।
गर्भनिरोधक औषधिको दीर्घकालीन प्रयोग वा पाँच वर्षभन्दा बढिसम्म हर्मोनको प्रतिस्थापन ।

(च) पाठेघर मुख क्यान्सर हुने उच्च जोखिम :
सानो उमेरमा विवाह भएका महिलाहरु ।
सानो उमेरमा यौन सम्पर्क राख्ने महिलाहरु ।
बढी सन्तान जन्माएका महिलाहरु ।
खानपानमा ध्यान नदिने तथा कुपोषण भएका महिलाहरु ।
ह्युमन प्यापिलोमा भाइरसको संक्रमण भएका महिलाहरु ।
पाठेघर अथवा यौन सम्बन्धी बारम्बार संक्रमण भइरहने महिलाहरु ।
लामो समयसम्म हर्मोन तथा चक्की लिने महिलाहरु ।

निष्कर्ष : हामीलाई के लाग्छ भने हाम्रो शरीरमा कुनै दुखाईं छैन भने हामी निरोगी नै छौं भन्ने धारणाले हामीलाई धेरै धरापमा पारेको छ । रोगको अन्तिम अवस्था भई सकेपछि मात्रै रोग थाहा हुने भएकोले बेला–बेलामा आफ्नो स्वास्थ्य परिक्षण जाँच गर्नुको साथै आफ्नो जिवन पद्धतिलाई स्वास्थ्य उन्मुख शैलीमा सकभर लैजान सक्नुपर्छ ।

स्रोत : विभिन्न पुस्तक, पत्रपत्रिका र अनलाइनको माध्यमबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *