बेलायती राजकुमार एडवार्ड दम्पती नेपाल भ्रमणमा

देश/विदेश समाचार

काठमाडौं । बेलायती राजकुमार दम्पती अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयको स्रोतले बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया ६ दिनसम्म नेपाल भ्रमणमा रहेकोले उनीहरु भारतहुँदै मंगलबार नेपाल आउने जानकारी दिएको हो ।  राजकुमार दम्पतीले आज साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने तालिका समेत रहेको छ । उनीहरुले माघ २३ गते नेपालको पर्यटकीय क्षेत्र ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखराको ब्रिटिश गोर्खा क्याम्पमा समेत पुग्ने भएका छन् । भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका रहेको गृह स्रोतले जानकारी दिएको छ ।

बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले गोर्खा क्याम्पमा हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी भै नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रुपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइने उल्लेख गरिएको छ । नेपाल भ्रमण सकाएर बेलायती राजकुमार दम्पती यही माघ २७ गते साँझ स्वदेश फिर्ता हुने भएका छन् । यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई मनाउनुका साथै युवा अवसर, स्वास्थ्य सेवा, महिला र केटीहरूको लागि समानता, संरक्षण र जैविक विविधता लगायतका साझा चासोहरूलाई सुदृढ गर्ने बेलायती समाचार माध्यमहरुले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *