काठमाडौं । नेपाल वीमा प्राधिकरणको अध्यक्षमा सचिव चन्द्रकला पौडेललाई किन लगियो होला ? जबकी यस अघि वीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिवहरुलाई मात्र पठाइँदै आएको थियो । अर्थमन्त्री रामेश्वर खनालले सामान्य प्रशासनका सचिव चन्द्रकला पौडेललाई नियामक निकाय वीमा प्राधिकरणको अध्यक्ष बनाएर लग्नुको पछाडि व्यापारी र विचौलियाहरुको भूमिका छ कि छैन ? कालान्तरमा पर्दा खुल्दै जाला ।
रोचक चाहिँ, विचौलिया दिपक भट्टको खास मानिने विष्णु पौडेलका नातेदार हुन चन्द्रकला पौडेल । राजश्व समूहकी यी कर्मचारीलाई प्रदेशबाट सामान्य प्रशासनमा तानेर पहिलो महिला सचिव बनाएर रेकर्ड राखिएको थियो । अहिले तिनैलाई वीमा कम्पनीहरुको नियामक निकाय वीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको छ । यस अघि प्राधिकरणको अध्यक्षको कुर्सीमा अर्थका सहसचिव जनकराज शर्मा कार्यरत थिए । शर्मा निजामती प्रशासनमा वेदागी कर्मचारी हुन । पाल्पाका स्थायी बासिन्दा शर्मा परिवार नै निजामती प्रशासनमा छन् । उनको बुवा दुर्गाराज शर्माले लामो समय गृह मन्त्रालयको कर्मचारी प्रशासनमा बिताएर सेवा निबृत्त भएका थिए । शर्माकी फूपू भगवती पनि गृह मन्त्रालय अन्तर्गत नै शाखा अधिकृत थिइन । बहिनी अजिता शर्मा पनि निजामती प्रशासनमै शाखा अधिकृत हुन ।
२०५९ सालमै राजस्व प्रशासनतर्फ शाखा अधिकृतमा ६४ जनाको लटमा शर्माले पहिलो नम्वरमा नाम निकालेका थिए । उनी मेधावी कर्मचारी मान्निछन् । विगतमा विवादमा नमुछिएको, निजामती प्रशासनमा राम्रो भविष्य भएका उनै शर्मालाई राजीनामा गर्न लगाएर त्यहाँ सचिव चन्द्रकलालाई अध्यक्ष बनाएर खटाइएको छ । उनी यसअघि प्राधिकरणको अध्यक्षमा अर्थकै सहसचिव शेवन्तक पोखरेल, मदन दाहाल कार्यरत थिए । यस्तै, मुख्यसचिवदेखि अर्थसचिवसम्मलाई कीर्तेमा मुछेर कीर्ते कागजात पेश गरी शरद ओझाले नियुक्ति लिएको बिषय अख्तियारमा विचराधिन छ । यो प्रकरणमा मुख्यसचिव एकनारायण अर्यालनै फस्ने पक्कापक्की रहेका कारण सोही लफडा र विवाद मिलाउन उनकै जेठानी दिदी चन्द्रकलालाई वीमा प्राधिकरणमा पठाइएको हो भन्नेहरु पनि प्रशस्त भेटिन्छन् ।
उसो त जेनजीको सरकारमा सबैतिर भद्रगोल छ । कतिसम्म भने अहिले नियामक निकाय मानिएका दूरसञ्चार प्राधिकरण, नागरिक उड्डयन प्राधिकरणदेखि वीमा प्राधिकरण, स्वास्थ्य वीमा वोर्डसम्मका निकायहरु निमित्तकै भरमा चलिरहेका छन् । तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्धा लागेर डिल्लीबजार कारागार पुगेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्ण निमित्तको जिम्मेवारी दिइएको छ भने यस्तै हवाई क्षेत्रको सेवामूलक व्यापारिक कम्पनी नेपाल वायुसेवाका अध्यक्ष युवराज अधिकारी कार्यकाल सकाएर घर गएसँगै ई. डोलेश्वर कोइराला, जनकराज कालाखेती हुँदै अमृतमान शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।
उता, भ्रष्टचार मुद्धा लागेर संगीता पहाडी निलम्बनमा परेसँगै नेपाल टेलिकम पनि निमित्तकै भरमा चलिरहेको छ । अहिले टेलिकमको निमित्त प्रबन्ध निर्देशक सविना मास्के जिम्मेवारीमा छिन् । यही समयमा टेलिकमको पाँच अर्वको विलिङ्ग ठेक्का रद्ध भएको छ । यसअघि प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा नियुक्त भएका उनका तनहुँ जिल्लाबासी डा. रघुराम काफ्ले मन्त्रीको दवाव थेग्न नसकेर राजीनामा दिएर हिडेसँगै मन्त्रालयले डा. कृष्ण पौडेललाई निमित्तको जिम्मेवारी दिएको छ । यीमात्र होइन आगामी २१ फागुनमा देशैभर निर्वाचन हुँदैछ । सो निर्वाचन गराउने जिम्मेवारी समेत निमित्त कार्यबहाक प्रमुख रामप्रसाद भण्डारीले सम्हालिरहेका छन् ।

