काठमाडौं । श्रम मन्त्री र महानिर्देशक जुनसुकै भए तापनि वैदेशिक रोजगार विभागको ठगी धन्दा रोकिएको छैन । वैदेशिक रोजगारमा एकतिर व्यक्तिगत ठगी भएको अर्कोतिर संस्थागत ठगीधन्दा झन् फस्टाएको छ । त्यसले गर्दा वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरु बढिरहेका छन् । शुशिला कार्की नेतृत्वको सरकारले पनि वैदेशिक रोजगार विभागको ठगीधन्दा रोक्नुको सट्टा निरन्तरता दिएको पाइन्छ । न त वैदेशिक रोजगार विभागभित्रको भ्रष्टाचार रोकियो न त ठगिएका पीडितहरुले न्याय नै पाएका छन् । उल्टै सामान्य प्रशासन मन्त्रालयबाट लगेर मिरा आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाइएको थियो । आचार्यलाई वैदेशिक रोजगारसम्बन्धी खासै ज्ञान थिएन । त्यसले गर्दा विभागमा ठगी धन्दा झन् फस्टाउदै गएको पीडितले बताएका छन् ।
बन्दै गरेको रास्वपा सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कसलाई बनाउँछ त्यो एकिन भइसकेको छैन । अब बन्ने मन्त्रीले वैदेशिक रोजगार विभागभित्र हुने विकृति, विसंगति भ्रष्टाचारलाई कसरी निर्मूल पार्छन् त्यो पनि निश्चित भएको छैन । तर, नयाँ सरकार बन्नु अगाडि नै विभागकी महानिर्देशक मिरा आचार्यले चैत ९ गते विभागका ५३ जना कर्मचारीको शाखा परिवर्तन गरी मोटो रकम असुलेको बताइन्त । ५३ जना कर्मचारीको शाखा परिवर्तन गर्दा प्रतिव्यक्ति १ लाखका दरले रकम उठाएको पीडित कर्मचारीको गुनासो छ ।
विभागमा कुनै कर्मचारीलाई ८/१० महिनासम्म शाखा परिवर्तन नगरी एउटै शाखामा राखिएको छ भने कुनै कर्मचारीलाई तीन महिना नपुग्दै शाखा परिवर्तन गरी पैसा असुल्ने गरेको गुनासो पनि त्यत्तिकै छ । कमिसन दिने कर्मचारीलाई अन्ति स्वीकृति र अनुगमन शाखामा लगिएको छ भने घुस खान र खुवाउन नसक्ने कर्मचारीलाई उजुरी दर्ता, संस्था दता र मुद्दा शाखा जस्ता आम्दानी नहुने शाखामा सरुवा पीडितको भनाइ छ ।
वैदेशिक रोजगार विभागमा यस्तो धन्दा चलाइएको छ भने मालपोत, नापी, यातायात कार्याल र राजश्व कार्यालयहरुमा नयाँ सरकार बन्नु अगाडि नै पेन्डिङमा रहेका फाइलहरु धमाधम खोलेर काम फत्ते गरी मोटो रकम असुली धन्दा सुरु भएको स्रोतले उल्लेख गरेको छ । नयाँ मन्त्री आएपछि वैदेशिक रोजार विभागमा आफ्नो अनुकूल काम नहुने देखेर सरकार बन्नुभन्दा अगाडि नै कर्मचारीको शाखा परिवर्तन गरेर भएपनि आम्दानीको स्रोत बनाएको भनाइ छ । विभागका कतिपय इमानदार कर्मचारीहरु महानिर्देशकको क्रियाकलाप देखेर फसिने डरले अन्यत्र सरुवा हुन खोजिरहेको बताइन्छ ।

