आयुक्तहरु निकम्मा बन्दा भ्रष्टाचारी मालामाल

राजनीति समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार, बेरुजु र अनियमितता भएको उजुरी परे तापनि त्यसको छानविन हुन सकेको छैन । अख्तियारले ठूला–ठूला भ्रष्टाचारका मुद्दालाई विचाराधिनमा राख्दै सानातिना मुद्दाहरुलाई प्राथमिकता दिन थालेको छ ।

कार्की नेतृत्वको सरकारले देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन र शान्तिसुरक्षा कायम गर्ने भनेको थियो । त्यसको उल्टो झन् भ्रष्टाचार बढ्दै गएको छ । यो सरकारले ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्न सकेको छैन । अध्यादेश ल्याएर संवैधानिक आयोगमा कर्मचारी नियुक्ति गर्न पनि सकेको छैन । पुरानै आयुक्तहरुले भ्रष्टाचारको फाइलहरु खोलेर कारबाही गर्ने हिम्मत पनि राख्न सकेका छैनन् । खाली जागिर बँचाउने उपायभन्दा अरु काम अख्तियारले गर्न सकेको छैन । उता, सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाएर बेहाल बनाएको थियो भने ती ठाउँमा नयाँ राजदूत नियुक्ति पनि गर्न सकेको छैन ।

किन कि तत्कालीन सरकारले अख्तियार प्रमुख र आयुक्त नियुक्ति गर्दा दलहरुको भागबन्डामा हुने गरेको थियो । तत्कालीन अवस्थामा दलका नेताहरुको भागबन्डाबाट नियुक्ति भएका आयुक्तहरुले उनीहरुविरुद्ध अख्तियारमा परेको मुद्दामा कारबाही गर्न सक्दैनन् । त्योसँगै ठूला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा भएको भ्रष्टाचारको फाइल खोलेर कारबाही गर्न पनि सकेका छैनन् । बरु उनीहरुलाई जोगाउने काम हुँदै आएको छ । भैरहवा विमानस्थल, पोखरो विमानस्थल, नलिनचोक हेलिप्याड काण्ड र पोखरास्थित सभिलेन्स टावरको मुद्दा अख्तियारमा विगत लामो समयदेखि विचाराधिन अवस्थामा रहेका छन् । यी त एउटा उदाहरण मात्रै हुन् । अख्तियारमा यस्ता ठूला–ठूला भ्रष्टाचारका मुद्दा धेरै ओझेल मा परिरहेका छन् ।

अर्कोतर्फ राष्ट्रिय गौरवका आयोजनाहरुमा भौतिक, सहरी, सिंचाईं, जलस्रोतजस्ता विकासे अड्डाहरुको मुद्दामा पनि अख्तियारमा विचाराधिन अवस्थामा रहेको बताइन्छ । अख्तियारका कर्मचारीले यस्ता विषयमा ध्यान नदिएर नासु र खरिदारले गरेका साना भ्रष्टाचारको मुद्दामा अल्झिने काम गरिरहेका छन् । त्यसैगरी स्थानीय तहमा भएका भ्रष्टाचारका उजुरीका फाइल पनि अख्तियारमा चाङ लागेको छ ।

कतिपय नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरु पक्राउ पर्दा पनि उनीहरुको मुद्दा समयमा फस्र्यौट हुन सकेको छैन । त्यस्ता पात्रहरुले अख्तियारका कर्मचारी र न्यायाधीश मिलाउनको लागि छुट्टै फण्ड खडा गर्ने गरेका छन् । त्यो फण्डमा जम्मा भएको पैसाले भ्रष्टाचारको मुद्दामा फसेकाहरुलाई बचाउने काम गर्दै आएका छन् । यस्ता विषयमा प्रधानमन्त्री कार्कीले ध्यान दिएकी छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *