समतामूलक शासन र सामुदायिक पर्यटनः चितवनको सिकाइ

राजनीति समाचार

भोला खतिवडा

यस पटक चितवन पुग्दा यात्रा केवल घुमफिरमा सीमित रहेन, बरु सिकाइ, अनुभव र अवलोकनको एउटा समृद्ध अवसर बन्यो। धेरै दिन बस्ने गरी गरिएको यो भ्रमण विगतका छोटा कार्यक्रमभन्दा फरक र गहिरो अनुभव दिने खालको रह्यो। पछिल्लो समय एक हप्ताभन्दा लामो अवधिसम्म कुनै जिल्लामा बस्ने अवसर कमै मिलेको थियो, तर यस पटक त्यो अवसर प्राप्त भयो। रिकफ्ट नेपालद्वारा आयोजित समतामूलक शासन पद्दतिसम्बन्धी कार्यशालाको सिलसिलामा चितवनका विभिन्न स्थान पुग्दा त्यहाँका समुदाय, वन व्यवस्थापन, पर्यटन र स्थानीय जीवनशैलीबारे नजिकबाट बुझ्ने अवसर मिल्यो।चितवनको माडी, जगतपुर र सौराहमा दुइ दुइ दिने कार्यशाला आयोजना गरिएको थियो ।यी स्थानको फरक फरक विशेषता रहेको छ । अनुभुति र सिकाइ पनि रोचक रहेको छ ।

समतामूलक शासनको अभ्यास
समाज स्वभावतः विविधतायुक्त हुन्छ। आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र शारीरिक अवस्थाका आधारमा मानिसहरू फरक–फरक अवस्थामा रहेका हुन्छन्। कोही सम्पन्न छन् भने कोही विपन्नस कोही शिक्षित छन् भने कोही अशिक्षितस कोही सशक्त छन् भने कोही कमजोरवा अपांग।समाजमा पुरूष हुन्छन त महिला पनि कोहि सुगमका हुन्छन् भने कोहि दुर्गम क्षेत्रका हुन्छन् । त्यसै गरी जातको आधारले पनि विविधता छ । यस्तो विविध समाजमा शासन प्रणालीले सबैलाई समान रूपमा समेट्न नसकेमा असन्तुलन सिर्जना हुन्छ। सवैलाइ समान वनाउन एकै पटक सक्ने विषय पनि होइन । त्यसैले कमजोर वर्गलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्नु नै समतामूलक शासनको मूल मर्म हो।अर्थात समाजमा रहेका सापेक्षित कमजोर वर्ग केन्द्रित काम गर्नु समतामूलक शासनको प्रमुख पक्ष हो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूह र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका प्रतिनिधिहरूसँग गरिएको कार्यशालाले यही विषयलाई केन्द्रमा राखेको थियो। दुई–दुई दिन सञ्चालन गरिएका यी कार्यशालामा स्थानीय सहभागिता उल्लेखनीय रह्यो। रिकफ्ट नेपालका उपनिर्देशक प्रदीप बुढाथोकी, कार्यक्रम अधिकृत पवन कार्की,साइड कोअर्डिनेटर दीप्ती विक र म सहितको टोलीले सहजीकरण गरेको कार्यक्रममा स्थानीय अनुभव र दृष्टिकोणलाई नजिकबाट सुन्ने र देख्ने अवसर मिल्यो।

सामुदायिक वनका अवसर र चुनौती
कार्यशालाका क्रममा चितवनका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनहरूको अवस्थाका वारेमा जान्ने मौका मिल्यो । वाघमारा र कुमरोज सामुदायिक वन यहाँका नाम चलेका हुन् । यी वनहरू केवल संरक्षणमा सीमित छैनन्, बरु पर्यापर्यटनमार्फत राम्रो आम्दानी गरिरहेका उदाहरणीय मोडेलका रूपमा स्थापित भएका छन्। वन संरक्षण र आम्दानीबीचको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने कुरा यी वनहरूले देखाएका छन्।

तर सबै कुरा सहज छैनन्। वन्यजन्तुले जनजिवनमा पार्ने प्रभाव लेखाजोखा गरेर साध्य छैन । केही स्थानमा स्रोतको असमान वितरण, निर्णय प्रक्रियामा सबैको समान सहभागिता नहुनु, र लाभको न्यायोचित बाँडफाँटमा चुनौतीहरू देखिन्छन्। यही सन्दर्भमा समतामूलक शासनको आवश्यकता अझ स्पष्ट रूपमा महसुस हुन्छ। समुदायभित्रै रहेका कमजोर वर्गलाई अवसर र पहुँच सुनिश्चित गर्न सके मात्र यस्ता कार्यक्रमहरू दिगो बन्न सक्छन्।यी विषयहरू कार्यशालाका सहभागीहरूले महसुस गरी रूपान्तरणका अठोट समेत व्यक्त गरेकाछन् ।

