यस्तो छ, एमाले हार्नुको कारण

राजनीति समाचार

रामचन्द्र बस्नेत
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले नराम्रोसँग पराजय भोग्नु पुगेको छ । पार्टीले पराजय भोग्नुको मख्य कारण नेतृत्वको घमण्डसँगै नेतैपिच्छेका गुटउपगुटको कमाल रहेको छ । नेकपा एमालेलाई यो अवस्थामा पु¥याउनेमा युवराज खतिवडा, विष्णु रिमाल, राजन भट्टराई, राजेश बज्राचार्य, सूर्य थापा, भानुभक्त ढकाल, योगेश भट्टराईलगायतका नेताहरुको मुख्य कारण पाइन्छ । किन कि यी नेताहरुले पार्टीहित विपरीत विभिन्न टिकाप्पणी गर्ने र नेतृत्वविरुद्ध मिडियाबाजी गर्ने कारणले एमाले तेस्रो स्थानमा खुम्चिनु परेको छ ।

खासगरी नेकपा एमालेको २३ वटा जनवर्गीय संगठनमा पार्टीको हितमा काम गर्नेभन्दा व्यक्तिगत स्वार्थपूर्ति गर्नेहरु हावी हुँदा संगठन चलायमान हुन सकेको थिएन । त्यसकै परिणाम स्वरुप आज पार्टीले नराम्रो हार बेहोर्नुपरेको छ । पार्टीले निर्वाचनमा हार बेहोरेपछि अध्यक्षले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने थियो । निर्वाचन सकिएको तीन साता नाघिसक्दा पनि पार्टी नेतृत्वले चुनावी समीक्षा गरेर राजीनामा दिने आँट गरेका छैनन् । पार्टी नेतृत्वप्रति चुनावी परिणाम र संगठन छिन्नभिन्न भएको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

अर्कोतिर जेनजी सरकारले जसरी पनि फागुन २१ मा चुनाव गरिछाड्ने भनिरहँदा एमाले एक ढिक्का भएर सबै जनवर्गीय संगठनलाई चलायमान बनाइ निर्वाचनमा होमिनुपर्नेमा त्यो नगरी उल्टै पार्टीका नेताहरु दुई खेमामा विभाजित भएर ११ औं महाधिवेशनमा प्रतिस्पर्धा गर्दा अध्यक्ष केपी ओली पक्ष हावी भएको थियो भने इतरपक्ष ईश्वर पोखरेल समूहले पराजय भोगेको थियो । प्रतिनिधि सभा निर्वाचनको मुखैमा आएर पार्टीको ११ महाधिवेशन गर्नु नै गलत थियो ।

त्यसैगरी एमालेको नेतृत्वमा सरकार हुँदा शिक्षक संगठनले उठाएको माग पुरा गर्न नसक्नु निर्वाचन हार्नुको अर्को मुख्य कारण बनेको थियो । त्यस्तै कर्मचारी संगठनभित्र खुल्ला प्रतिस्पर्धा गरेर नेतृत्व नयन गर्नुपर्ने ठाउँमा महिला नेतृत्व ल्याउने नाममा जबर्जस्ती सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । भवानी दाहाल न्यौपानेको नेतृत्व आएपछि निजामती कर्मचारी संगठनका अधिकांश प्रतिनिधिहरु रुष्ट बनेका थिए । कर्मचारी संगठन एक ढिक्का नभएकै कारण प्रतिनिधि सभा निर्वाचनमा घात हुन पुग्यो । उता एमाले निकट पेशागत महासंघका पदाधिकारीभित्र गुटउपगुट खडा हुँदा उनीहरुले पनि प्रतिनिधि सभा निर्वाचनमा सहयोगभन्दा असहयोग नै बढी गरेको पाइन्छ ।

त्यस्तै अन्य जनवर्गीय संगठनका नेतृत्व र पदाधिकारीहरुले पनि भित्रैदेखि सहयोग गरेको देखिँदैन । एमालेका २३ वटा जनवर्गीय संगठनको नेतृत्व नेता भानुभक्त ढकालले गरेका छन् । आफूले नेतृत्व गरेको सबै जनवर्गीय संगठनलाई चलायमान बनाएर निर्वाचनमा प्रयोग गर्न ढकालले सकेनन् । त्यस्तै देशैभर संगठन विस्तार गरेका शिक्षकहरुले पनि पार्टी सरकारमा हुँदा पनि आफ्ना माग पुरा नगरेको भन्दै प्रतिनिधि सभा निर्वाचनमा खुलेर सहयोग गरेको देखिएन । त्यसैगरी पार्टी नेतृत्वको लागि दुई पक्षबीच प्रतिस्पर्धा भए तापनि एकलौटी ढंगले ओली नेतृत्व हावी हुँदा एमाले निकट विद्यार्थी संगठन अनेरा स्ववियु पनि भाँडिन पुगेको थियो ।

त्योसँगै एमाले निकट बुद्धिजीवी, प्राध्यापक, व्यापारी, उद्योगी, वकिल र पत्रकारहरु पनि प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई जिताउन लागिपरेको देखिएन । उता, प्रत्यक्ष र समानुपातिक टिकट वितरणमा पनि पार्टी नेतृत्वको वरिपरि घुम्ने र आसेपासेको हावी हुँदा ब्यापक असन्तुष्टि छाएको थियो । अधिकांश क्षेत्रमा पार्टीभित्र योगदान पु¥याएका र निर्वाचन जित्न सक्ने व्यक्तिलाई फरक गुटको नाममा वाइपास गरेर आफ्ना आसेपासेलाई दोहो-याई–दोहो-याई अवसर दिँदा नेताहरुबीच असन्तुष्टि बढेको थियो । त्यसैगरी निर्वाचनमा होमिएका उम्मेदवारहरुले पनि आफ्ना कार्यकर्ताको अवस्था के छ, कसरी पार्टीलाई सहयोग गर्छन्, जनवर्गीय संगठन कत्तिको चलायमान छन्, नेतृत्व चयनमा पार्टी र संगठनको हितमा काम गर्नेलाई प्राथमिकता दिइएको छ कि छैन भनेर ख्याल गरेको पाइएन ।

निर्वाचन प्रचार–प्रसारका क्रममा क्षेत्र र भूगोलमा काम गरेका अनुभवी कार्यकर्तालाई भन्दा उम्मेदवारको वरिपरि घुमेर मासुभात खाने र नेतासँग फोटो खिचाएर आफ्नो प्रचारवाजी गर्नेलाई मान्यता दिँदा आज पार्टीले यो हार बेहोर्नुपरेको हो । आफू र पार्टीले हार्दा एकपक्षले अर्कोपक्षलाई दोष दिनेभन्दा पनि नेताहरुले आफूलाई ऐनामा हेर्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *