बालेन सरकारले महिनादिन पार गरेको छ । सरकारले एक महिने अवधिमा सुकुम्वासी, व्यापारी, पत्रकार, कर्मचारी र लेखापढी व्यवसायीलाई तहसनहस बनाउने काम गरेर दिन बिताइरहेको छ । सरकारको त्यो हर्कतले सर्वसाधारणलाई उठिवास लगाएको छ । वर्षायाममा सुकुम्वासीहरुको घर टहरा भत्काउँदा ठूला संख्यामा सर्वसाधारणहरु सडकमा पुगेका छन् । घर टहरा भत्काएर सुकुम्वासीको सानमानसमेत तहसनहस बनाउँदा खानसमेत पाएका छैनन् । होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरुले पेटभरी खान नपाएको भन्दै आन्दोलित बनिरहेका छन् । पत्रकारहरुले पाउँदै आएको सूचनामूलक विज्ञापनमा कटौती गरेर सर्वसाधारणलाई सूचनाको हकबाट बन्चित गराउने काम गरेको छ । कर्मचारीहरुले पाउँदै आएको सेवासुविधा कटौती गरेर अप्ठ्यारो पार्ने काम गरेको छ । व्यापारीहरुलाई लगानीमैत्री वातावरण बनाउन सकेको छैन । विभिन्न प्राकृतिक प्रकोपदेखि आन्दोलनले थिलथिलो भएको अर्थतन्त्र झन् धरासायी बन्दै गएको छ ।
उता, सुकुम्वासी बस्ती हटाउने नाममा सरकारी विद्यालय र मठमन्दिरसमेत भत्काउने काम भएको छ । सरकारले जनतालाई तर्साउने काम गरेर दिन बिताइरहेको छ भने विकास निर्माणका कामहरु अलपत्र परिराखेका छन् । खेतीको सिजन लागिसकेको छ तर मल, बिउको व्यवस्था गर्न सकेको छैन । वर्षेनी मलको हाहाकारले किसानहरुले समयमा खेती गर्न सकेका थिएनन् । यसपालि पनि मलकै अभावले किसानहरु भौतारिने भएका छन् ।
सरकारले मलको व्यवस्था गरेर किसानहरुलाई राहत दिनुपर्ने ठाउँमा त्यो गर्न सकेको छैन । वैशाख महिनाको तेस्रो साता वितिसक्दा पनि जनकशिक्षा सामग्री केन्द्रले दूरदराजका सामुदायिक विद्यालयमा पठ्यपुस्तक पु¥याउन सकेको छैन । वर्षौदेखि किसानले मल पाएका छैनन् भने दूरदराजका विद्यार्थीहरुले समयमा पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक समयमा नपाएकै कारण दूर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढाइबाट बन्चित हुँदै आएका छन् । रास्वपाको नयाँ बनेपछि समयमा पाठ्यपुस्तक पाउने आशा गरेका थिए । तर, सरकार भने मौन बसिरहेको छ ।
उता, देशमा बेरोजगार समस्या भइरहँदा किसानहरुले मल अभावकै कारण खेती गर्न पाएका छैनन् । मल बिऊ र औजारको अभावकै कारण किसानहरुले खतेपातीको काम छोडिरहेका छन् । खेतीकिसानी गर्न नपाएपछि ग्रामिण युवाहरु रोजीरोटीको लागि विदेशिन वाध्य भइरहेका छन् । निर्वाचन अगाडि रास्वपाले नेपाली युवाहरुले विदेश जानुनपर्ने स्वदेशमै रोजगारी सिर्जना गर्ने भनेको थियो ।
उद्योग धन्दा नभएको मुलुकको आम्दानीको स्रोत कृषि क्षेत्र नै हो । मल, उन्नत जातको बिऊ, कृषि औजार र सिंचाईको सुविधा नहुँदा अधिकांश खेतीयोग्य जमीन बाँजो भइरहेका छन् । किसानका छोराछोरीहरु विश्वका विभिन्न मुलुकमा रोजगारीको लागि गइरहेका छन् । यता गाउँघर वृद्धाश्रममा परिणत भइरहेको छ । वर्षायाम सुरु हुनलाग्दा अधिकांश निर्माणाधिन सडकहरु अलपत्र परिराखेका छन् । त्यस्ता जनताको गाँस, वास र कपाससँग प्रत्यक्ष जोडिएका विषयमा ध्यान दिनुपर्नेमा सरकार भने उल्टै सर्वसाधारणलाई उठिवास लगाउने काममा उद्दत भएको छ ।

