चिन हुँदै रसुवागढीबाट भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गर्योु।हजार भन्दा वढी मानिसको ज्यान गयो । दशौं हजार मानिस सम्पर्क विहिन् छन् । हजारौं घरवार विहिन भए । सडक, पुल, व्यापारिक पूर्वाधार र मानिसका वर्षौँका मेहनतका संरचना क्षतिग्रस्त भए। यो घटना रसुवाको मात्र समस्या होइन। यसले नेपाल–चीन व्यापारका लागि हामीले बनाउँदै आएको पूर्वाधार र त्यसको भौगोलिक सुरक्षामाथि पनि गम्भीर प्रश्न उठाएको छ।विपद् आउँछ, क्षति हुन्छ र हामी राहत तथा पुनर्निर्माणमा लाग्छौँ। यो स्वाभाविक प्रक्रिया हो। तर हरेक विपद्पछि एउटै ठाउँमा त्यही संरचना फेरि बनाउँदै जाने हो भने हामीले विपद्बाट के सिक्यौँ भन्ने प्रश्न उठ्छ।त्यसैले अहिलेको विपद्लाई लिएर दुःख मनाउ गरेर मात्र बस्ने होइन।शोकलाई शक्तिमा बदल्ने बेला हो।
नाका भनेको सीमा मात्र होइन
हामीले व्यापारिक नाका भन्नासाथ सीमा जोडिएको एउटा ठाउँ सम्झन्छौँ। तर वास्तविकता त्यति मात्र होइन।
एउटा व्यापारिक नाका सञ्चालन गर्न सडक, पुल, भन्सार, गोदाम, पार्किङ, क्वारेन्टिन, बैंकिङ, होटल, बजार, सुरक्षा, सञ्चारलगायत अनेकौँ संरचना चाहिन्छ। त्यहाँ हजारौँ मानिसको रोजगारी र व्यवसाय जोडिएका हुन्छन्। देशको आयातनिर्यात, राजस्व र आपूर्ति प्रणालीसमेत त्यससँग जोडिएको हुन्छ।
त्यसैले एउटा नाका प्राकृतिक विपद्का कारण लामो समय बन्द हुँदा असर एउटा गाउँ वा जिल्लामा मात्र पर्दैन। त्यसको असर राष्ट्रिय अर्थतन्त्रसम्म पुग्छ।रसुवागढीमा भएको क्षतिले यही कुरा फेरि सम्झाएको छ।अब प्रश्न उठ्छ, भोलि फेरि यस्तै विपद् आयो भने के गर्ने ?
पुननिर्माण मात्र कि पुनर्विचार पनि ?
रसुवागढीमा क्षति भएका संरचना पुनर्निर्माण गर्नुपर्छ। व्यापार र आवागमनलाई लामो समयसम्म अवरुद्ध राख्न सकिँदैन। तर पुनर्निर्माणको अर्थ पुरानै जोखिमलाई पुनः निर्माण गर्नु भने होइन।
हामीले एउटा कुरा गम्भीरतापूर्वक सोच्नुपर्छ । आज जहाँ नाका छ, त्यही ठाउँ भोलिको लागि पनि सबैभन्दा सुरक्षित र उपयुक्त ठाउँ हो त ?
यदि उत्तर हो भने त्यसलाई वैज्ञानिक अध्ययनले पुष्टि गर्नुपर्छ। यदि होइन भने विकल्प खोज्नुपर्छ।
विपद् व्यवस्थापनको आधुनिक सोच भनेको क्षति भएपछि संरचना बनाउनु मात्र होइन, जोखिम पहिचान गरेर जोखिम कम हुने ठाउँ र प्रणाली निर्माण गर्नुपनि हो।
हिमाली क्षेत्रमा बाढी, पहिरो, हिमताल विस्फोटलगायतका जोखिमलाई सामान्य रूपमा लिन सकिँदैन। जलवायु परिवर्तनसँगै हिमाली भूगोलमा जोखिमको प्रकृति र तीव्रता पनि बदलिँदै गएको छ। त्यसैले आजको व्यापारिक पूर्वाधारलाई भोलिको जोखिमलाई समेत ध्यानमा राखेर डिजाइन गर्नुपर्ने अवस्था आएको छ।
फलाकलाई भावनाले होइन, अध्ययनले हेरौँ
यही सन्दर्भमा दोलखाकोफलाकको चर्चा गर्नु स्वाभाविक हुन्छ।फलाकलाई अहिले नै रसुवागढीको विकल्प घोषणा गरिहाल्ने कुरा होइन। बरु प्रश्न उठाउने हो, के फलाकलाई नेपालचीन व्यापारको सम्भावित अर्को नाकाका रूपमा गम्भीर अध्ययन गर्न सकिन्छ ?
यो प्रश्नको उत्तर भूगोल, सडक, पुल, वातावरण, लागत, चीनतर्फको पहुँच, व्यापारिक सम्भावना र सुरक्षालगायतका विषयको प्राविधिक अध्ययनले दिनुपर्छ।
फलाक पनि नदी किनारबाट पूर्ण रूपमा अलग रहेको ठाउँ होइन। त्यसैले यसलाई जोखिमरहित क्षेत्र भनेर प्रचार गर्नु पनि ठीक हुँदैन।तर नदिको किनार भन्दा पनि फलाक नाका भञ्ज्याङमा पर्दछ । सम्भावित स्थानकोजोखिम, पहुँच र आर्थिक सम्भावनाको तुलनात्मक अध्ययनगर्नुपर्छ।
फलाकसम्मको सम्भावित मार्गलाई पनि यही दृष्टिले हेर्न सकिन्छ। भिट्टामोड–बर्दिबास–सिन्धुली–खुर्कोट–मन्थली–चरिकोट–सिंगटी–लामाबगर हुँदै फलाकसम्म पुग्ने मार्गलाई व्यापारिक दृष्टिले अध्ययन गर्न सकिन्छ।तर बाटोको नक्सा बनाउँदैमा नाका बन्दैन। चीनतर्फको सडक सञ्जालसँग यसको वास्तविक जोड कस्तो हुन्छ रु कति लागत लाग्छ रु कति व्यापार धान्न सक्छ रु वातावरणीय असर कस्तो हुन्छ रु भविष्यमा विस्तार गर्न सकिन्छ कि सकिँदैन रु यी सबै प्रश्नको उत्तर खोज्नुपर्छ। छिमेकी चिन सहमत हुनु प्रमुख पक्ष हुन्छ । तर यति चाँही दावि गर्न सकिन्छ की, फलाक नाका खुलेमा चिनको व्यापारिक केन्द्रबाट नेपाल तिर ल्याउने सामानहरूको ढुवानी खर्च पनि कम लाग्दछ ।
एउटा नाकामा निर्भर भएर कति चल्ने ?
नेपालको भौगोलिक अवस्था आफैँमा चुनौती पनि हो र अवसर पनि।एकातिर हिमाल छ, अर्कोतिर दुई ठूला अर्थतन्त्रका भारत र चीन। नेपालले यही भूगोललाई आर्थिक अवसरमा बदल्न सक्ने हो भने व्यापारिक सम्भावना ठूलो छ।
तर त्यसका लागि एउटा वा दुईवटा नाकामा मात्र निर्भर हुने सोचबाट बाहिर आउनुपर्छ।
रसुवागढी, तातोपानी, कोरला, किमाथांका र सम्भावित फलाकजस्ता स्थानलाई छुट्टाछुट्टै नाकाका रूपमा मात्र होइन, बहु(नाका व्यापारिक सञ्जालका रूपमा सोच्नुपर्छ।
कुनै एउटा नाका विपद्का कारण बन्द भयो भने अर्को नाकाबाट व्यापार चल्न सक्ने व्यवस्था हुनुपर्छ। एउटा मार्गमा समस्या आयो भने अर्को मार्ग सक्रिय गर्न सकिने पूर्वाधार र प्रशासनिक प्रणाली हुनुपर्छ।
यसले व्यापारलाई मात्र सुरक्षित बनाउँदैन, नेपालको सौदाबाजी क्षमता पनि बढाउँछ।
नाका खोल्ने कुरा होइन, व्यापारिक सञ्जाल बनाउने कुरा
हामीले धेरैपटक नाका खोल्ने कुरा गरेका छौँ। तर अब बहसलाई त्यसभन्दा माथि उठाउनुपर्छ।कुन ठाउँमा नाका खोल्ने रुभन्ने प्रश्नसँगैकुन ठाउँबाट कस्तो व्यापारिक सञ्जाल बनाउने रुभन्ने प्रश्न पनि जोडिनुपर्छ।नाका खोल्नु एउटा निर्णय हो। त्यसलाई दीर्घकालीन व्यापारिक केन्द्रमा रूपान्तरण गर्नु अर्को चुनौती हो।
भन्सार कार्यालय मात्र राखेर व्यापार हुँदैन। त्यसका लागि सडक, गोदाम, चिस्यान केन्द्र, पार्किङ, बैंक, क्वारेन्टिन, सुरक्षा, डिजिटल प्रणाली र बजार आवश्यक हुन्छ। स्थानीय उत्पादनलाई समेत त्यही सञ्जालसँग जोड्न सक्नुपर्छ।
यदि उत्तरी नाकाबाट चीनतर्फ मात्र सामान ल्याउने होइन, नेपालको कृषि तथा अन्य उत्पादनलाई पनि त्यही बाटोबाट बाहिर पठाउन सकिने वातावरण बनाउन सकियो भने त्यसको अर्थ अझ ठूलो हुन्छ।
विपद्ले दिएको अवसर गुमाउनु हुँदैन
विपद् कहिल्यै अवसर होइन। तर विपद्पछि गरिने निर्णयलाई अवसरमा बदल्न सकिन्छ।रसुवागढीमा भएको क्षति हाम्रो लागि पीडादायी पाठ हो। यसलाई केवल राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा सीमित गरियो भने केही वर्षपछि फेरि उस्तै प्रश्न आउन सक्छ।तर यसपटक हामीले दीर्घकालीन सोच राख्यौँ भने यही घटना नेपालको व्यापारिक पूर्वाधार पुनर्विचार गर्ने आधार बन्न सक्छ।
रसुवागढी पुनर्निर्माण गरौँ। तातोपानीलाई थप व्यवस्थित बनाऔँ। कोरला र किमाथांकाको सम्भावना बढाऔँ। सम्भावित फलाकजस्ता स्थानको वैज्ञानिक अध्ययन गरौँ। अनि यी सबैलाई जोडेर एउटासुरक्षित, भरपर्दो र बहुविकल्पीय व्यापारिक सञ्जालनिर्माण गरौँ।यस्तो सञ्जालले एउटा नाका बन्द हुँदा देशको व्यापार बन्द हुने अवस्था आउन दिँदैन।
अब निर्णय भावनाले होइन, तथ्यले गरौँ
अन्ततः नेपालको भूगोललाई केवल नक्सामा हेरेर बस्ने कि त्यसलाई दुई ठूला अर्थतन्त्रबीचको आर्थिक पुलमा बदल्ने रु अबको प्रश्न यही हो।
नेपालका लागि भारत र चीनसँग जोडिने व्यापारिक मार्ग केवल आयात–निर्यातको बाटो होइन, भविष्यको आर्थिक सम्भावनाको आधार पनि हो। त्यसैले एउटा नाका बन्द हुँदा अर्को नाका खोज्नेभन्दा अहिलेबाटै बहुविकल्पीय र सुरक्षित व्यापारिक सञ्जाल निर्माण गर्ने सोच आवश्यक छ।
यही दृष्टिले दोलखाको फलाकलाई पनि प्रमुख सम्भावनाका रूपमा हेर्न सकिन्छ। भौगोलिक रूपमा नेपाल–चीन सीमातर्फको छोटो सम्भावित मार्गसँग जोडिन सक्ने र नेपाल, भारत तथा चीनलाई जोड्ने त्रिदेशीय व्यापारिक मार्गको सम्भावना बोकेको क्षेत्र भएकाले फलाकमाथि अध्ययन आवश्यक देखिन्छ। करिब २५० किलोमिटरको आसपासको दूरीमा तीनवटै देशको भूभागसँग जोडिन सकिने सम्भावनाले पनि यसको रणनीतिक महत्त्व थप्न सक्छ। तर दूरी मात्र नाका छनोटको आधार हुन सक्दैन।
चीनतर्फको सडक सञ्जाल, नेपालको पूर्वाधार, भन्सार र व्यापारिक संरचना, भूगर्भीय तथा जलवायु जोखिम, वातावरणीय प्रभाव, निर्माण लागत, ढुवानी खर्च र भविष्यको व्यापारिक क्षमतासहित सबै पक्षको विस्तृत अध्ययन आवश्यक छ। अझ महत्वपूर्ण कुरा, यस्तो नाका सञ्चालनका लागि चीनको सहमति र सीमापार पूर्वाधार विकास पनि उत्तिकै निर्णायक हुन्छ।
त्यसैले फलाकलाई अहिले नै रसुवागढीको विकल्प घोषणा गर्ने होइन।सम्भावित विकल्पका रूपमा वैज्ञानिक अध्ययनको दायरामा ल्याउनेहो। रसुवागढी पुनर्निर्माण होस्, तातोपानी थप व्यवस्थित बनोस्, कोरला र किमाथांकाको सम्भावना विस्तार होस् र फलाकजस्ता नयाँ सम्भावित मार्गको अध्ययन होस्। यी सबैलाई जोडेर नेपालले एउटा यस्तो व्यापारिक सञ्जाल निर्माण गर्नुपर्छ, जहाँ कुनै एउटा नाका बन्द हुँदा देशको व्यापार नै रोकिने अवस्था नआओस्।
विपद्ले हामीलाई पीडा दिएको छ। अब त्यसबाट पाठ सिकेर भविष्य बनाउने जिम्मेवारी हाम्रो हो।अब प्रश्न नाका कहाँ बनाउने भन्ने मात्र होइन, नेपालको व्यापारिक भविष्य कति सुरक्षित, कति बहुविकल्पीय र कति दिगो बनाउने भन्ने हो।फलाक त्यस भविष्यको एउटा सम्भावित अध्याय हुन सक्छ। अन्तिम निर्णय भने भावना, आग्रह वा राजनीतिक दबाबले होइन, भूगोल, तथ्य, अध्ययन र राष्ट्रिय हितले गर्नुपर्छ।