‘स्वाभिमान सानो ठूलो हुँदैन’: अध्यक्ष ओली

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेले मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा ११ औं महाधिवेशनको उद्घाटन भव्य रुपमा सम्पन्न गरेको थियो । एमालेको सो उद्घाटन समारोहमा लाखौंको जनसागर उर्लिएको थियो । उद्घाटन समारोहको मञ्च भक्तपुरको धर्म, संस्कार, संस्कृति, इतिहास र पहिचान झल्किने कलाले सुसोभित थियो । त्योसँगै विभिन्न एक सय ४० जातजाति, वर्ण, क्षेत्र, समुदायको भेषभुषा पहिरिएका कलाकारहरुले हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्मका संस्कृतिको झल्को दिएका थिए ।

उद्घाटन समाहरोलाई सम्बाधेन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको हितमा काम गर्दा प्रमुख दलहरूमाथि आक्रमण भएको बताएका छन् । उनले जहानियाँ शासनदेखि निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्रहुँदै गणतान्त्रिक व्यवस्था स्थापना गर्ने दलहरूमाथि विभिन्न नाममा आक्रमण भइरहेको बताएका थिए । ओलीले गत भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनका माग स्वाभाविक भएपनि भदौ २४ गते त्योसको गलत प्रयोग गरी नेपालको स्वाधीनता र सार्वभौमसत्ता कमजोर बनाउने खेल भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले नेपालका प्रमुख दलसहित एमालेमाथि अन्तर्राष्ट्रिय रूपमा पनि आक्रमण भइरहेको खुलासा गरे । विश्वकै हित चाहनेमाथिको आक्रमण स्वभाविक नभएको उनको जिकिर थियो । ओलीले भने, “स्वाभिमान सानो ठूलो हुँदैन । तर, कतिलाई लाग्छ, सानो देश भएर पनि हामीसँग बराबरी हैसियत खोज्ने ? अनि प्रहार हुन्छ । त्यस्ता प्रहारहरू सहँदै देशलाई हामी अघि बढाउँछौँ,” ओलीले थप भने, “हामीलाई अनिर्वाचितहरूले गर्ने शासन स्वीकार्य छैन । हामी सर्वभौम अधिकार हाम्रो हो भन्छौँ, संविधान बनाउने अधिकार हाम्रो हो भन्छौँ, हाम्रो स्वतन्त्रताको उपयोग, सदुपयोग हामी गर्छौं भन्छौँ कतिलाई मन पर्दैन अनि हामी माथि आक्रमण हुन्छ । त्यसले गर्दा एमाले मात्र होइन, परिवर्तनकारी दलहरुमाथि पटक–पटक आक्रमण हुँदै आएको छन् । यसपटकको आक्रमण पनि त्यसकै उदाहरण हो ।”

एमालेको ११ महाधिवेशन सफलताको शुभकामना दिन १६ नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । त्यसमा नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, माओवादीका महासचिव नेत्र विक्री चन्दलगाएतको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्यका क्रममा नेपाली कांग्रेसका कार्यबहाक सभापति पूर्डाबहादुर खड्काले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व.पुष्पलाल श्रेष्ठ, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी र जननेता मदन भण्डारीले नेपालमा बहुलीय व्यवस्था स्थापना गर्नको लागि ठूलो योगदान गरेको स्मरण गरेका थिए । त्यसैगरी नेपाली कम्यूनिष्ट पाटीका नेता देव गुरुङले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान गम्भीर खतरामा परेकाले सम्पूर्ण वामपन्थी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे । त्योसँगै उनले आफूले वापन्थी शक्तिहरुलाई एकजुट बनाउनको लागि नै नेपाली कम्युनिस्ट पार्टीको स्थापना गरेको पनि प्रप्ट पारे ।

उता, वैचारिक आन्दोलन गरिरहेका माओवादीका महासचिव नेत्रविक्रम चन्दले नेपालको संविधान र गणतन्त्रान्तिक व्यवस्था गम्भीर संकटमा पार्नुका साथै राष्ट्रियता नै खतरामा परेकाले कम्युनिस्ट शक्तिहरु एक भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । चन्दले नेपालको राष्ट्रियतामाथि चारैतिरबाट खतरा भइरहेको बेलामा नेकपा एमालेले राष्ट्रियताको पक्षमा आवाज उठाउँदा एमालेमाथि बढी आक्रमण भएको बताए । आगामी दिनमा पनि राष्ट्र र राष्ट्रियताको पक्षमा एमाले नै अगाडि बढ्नेमा आफू विश्वस्त भएको बताउँदै राष्ट्रियताको विषयमा आफूपनि एमालेलाई साथ दिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी एमालेको ११ औं महाधिवेशन सफलताको लागि छिमेकी मुलुक भारत, चीनसँगै बंगलादेश, श्रीलंका, पाकिस्तानलगायत थुप्रै कम्यनिस्ट मित्र राष्ट्रहरुले शुभकामना सन्देश पठाएको कार्यक्रम सञ्चालक प्रदीप ज्ञवालीले मञ्चबाट जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *