प्रधानमन्त्री ओलीसँग भारत सधैं नकारात्मक किन ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
कांग्रेस–एमाले गठबन्धन सरकारमा खटपट सुरु भएपछि कम्युनिस्ट पार्टीहरुमा वाम एकताको चर्चा सुरु भएको छ । एमालेले कांग्रेससँग सहकार्य गरेर सरकारको नेतृत्व गरेपछि तितरवितर भएका वामपन्थी दलहरु फेरि एक ठाउँमा उभिनुपर्ने संकेत गर्न थालेका छन् । एमालेबाट फुटेर गएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले विचार मिल्नेसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिन थालेका छन् ।

एमालेले पनि कम्युनिस्ट एकताको नाममा आफूसँगै विच्किएर गएको एकीकृत समाजवादी पार्टी र अशोक राईको पार्टीलाई मिलाएर आफूलाई ठूलो दलको हैसियतमा उभ्याउन खोजिरहेको देखिन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेझैं एमाले अध्यक्ष केपी ओलीको मुखसमेत हेर्न नरुचाउने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पार्टी उभो नलाग्ने देखेपछि विचार मिल्नेसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिँदै नरम हुन थालेका छन् ।

अर्कोतिर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा सक्रिय हुने चर्चा चलेसँगै कम्युनिस्ट एकताले नयाँ मोड लिएको देखिन्छ । त्यसको उदाहरण लिन सकिन्छ पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणलाई । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० चीन भ्रमणमा जाने भएकी छिन् । भण्डारीको सो चीन भ्रमणमा मानसरोवर यात्रा र उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजनीतिक भेटघाटको क्रममा नेपालका कम्युनिस्ट पार्टीहरुको एकतादेखि समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

एकातिर पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जानु अर्कोतिर वर्षदिन हाराहारी हुँदासम्म छिमेकी मुलुक भारतले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणमा नबोलाउनुले ओली र मोदीबीचको सम्बन्ध बिग्रनु हो । प्रधानमन्त्री ओलीसँग भारतका प्रधानमन्त्री मोदीको सम्बन्ध बिग्रनु अर्को कारण हो ओली तत्कालीन प्रधानमन्त्री हुँदा लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्नु पनि हो ।

सो चुच्चे नक्सा सार्वजनिक भएपछि ओलीप्रति भारत रुष्ट भएको थियो । सोही ‘इगो’ भारतले अहिलेसम्म साँधिरहेको छ । सोही ‘इगो’का कारण यस पटक ओली प्रधानमन्त्री भएको वर्षदिन पुग्न लाग्दा पनि भारतले भ्रमणमा बोलाएको छैन । तत्कालीन अवस्थामा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय जगतमा भारतको बेइजत भएको अनुमान गरिएको छ । त्यसले गर्दा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच टसल बनेको हुनुपर्छ । सो चुच्चे नक्सा सार्वजनिक गरिए तापनि सो चुच्चे नक्सा कार्यान्वयनमा आएको पाइदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *