भूमि तथा अभिलेख विभागमा रेग्मी र काफ्लेको हालीमुहाली

राजनीति समाचार

काठमाडांैं । भूमि सहकारी तथा गरिवी निवारण मन्त्रालय अनिल कुमार सिन्हाले सम्हालिरहँदा सो मन्त्रालयका कर्मचारी र भूमि तथा अभिलेख विभागका कर्मचारीबीच समन्वय हुन सकेको छैन । मन्त्रालयको गतिविधि छुट्टै छ भने अभिलेख विभागका कर्मचारीहरुले मनपरितन्त्र चलाइरहेका छन् । मालपोतका कर्मचारी सरुवामा पनि मनपरितन्त्र चलिरहेको छ । उता सचिव मदन भुजेल र महानिर्देशक शिव रेग्मीबीच पनि समन्वयकारी भूमिका हुन सकेको छैन ।

त्यसले गर्दा विभागमा कर्मचारी सरुवामा मनपरितन्त्र भइराखेको छ । कतिपय जिल्लामा मालपोत प्रमुखहरु खटाउन सकेको छैन । सचिव जेनजी सरकारले नियुक्ति गरेको परे भने महानिर्देशक तत्कालीन एमाले–कांग्रेस सरकारको पालामा नियुक्ति भएका थिए । त्यसले गर्दा भूमि मन्त्रालयमा काम हुन सकेको छैन ।

उता, विभागका महानिर्देशक शिव रेग्मीले आफूखुसी निर्णय गर्न थालेका छन् । मन्त्री सिन्हाले भूमि तथा अभिलेख विभागप्रति कुनै चासो देखाएका छैनन् । मन्त्रीले चासो नदेखाएपछि विभागका कर्मचारी सरुवामा विष्णु काफ्लेको हालीमुहाली चलिरहेको छ । काफ्लेमाथि कर्मचारी प्रशासन फाँटमा बसेर कर्मचारी सरुवामा उठ्ती धन्दा चलाएको आरोप लाग्न थालेको छ ।

पैसा खर्च गर्न सक्ने कर्मचारीलाई छानीछानी महत्वपूर्ण मालदार अड्डा काज सरुवा गरिँदै छ । उनीहरुलाई काज सरुवा गरिए तापनि रमानापत्र दिन ढिलासुस्ती भइरहेको छ । यता दाम दिन नसक्ने कर्मचारीलाई काम नलाग्ने अड्डातिर धकेल्ने काम भइरहेको छ । काठमाडौं उपत्यकादेखि देशैभरिका महोत्वपूर्ण मालपोत कार्यालयका कर्मचारीहरु अन्यत्र सरुवा गर्न मन्त्रालयले खेलोफड्को गरिरहेको छ ।

सो खेलोफड्कोमा कुन कर्मचारी कहाँ पुग्छन् त्यसको एकिन भइसकेको छैन । कर्मचारी सरुवा गर्नको लागि विचौलिया प्रमोद खड्का लागि परेका छन् । मन्त्री र विचौलिया खड्को समन्वय नहुँदा कर्मचारी सरुवामा ढिलासुस्ती भएको बताइन्छ । त्यसैगरी घुस दिन सक्ने कर्मचारीलाई छानीछानी मालदार अड्डामा सरुवा गर्ने र घुस दिन नसक्ने कर्मचारीलाई आम्दानी नहुने कार्यालयमा पठाउने तयारी हुँदैछ ।

उता, मन्त्रालयका केही सह–सचिवहरु भूमि तथा अभिलेख विभागको महानिर्देशक बन्न दौडधुप गरिरहेका छन । तर, मन्त्री सिन्हा र विचौलिया खड्काले कुन सह–सहसचिवलाई महानिर्देशक बनाउने हुन् त्यो निश्चित छैन । अघिल्लो सरकारले नियुक्ति गरेका महानिर्देशक शिव रेग्मीलाई कायम राख्छन् कि अन्य सह–सचिवहरुबाट महानिर्देशक बनाउनँछन् त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *