काठमाडौं । प्रतिनिधिसभाको बैठक आज साँझ साढे पाँच बजे बस्ने गरि सारिएकोले अवरोध खुलाउने विषयमा दलहरू बहुपक्षीय छलफलमा छन् ।
पटकपटक प्रतिनिधिसभाको बैठक अवरोधका कारण विपक्षी दलहरूको छुट्टा छुट्टै बैठक बसेको हो । यसै क्रममा कांग्रेसका नेताहरू पनि विपक्षी दलसँग निरन्तर संवादमा
जुटी रहेका छन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । आइतबार बिहान नयाँ बानेश्वरमै विपक्षी दलहरूको बैठक बस्यो । जहाँ माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरे । प्रचण्ड देउवालाई भेट्न शनिबार उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।
त्यसअघि गत शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्धय वर्षमान पुन र शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए ।
जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।