सरकारले लोकतान्त्रिक संविधानको धज्जी उडाउँदै

राजनीति समाचार

दह्रो प्रतिपक्ष नहुँदा सबै क्षेत्र आतंकित
काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याएर सरकार चलाएको छ भने नेपाली कांग्रेसले ३८, एमालेले २५ र नेपाली कम्युनिस्ट पार्टीले १७ सिटमा जित हासिल गर्दा पनि दाह्रो प्रतिपक्षको भूमिका खेल्न सकेका छैनन् । त्यसमा राप्रपा र श्रम संस्कृति पार्टी मिल्दा पनि दह्रो प्रतिपक्ष छैन । रास्वपाले १८२ सिटमा जित हासिल गरेर एकलौटी सरकार गठन गरेपछि देशलाई आतंकित बनाउन थालेको छ । तर, अन्य राजनीतिक दलहरुले त्यस विषयमा कुनै चासो देखाउन सकेका छैनन् । महंगीले सर्वसाधारणलाई बिहान–बेलुका छाक टार्न समस्या पर्दै गएको छ । पेशा, व्यवसाय चौपट भएका छन् । दलहरु त्यसबारेमा बोल्न सकेका छैनन् । सरकारले एकलौटी ढंगले मनपरीतन्त्र चलाइरहेको छ ।

लोकतन्त्रको खम्बा मानिएको नेपाली कांग्रेस र नेकपा एमाले पार्टीभित्र आन्तरिक झगडालाई लिएर लुछाचुँडी गरिरहेका छन् । यस्ता विषयमा न त राजनीतिक दलहरु नै बोल्न सकेका छन् न त मानव अधिकारवादीहरुले आवाज उठाएका छन् । सरकारले बजार अनुगमन गरेर कृतिम अभाव सिर्जना गर्ने व्यापारीहरुलाई कारवाही गर्न सकेको छैन । उल्टै पेशा व्यवसायीहरुलाई विभिन्न बहानामा आतंकित पार्ने काम भइरहेको छ । त्यसको सबैभन्दा बढी मार निजी लगानीमा सञ्चालित सञ्चार क्षेत्रलाई परेको छ । अर्कोतिर व्यापारीहरुलाई पनि त्यत्तिकै आतंकित बनाएको छ भने विभिन्न सरकारी कार्यालयमा सर्वसाधारणलाई सेवा दिन खोलिएका लेखापढी व्यवसायीहरुलाई पनि नेपाल प्रहरीले विचौलियाभन्दै धरपकड गर्ने र अपमान गर्ने काम गरिरहेको छ । त्यसको उदाहरण लिन सकिन्छ यातायात कार्यालय एकान्त कुना तथा ललितपुर मालपोत कार्यालय र नापी कार्यालयलाई । केही साता अगाडि यातायात कार्यालय एकान्त कुनामा गाडी दर्ता गर्न आउने कम्पनीका सञ्चालकहरुदेखि विचौलियाहरुलाई धरपकड गरिएको थियो ।

त्यस्तै २०८२ चैत २२ गते ललितपुर मालपोत कार्यालय र नापी कार्यालयमा प्रहरी प्रवेश गरेर सेवाग्राहीसहित लेखापढी व्यवसायीहरुलाई विचौलियाको आरोपमा पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेसँगै मालपोत र नापी कार्यालयका कर्मचारीहरुलाई समेत आतंकित बनाइएको थियो । त्यसैगरी ठमेल आसपासमा पेशा व्यवसाय गर्ने र होटेल रेष्टुरेष्टमा बास बस्ने नागरिकलाई समेत प्रहरीले धरपकड गरी आतंकित बनाएको स्थायीवासीहरुको गुनासो छ । यी र यस्तै कारणले बालेन सरकारले बहुमतको आडमा सबै क्षेत्रलाई आतंकित बनाएको सर्वसाधारणको गुनासो छ ।

सरकार बनेको दुई हप्ता नपुग्दै कहिले राजनीतिक दलका नेतालाई गिरफ्तार गर्ने कहिले व्यापारीलाई पक्राउ गर्ने त कहिले गुण्डाको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेर आतंकित बनाउने काम सरकारले गर्दै आएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा रास्वपाको सरकार बनेपछि सर्वसाधारण नागरिकहरुलाई सूचनाको हकबाट बञ्चित गराउने काम गरेको छ भने व्यापारीहरुलाई विचौलियाको आरोपमा पक्राउ गरी निजी क्षेत्रलाई निरुत्साहित बनाउने काम गरेको छ । बालेन सरकारका यी र यस्ता क्रियाकलापले गर्दा नेपालको सार्वभौमसत्ता र लोकतान्त्रिक संविधानको धज्जी उडाउने काम भएको छ । संसदमा दह्रो प्रतिपक्ष नहुँदा सबै क्षेत्र आतंकित हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *