मतदाताको अग्निपरीक्षामा उम्मेदवारहरु !

राजनीति समाचार

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुँदैछ । उम्मेदवारहरु प्रचारमा न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । मतदाताहरु पनि कसलाई मत दिने भनेर छरछिमेक, साथीभाइ र आफन्तहरुसँग सुझबुझ गर्न थालेका छन् । दलका कार्यकर्ताहरु आ–आफ्ना उम्मेदवार जिताउन मरिमेटेर प्रचारमा जुटेका छन् । उम्मेदवारहरु आफ्नो चुनावी क्षेत्रमा समस्या खोजीखोजी समाधान गर्ने प्रलोभन देखाइरहेका छन् । दलैपिच्छे विभिन्न महत्वकांक्षी घोषणा–पत्र निकालेर मतदातालाई मिठामिठा आश्वास बाँडिरहेका छन् ।

सरकारले पनि निर्वाचन सुरक्षाको लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, गुप्तचर र म्यादी प्रहरीहरु परिचालन गरिसकेको छ । तर, राजनीतिक दलहरु भने अझै सुरक्षाको ग्यारेन्टी सरकारले गर्न नसकेको गुनासो गरिरहेका छन् । उता, सुरक्षा निकाय भने शान्तिपूर्ण र भयरहित ढंगले निर्वाचन सम्पन्न गराउछौं भनिरहेको छ । कर्मचारी र सुरक्षकर्मी मतदान केन्द्रमा खटिने तरखर गरिरहेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनसम्बन्धी काम पुरा गरिसकेको छ । त्यसले गर्दा आम मतदाताहरुले भयरहित निर्वाचन सम्पन्न हुने आशा राखेका छन् । तर, मतदाताहरुले राष्ट्र, राष्ट्रियताको हित गर्ने उम्मेदवारलाई छानेर निर्वाचित गराउनुपर्ने आवाज सर्वसाधारणले उठाउन थालेका छन् । यदि देश र जनताप्रति खेलवाड गर्ने उम्मेदवारले निर्वाचित खण्डमा देश विखण्डनतिर नजाला भन्न सकिँदैन । त्यसले गर्दा पनि आम मतदाताले ख्याल गर्न जरुरी छ । नत्र पछि पछुताउनुबाहेक अन्य उपाय हुँदैन ।

निर्वाचन नजिकिएसँगै नेपालमा विदेशीहरुले चलखेल गरिरहेका छन् । विदेशीको चलखेलकै कारण नेपालमा जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोनको कारण नेपालका भौतिक संरचनादेखि सिंहदरबार, सर्वोच्च अदालतलगायत राजनीतिक दलका शीर्ष नेतामाथि भौतिक आक्रमण हुनुकासाथै उनीहरुको घरमा आगजनी गरिएको थियो । सो आन्दोलनमा ७६ जनाले मृत्युवरण गरेका थिए भने कयौं घाइते हुन पुगेका थिए । त्यसलाई मध्यनजर गरेर आम मतदाताले होसियारपूर्वक मतदान गर्नुपर्ने अवस्था आएको छ । त्यसमा राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, उद्योगी व्यापारी, सुरक्षा निकाय, कर्मचारी, शिक्षक, विद्यार्थी र सर्वसाधारणले सोचविचार गरेर मात्र मतदान गर्नुपर्ने देखिन्छ ।

किन कि नेपाली माटोमा राजनीति गरेका स्थापित दलहरुले केही हदसम्म देश र जनताको लागि जिम्मेवार बनेर काम गरेका थिए । त्यतिहुँदा जनचाहना अनुसार काम नभएको गुनासा आइरहेको थियो भने नयाँ भन्नेहरुले त्योभन्दा राम्रो काम गर्न सक्छन् भन्ने कल्पना गर्न सकिँदैन । नयाँ भनाउँदाहरु पनि कोही प्रयोग भइसकेका छन् भने अझ थपिएकाहरुले त्यति पनि विश्वास दिलाउन सकेका छैनन् । त्यसले गर्दा आम मतदाताले मतदान गर्दा होसियार हुनुपर्ने देखिन्छ । मतदान भनेको महत्वपूर्ण अधिकार हो । हल्लाको भरमा जसलाई पायो उसलाई मतदान गर्दा भोलिका दिनमा पछुताउनु शिवाय केही हुँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *