निजामती कर्मचारी संगठनमा मनमुटाव

राजनीति समाचार

काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनभित्र नेताबीच बाहिरी रुपमा एकता देखिए तापनि भित्र रुपमा एक÷अर्काप्रति अविश्वास गर्न थालेका छन् । संगठनकै कतिपय नेताहरुले अध्यक्ष भवानी दाहाल न्यौपानेविरुद्ध खनिन पनि थालेका छन् । अध्यक्ष दाहाल न्यौपानेले संगठनलाई चुस्तदुस्त बनाउन नसकेको गुनासोहरु पनि गर्न थालेका छन् ।

संगठनकै केही पदाधिकारीहरुले नेकपा एमालेको पेशागत संगठनको उपाध्यक्षमा पठाएर अध्यक्षमा अन्य कसैलाई नियुक्ति गरे तापनि केही फरक नपर्ने बताउन थालेका छन् । पेशागत महासंघका उपाध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका नेता भोलानाथ पोखरेलले कर्मचारीबाट राजीनामा दिएर नेकपा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनैको ठाउँमा अध्यक्ष दाहाललाई उपाध्यक्ष बनाएर लानुपर्ने कर्मचारीहरुले बताउन थालेका छन् । यता अध्यक्ष दाहाल भने कर्मचारीको हकहित र वृत्तिविकासको लागि सातवटै प्रदेश स्तरीय भेला र गोष्ठीमा सहभागी भएको र कर्मचारीभित्रको समस्या बुझेको बताउँदै हिँडेकी छिन् ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उप–सचिव र कोषाध्यक्षहरु संगठनमा खटे तापनि संगठनलाई चलायमान बनाउन नसकेको आरोप कर्मचारीहरुले लगाउन थालेका छन् । जेनजी आन्दोलनपछि कर्मचारीहरु छिन्नभिन्न भएको, संगठनले व्यवस्थापन गर्न नसकेको भनाइ कर्मचारीहरुको छ । तर, संगठनले समयानुकुल विभिन्न कार्यक्रम र भेलाहरु आयोजना गर्दै गएको छ ।

गत पुस १९ र २० केन्द्रीय कमिटिको बैठक बसेर त्यसको निष्कर्ष, कार्ययोजना र कर्मचारी मागलाई सम्बोधन गर्नको लागि पुस २२ गते पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो । तर, जेनजी सरकार बनेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी सरुवामा विकृति, विसंगति बढेको, त्यसलाई संगठनले बचाउ नगरेको, विचौलिया हावी भएको जस्ता आरोप कर्मचारीहरुको छ । प्रतिनिधि सभाको निर्वाचन नजिँकिएसँगै कर्मचारी संगठनका नेताहरुले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नको लागि विभिन्न कार्ययोजनाहरु ल्याउने तयारी गरिराखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *