जथाभावी कर्मचारी सरुवा गर्दा चुनावी वातावरण खलबलिँदै

राजनीति समाचार

काठमाडौं । जेनजी आन्दोलबाट बनेको शुशिला कार्की नेतृत्वको सरकारले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन गर्ने भनिरहँदा कर्मचारीहरु जथाभावी सरुवा गरेर असन्तुष्टि छाएको छ । फागुन २१ गतेभित्र जसरी निर्वाचन गर्नुपर्ने म्यान्डेट पाएको सरकारले सुरुका दिनदेखि कर्मचारी सरुवा, बढवामा खेल्दा कर्मचारीहरु रुष्ट बन्न पुगेका हुन् । गृहमन्त्रालयले तत्कालीन सरकारले सरुवा गरेका सिडिओहरुलाई फिर्ता बोलाएर नयाँ सिडिओहरु सरुवा गरेको थियो । सरुवा गरेको तीन महिना नपुग्दै फेरि गृहमन्त्रालयले ती सिडिओहरु सरुवा गरेर ‘गाईजात्रा’ देखाएको छ । गृहमन्त्रालयले गत हप्ता १२ सह–सचिवलाई सिडिओ बनाएर विभिन्न जिल्लामा खटाएको छ । त्यहाँ कार्यरत सिडिओहरुलाई गृहमन्त्रालयमा तानेर नयाँ सिडिओ खटाएको हो ।

त्यसैगरी सरकारले १३ जना उप–सचिवलाई सह–सचिवमा बढुवाको लागि सिफारिस गरेको छ । अर्कोतिर गत शुक्रबार ३० जना उप–सचिवलाई स्थानीय तहदेखि विभिन्न निकायमा सरुवा गरेको छ भने स्थानीय तहका कार्यकारी अधिकृतहरुलाई अन्यत्र सरुवा गरेको छ । हाल स्थानीय तहमा कार्यरत प्रमुख कार्यकारी अधिकृतलाई अन्यत्र सरुवा गरी ती ठाउँमा उप–सचिवलाई पठाएको छ । त्यसले गर्दा कर्मचारीतन्त्रभित्र व्यापक असन्तुष्टि छाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले कर्मचारीतन्त्रलाई व्यवस्थापन गर्नुपर्नेमा त्यो नगरी जथाभावी सरुवा गरेर असुली धन्दा चलाएको कर्मचारी स्रोतले उल्लेख गरेको छ ।

मन्त्रीहरुले पनि आ–आफ्ना फेबरका कर्मचारी रोज्दै र खोज्दै विभिन्न मन्त्रालयअन्तर्गतका कार्यालयमा सरुवा गर्ने परम्पराको थालनी गरेका छन् । त्यसको उदाहरण लिन सकिन्छ नवनियुक्त श्रममन्त्री राजेन्द्रसिंह भण्डारीलाई । भण्डारीले वैदेशिक रोजगार विभागमा आफू पद बहालीभएको हप्तादिन नपुग्दै तत्कालीन सरकारले नियुक्त गरेको कमल भट्टराईलाई हटाएर मिरा आचार्यलाई महानिर्देशक बनाएर पठाएका छन् । त्यसैगरी अर्थमन्त्री रामेश्वर खनालले संघीय मन्त्रालय मन्त्रालयका कर्मचारीलाई जथाभावी सरुवा गरेका छन् । अर्कोतिर राजश्व अनुसन्धान विभागका कर्मचारीलाई अन्यत्र सरुवा गरी राजश्वमा नयाँ कर्मचारी पठाएका थिए । त्यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले पनि स्वास्थ्यमन्त्रालय अन्तर्गतका विभिन्न निकायका कर्मचारीहरुलाई सरुवा गरेर तमासा देखाएकी छिन् ।

अर्कोतर्फ ऊर्जा, जलस्रोत एवं भौति, पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले ऊर्जा र सहरीका कर्मचारीहरुलाई अन्यत्र सरुवा गरेका थिए । प्रायःजसो इन्जिनियरहरु बढी सरुवामा परेका छन् । सरुवामा परेका इन्जिनियरहरुलाई कसैलाई लाखा त कसैलाई पाखा लगाउने काम गरिएको छ । त्यसले गर्दा चुनावी म्यान्डेट लिएर बनेको शुशिला कार्की नेतृत्वको सरकारले चुनावी वातावरण बनाउने भन्दा जथाभावी कर्मचारी सरुवा गरेर झन् वातावरण खलबल्याउने काम भइरहेको कर्मचारीहरुले बताउने गरेका छन् । यसले गर्दा सरकार नै चुनाव भाड्ने काममा उद्दत भएको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *