काठमाडौं । देशभरमा अहिलेसम्म १३५ वटा मालपोत कार्यालय रहेका छन् । त्यसमा ८० वटा कार्यालयका आफ्नै भवन छन् भने अरु सबै भाडामा रहेका छन् । राज्यकै मालदार अड्डा भनेर चिनिने मालपोत कार्यालयको भवन नहुनु विडम्वनाको विषय बनेको छ । यस्ता मालपोत कार्यालयहरुले भाडा तिर्दा पनि ठाउँअनुसार सस्तो र महंगो रेटमा तिर्ने गरेका छन् । कतिपय मालपोत कार्यालयका कर्मचारीहरुले कम भाडा तिरेर बढीको बिल देखाएर कमिसन खाने गरेका छन् ।
देशभर गरी १९२ वटा संरचना रहेको मालपोत कार्यालय भवन निर्माण गर्दा कमिसनमै राज्यको अर्बौ सम्पत्ति झ्वाम हुने गरेको छ । काठमाडौं उपत्यकालगायत केही शहरी क्षेत्रमा मात्रै मालपोत कार्यालयको आफ्नै भवन छ । तर, दूर्गम क्षेत्रतिर भने भाडामा घर लिएर कार्यालय सञ्चालन गरिएको छ । दूर्गम ठाउँ र वस्तीमा रहेका घरहरु सस्तोमा लिएर कार्यालय सञ्चालन गरेका छन् । तर, भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशका दूरदराजसम्म मालपोत कार्यालय भवन निर्माण गर्न सकेको छैन ।
आफ्नै भवन नहुँदा ती दूरदराजमा रहेका मालपोत कार्यालयका कर्मचारीहरुले घरभाडामा व्यापक कमिसनको चलखेल गरिरहेका छन् । यसरी कर्मचारीहरुले कार्यालय भाडाको नाममा व्यापक कमिसनको खेलोफड्को गर्दा पनि भूमि मन्त्रालय र सम्बन्धित निकाय निकम्माजस्तै बनेर बसिरहेको छ । कर्मचारी व्यवस्थापन गर्दा पनि कर्मचारीहरु दूर्गम जिल्लाहरुमा जान आनकानी गर्ने गर्दछन् । तर, महंगो जग्गाजमिन भएका काठमाडौं उपत्यका लगायन मुख्य शहरी इलाकामा भने कर्मचारी बढी भइरहेका छन् ।
दूरदराजका अधिकांश मालपोत कार्यालयमा भने कर्मचारी र प्राविधिक अभावका कारण सर्वसाधारणलाई जग्गाको नामसारी, कित्ताकाट र विक्रीवितरणमा समस्या परिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अवस्थामा सर्वसाधारणले आफ्नो जग्गाको नक्सा र कित्ता नम्बर घरमै बसेर मोबाइलमा हेर्न पाउने छन् भने तापनि दुरदराजका जनताले भने कर्मचारी अभावका कारण नामसारी र कित्ता काटमा समस्या भोग्नु परिरहेको छ ।
एकातिर मालपोत कार्यालयहरुको यस्तो अवस्था छ भने अर्कोतिर नापी कार्यालयबाट भोग्नुपरेका समस्याहरु त्यत्तिकै छन् । शहरी इलाकामा साधसिमाना विवाद हुनासाथ अमिन र सर्वेक्षकहरु गएर तत्काल समाधान गरिदिन्छन् भने दुर्गम जिल्लाहरुमा अमिन र सर्वेक्षकको अभावले गर्दा विवाद बढिरहेका छन् । त्यस्ता ठाउँका सर्वसाधारणले नापी कार्यालयमा जग्गा विवाद मिलाइदिन निवेदन गर्दा पनि महिनौ झुलाउने काम भइराखेको छ ।