राजनीतिक पार्टीभित्र टिकट वितरणमा झन् सकस

राजनीति समाचार

राजनीतिक दलहरुभित्र फागुन २१ को प्रतिनिधि सभा निर्वानको टिकट वितरणमा व्यापक असन्तुष्टि देखिएको छ । टिकट वितरणकै कारण नेपाली कम्युस्टि पार्टी र नेकपा एमाले भित्र पनि असन्तुष्टि छाएको छ । विशेष महाधिवेशनको विषयलाई लिएर तीन भागमा विभाजित नेपाली कांग्रेसभित्र त झन् लडाईँ नै भएको थियो । अन्य भुरेटाकुरे दलहरुमा पनि टिकट वितरणकै कारण पार्टी छाड्ने, स्वतन्त्र बन्ने र अन्य पार्टी प्रवेश गर्ने लहर नै चलेको थियो । पुराना दलहरुको गतिविधि देखेर स्वतन्त्र र रास्वपा उत्साहित भएका छन् । स्वतन्त्रहरुको उत्साह देखेर पुराना दलका केही नेताहरु आफ्नो चुनावी क्षेत्र छाडी सुरक्षित ठाउँतिर गएका छन् । पुराना दलहरुले नयाँ उम्मेदवारलाई प्राथमिकता दिँदा पुराना नेताहरु आक्रोशित बनेका छन् ।

गत २०७९ सालको संघीय र प्रदेश निर्वाचनमा अधिकांश दलहरु गठबन्धन गरेर जाँदा टिकट बाँडफाटमा ब्यापक गुटबन्दी भएको थियो । गुटबन्दीकै कारण पार्टीभित्र विद्रोह र अन्तर्घात भएको थियो । त्यो असन्तुष्टिले गर्दा ठूला दलहरुले गठबन्धन गर्दा पनि सोचेअनुसारको जित हासिल गर्न सकेका थिएनन् । घातप्रतिघातले गर्दा निर्वाचन जित्नेले हारेका थिए भने हार्नेले जितेका थिए । चुनाव हार्नेहरुले गठबन्धन गरेर अर्को पार्टीलाई टिकट दिएको कारण आफ्नो हार भएको भन्दै पार्टीलाई आरोप लगाएका थिए ।

तर, यसपटक पुराना दलहरुले कसैसँग गठबन्धन गरेका छैनन् । एक्ला–एक्लै चुनाव लड्दा पनि टिकट वितरणलाई लिएर एमाले र कांग्रेसभित्र व्यापक असन्तुष्टि छाएको छ । त्यो असन्तुष्टिले चुनावमा कस्तो रुप लिने हो भन्ने निश्चित छैन । पार्टीभित्रको पहिलाको रोग अहिले झन् महामारीको रुपमा परिणत भएको छ । पुराना दलहरुको आन्तरिक झगडाले गर्दा आगामी निर्वाचनमा कसले बाजी मार्छ भन्ने एकिन छैन । टिकट वितरणमा एमाले रास्वपा, नेपाली कम्युनिस्ट पार्टी, मधेसवादी दल र नेपाली कांग्रेसभित्र भएको विवादले नेता र कार्यकर्ताबीच असन्तुष्टि बढेको छ । राजनीतिक दलमा एक ढिक्का देखिएको एमालेभित्र पनि टिकट वितरणको विषयलाई लिएर नेता ईश्वर पोखरेल समूह रुष्ट देखिएको छ ।

नेपाली कांग्रेसभित्र त झन् पार्टी नै तीन ध्रुवमा बाँडिएको छ । कांग्रेसभित्र टिकट वितरणकै कारण कार्यकर्ता भाँडिन पुगेका छन् । राजनीतिक दलभित्र कसैले गुटपरिवर्तन गरी–गरी अवसर लिइरहेका छन् भने कसैले एउटै गुटमा बसेर पनि बारम्बार अवसरबाट बञ्चित भइरहेका छन् ।
ठूला भनिएका पुराना दलहरुभित्र गुटबन्दी र टिकट वितरणमा भएका असमानताका कारण अन्तर्घात हुने प्रस्ट देखिएको छ । त्यसले गर्दा दलबाट बिच्किएकाहरु कसैले स्वतन्त्रबाट त कसैले अर्को पार्टी प्रवेश गरेर टिकट हात पारेका छन् । पुरानो दलहरुको तुलनामा नयाँ दलमा कम असन्तुष्टि देखिन्छ । पुराना दलहरुमा टिकट वितरणलाई लिएर नेता र कार्यकर्ताहरु विभाजित भएका छन् । त्यसको फाइदा स्वतन्त्र र अन्य नयाँ दलहरुले नलेलान् भन्न सकिँदैन । त्यसले गर्दा पुराना दलहरुलाई फागुन २१ को निर्वाचन फलाम चिउरा सावित हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *