काठमाडौं । दल र जुनसुकै वादीले सरकार सञ्चालन गरे तापनि उद्योगधन्दाहरु चलायमान हुन सकेका छैनन् । व्यापारीहरु पनि आफ्नो पेसाको सुरक्षा नभएको भन्दै सरकारलाई ज्ञापनपत्र बुझाउने, सुरक्षाको माग गर्ने र उद्योग धन्दामा क्षति पुगेको खण्डमा सरकारले क्षतिपूर्ति दिनुपर्ने माग राख्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउने गरेका छन् । नेपालमा उद्योगधन्दा सञ्चालन नहुँदा अधिकांश नेपालीहरु विश्वका मुलुकहरुमा रोजीरोटीको लागि जाने गरेका छन् ।
रोजीरोटीको लागि जाने नेपालीहरु प्रायःजसो रुकुम, रोल्पा, जाजरकोट, बझाङ, बाजुरा, मुगु, हुम्ला, जुम्ला, डोल्पा, अछाम, दार्चुलाजस्ता विकट पहाडी र हिमाली जिल्लाबाट विदेशिने क्रम जारी छ । त्यो पनि विचौलियाहरुलाई प्रयोग गरेर । विचौलियाहरुले पनि राम्रो तलब, खाने बस्ने सुविधा भएको प्रलोभन देखाएर ५० औं लाख रुपैयाँसम्म असुल्दै आएका छन् । त्यसरी विदेश पठाउँदा विचौलियाहरुले कसैलाई अमेरिका, कसैलाई, रोमानिया, इराक, टर्की, जर्मन, हंगेरीजस्ता मुलुकहरुमा पठाउने गरेका छन् ।
विचौलियाहरुले भारतको बाटोहुँदै मलेसियाबाट इराक, टर्की, रोमानिया, हंगेरी, क्रोसिया, माल्टाजस्ता युरोपियन देशहरुमा पठाउने गरेका छन् । उता, अमेरिकाको लागि तल्लो बाटो हुँदै ब्राजिल पु¥याउने र त्यहाँबाट अमेरिका छिराउने गरेका छन् । अमेरिका जाने नेपालीहरु प्रायःजसो रोल्पाका बढी छन् भने अन्य युरोपियन देशमा जानेहरु प्रायःजसो रुकम, जागरकोट, सल्यान, हुल्ला, जुम्ला, कालीकोट, बझाङ, बाजुरालगायतका जिल्लाबाट बढी जाने गरेका छन् । त्यसरी विदेश जाने नेपालीहरु कोही विरामी भएर बाटोमै मृत्युवरण गर्न वाध्य भएका छन् भने कतिपय सम्बन्धित देशमा पुग्दा पनि काम नभएर अलपत्र पर्ने गरेका छन् । त्यसरी विदेश जाने नेपालीहरु आफूले बोकेको चाउ, पानी र वनमा पाइने विभिन्न कन्दमल खाने र घनाघोर जंगलमै बास बस्ने गर्दछन् । यसरी विदेशिने नेपालीहरुलाई कुनै पनि देशले संरक्षण गरेको पाइँदैन ।
अझ त्यसरी अमेरिका पुग्ने नेपालीहरुलाई अमेरिकाले फर्काउने गरेका थुप्रै उदाहरण छन् । अन्य देशका सरकारले त्यहाँ अलपत्र परेका नेपालीहरुलाई न त संरक्षण नै गर्न सकेको छ, न त नेपाल नै फकाउँन सकेको छ । मानव तस्करी नेपालमा मात्रै नभएर अन्य देशहरुले पनि गरिरहेका छन् । यसरी मानव तस्करी गर्नेहरुलाई नेपाललगायत कुनै पनि देशले कारबाही गर्न सकेको छैन ।
ठगिने व्यक्ति ठगिइरहेका छन्, मानव तस्करी गर्नेहरु गरिरहेका छन् । अझ भन्नुपर्दा कतार, दुबई, साउदी, मलेसिया, बराइन, अफगानिस्तानका एजेन्टहरुले नेपालका म्यानपावर एजेन्सँग ठूलो मात्रामा बार्गेनिङ गर्ने र अग्रिम भुक्तानी माग्ने गरेका छन् । यता नेपालका म्यानपावर कम्पनी सञ्चालकहरुले पनि ती देशका विचौलियाहरुलाई भगवान सरह मान्दै नेपाल आउन आग्रह गर्ने र उनीहरु नेपाल आएपछि विभिन्न ठाउँमा घुमाउने, बेलुका महंगा होटेलमा उनीहरुले चाहेअनुसारको सुरासन्दरीको व्यवस्थासमेत गर्ने गर्दछन् । जुन म्यानपावर कम्पनीले उनीहरुको राम्रो व्यवस्थापन गर्न सक्छ सोही कम्पनीलाई बढी कामदार पठाउने डिमाण्ड लेटर पठाउने गर्दछन् ।
उनीहरुले विदेशबाट डिमाण्ड लेटर पठाएअनुसार नेपालका म्यानपावर कम्पनीहरुले महंगो शुल्क लिई महिलाहरुलाई कुवेत, बहराइ र इजराइलमा घरायसी कामको रुपमा पठाउने गरेका छन् भने पुरुषहरुलाई प्रायःजसो दुबई, कतार, मलेसिया र साउदीजस्ता देशमा राम्रो काम र सेवासुविधाको प्रलोभन देखाएर पठाउने गरेका छन् । त्यस्तै कतिपयलाई विभिन्न युरोपियन मुलुकहरुमा पठाउने गर्दछन् ।
उता, नेपालका म्यानपावर कम्पनीले भनेअनुसारको काम नपाएर नेपालीहरु अलपत्र परिरहँदा पनि न त त्यो देशका एजेन्टहरुले डिमान्ड लेटर अनुसारको काम लगाउँछन् न त सुरक्षित ढंगले नेपाल नै पठाउँछन् । आफ्नै खर्च जुटाएर नेपाल आएकाहरुले पनि वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीबाट क्षतिपूर्ति पाउने गरेका छैनन् ।
पीडितहरुले क्षतिपूर्तिको माग गर्दै वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्दा पनि विभागले कतिपय एजेन्टहरु फेला पार्न नसकेको र फेलापारिहाले तापनि पीडितको दावी अनुसार क्षतिपूर्ति दिलाउन नसक्ने गरेका थुप्रै उदाहरणहरु छन् । त्यस्ता पीडितहरुका मुद्दाहरु वैदेशिक रोजगार विभागमा ३६ हजारभन्दा माथि अलपत्र अवस्थामा रहेका छन् । यता पीडितहरु भने घर न घाटको भएर भौतारिइरहका छन् । त्यसले गर्दा राज्यको तर्फबाट मानव तस्करी गर्नेहरुलाई कारबाही भन्दा कमिसनको लोभमा संरक्षण बढी हुने गरेको पाइन्छ ।

