काठमाडौं । अन्तत माओवादीका मेयर राजन पौडेलले रोजेरै रंगीला हाकिम लिएर गएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले ८ जना सहसचिवको सरुवा गर्दा रंगिला कर्मचारीका रुपमा चिनिएका डम्बरु निरौला बाराको सिमरास्थित जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन । मेयर राजन पौडेलको रोजाइ अनुसारै रंगीला डम्बरुलाई लिएर जान सफल भएका हुन ।
सहसचिव बढुवामा सिफारिस भएका बदनाम उपसचिव डम्बरु निरौलालाई सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा लैजान मेयर राजन पौडेलले निकै जोडबल गरेका थिए । त्यसैका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव हिरालाल चौधरीलाई हाजिर गर्न नदिने र बदनामी गराउने चलखेल समेत भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कार्यरत रहेका चौधरीलाई सामान्य प्रशासनले गत पुस ११ गते जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइ पठाएको थियो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई सरुवा भएर प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न गएसँगै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा सामान्यले हिरालाल चौधरीलाई खटाएर पठाए पनि पालिकाले उनलाई हाजिर हुन नदिने रणनीति लिएको थियो । चौधरीको बाटो छेक्ने र डम्बरु सहसचिवमा बढुवा भए लगतै उपमहानगरपालिकाको प्रमुख प्रशमासकीय अधिकृतमा पदस्थापनको व्यवस्था मिलाउन पालिकाले सामान्य प्रशासन मन्त्रालयमार्फत प्रयास गरिरहेको थियो । तर हिरालाल सो पालिकामा हाजिर भए लगतै सहसचिवमा बढुवा भएका छन् । उनलाई सोही पालिकामा नराखि मेयरकै इच्छा अनुसार सामान्यले डम्बरुलाई सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । डम्बरु यस अघि सोही पालिकामा बसेर विगतमा काम गरिसकेका कर्मचारी हुन । दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा यौनकाण्ड मुछिएका कर्मचारी हुन ।
डम्बरु ७९ साल चैत्रमा नगरपालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएको थियो । त्यसपछि सामान्यले अतिरिक्त समूहमा तानेको थियो । सामान्यको बरण्डामा तीन महिना राख्यो त्यसपछि भूमि सुधार तथा मालपोत कार्यालय वीरगञ्ज मालपोत प्रमुख हुन पुगे । झण्डै एक बर्ष वीरगञ्ज मालपोतमा बिताएर त्यहाँबाट सरुवा भएर सिरहा पुगे । वीरगञ्जमा रहँदा उनलाई राजकुमार गुप्ताले पटक पटक हटाउन खोजेका थिए तर मोटो रकम लगानी गरेर उनी त्यही टिक्न सफल भएका थिए ।
पछि लहानमा कार्यरत रहँदै गर्दा उपसचिवबाट सहसचिव बढुवा भएपछि डम्बरु प्रशासन सेवातर्फका १२ कर्मचारी मध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुँदा उनी पछि बढुवामा परे । झापामा सहायक सिडिओ रहेका बेला जग्गा किर्ते काण्डमा संलग्न रहेको आरोप खेपिरहेका निरौला यस अघि जितपुरसिमराको प्रमुख प्रशासकीय चलाइसकेका कर्मचारी हुन् । उनी ७७ साल साउनदेखि असोजसम्म सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए । उनै बदनाम कर्मचारी अर्थात रंगीला हाकिम माओवादीका मेयरका रोजाइमा परेका छन् ।