माडीको मौलिक पहिचान
चितवन भन्नेबित्तिकै प्रायः सौराहा, जंगल सफारी र गैँडाको चित्र मनमा आउँछ। तर यही जिल्लाको दक्षिण–पूर्वी भेगमा अवस्थित माडी नगरपालिका भने फरक स्वाद र अनुभव दिने ठाउँ रहेछ। निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो भूभाग शान्त, हरियाली र सांस्कृतिक रूपमा समृद्ध छ।
माडी पुग्न भरतपुर महानगर पार गर्दै चितवन राष्ट्रिय निकुञ्जको बाटो काट्नुपर्छ। लामो यात्रा भए पनि गन्तव्यले थकान बिर्साइदिन्छ। उर्वर जमिन, हरियाली खेत र मौसम अनुसार पहेँलो तोरीले ढाकिएका फाँटहरूले प्राकृतिक सौन्दर्यको अनुपम दृश्य प्रस्तुत गर्छन्। कृषिमा आधारित जीवनशैली यहाँको मुख्य आधार हो।

मगर होमस्टेस् संस्कृतिको जीवन्त अनुभव
माडीको अयोध्यापुरीमा रहेको सामुदायिक होमस्टे स्थानीय मगर समुदायको पहिचान र जीवनशैली बुझ्ने उत्कृष्ट माध्यम बनेको छ। विसं २०७२ मा स्थापना भएको यो होमस्टे केवल बसोबासको सुविधा दिने ठाउँ होइन, बरु एउटा जीवित सांस्कृतिक संग्रहालय जस्तै हो।
यहाँ पुग्ने पाहुनाले केवल कोठा र खाना मात्र पाउँदैनन्, बरु स्थानीय संस्कृति, परम्परा, भेषभूषा र खानपानको प्रत्यक्ष अनुभव गर्छन्। साँझपख सुनिने लोकधुन, परम्परागत परिकार र समुदायको आत्मीय आतिथ्यले पाहुनालाई नयाँ संसारमा पुर्याकउँछ।

व्यवस्थापनको नमुना मोडेल
यस होमस्टेको सबैभन्दा रोचक पक्ष यसको व्यवस्थापन प्रणाली हो। १५ घरधुरीको सक्रिय सहभागितामा सञ्चालन भइरहेको यो मोडेल पालैपालो सेवामा आधारित छ। एक समूहले निश्चित संख्यामा पाहुनालाई सेवा दिएपछि अर्को समूहले जिम्मेवारी लिन्छ। यसले सबैलाई समान अवसर र आम्दानी सुनिश्चित गरेको छ।
पाहुनाका लागि ३० कोठाको व्यवस्था छ, जहाँ एकैपटक करिब सय जना बस्न सक्छन्। सुविधा साधारण तर व्यवस्थित छन्—सफा कोठा, शौचालयसहितको स्नानकक्ष, वाइफाइ सुविधा। यहाँ विलासिता होइन, अनुभव प्राथमिकतामा पर्छ।

विशेष कुरा के भने पाहुनाबाट उठेको आम्दानीको १० प्रतिशत सामुदायिक कोषमा जम्मा हुन्छ। यसले दीर्घकालीन विकास, सहकार्य र सामूहिक उत्तरदायित्वलाई मजबुत बनाएको छ। व्यक्तिगत लगानी र सामूहिक व्यवस्थापनको यो मिश्रित मोडेल दिगो विकासको उत्कृष्ट उदाहरण हो।
पर्यटनले ल्याएको परिवर्तन
यस होमस्टेले स्थानीय जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। १५ घरपरिवारका लागि नियमित आम्दानीको स्रोत बनेको छ। युवाहरू गाउँमै बस्न प्रेरित भएका छन् भने महिलाहरू आर्थिक रूपमा सक्रिय भएका छन्। स्थानीय उत्पादनको खपत बढेको छ, जसले समग्र अर्थतन्त्रलाई चलायमान बनाएको छ।
आजको व्यस्त जीवनशैलीबाट केही समय टाढा बसेर प्रकृतिसँग नजिक हुन चाहने र स्थानीय संस्कृति बुझ्न चाहनेहरूका लागि यस्तो होमस्टे उत्कृष्ट विकल्प बनेको छ।

चितवनको यो भ्रमणले एउटा स्पष्ट सन्देश दिएको छ—समतामूलक शासन र सामुदायिक सहभागिता बिना दिगो विकास सम्भव छैन। वन, पर्यटन र समुदायबीचको सन्तुलन मिलाउँदा मात्र दीर्घकालीन लाभ सुनिश्चित गर्न सकिन्छ।

माडीको मगर होमस्टे र सामुदायिक वनहरूको अभ्यासले देखाएको छ कि स्थानीय पहल, सहकार्य र समावेशीताले विकासलाई नयाँ उचाइमा पुर्या्उन सक्छ। पर्यटन केवल घुमफिर मात्र होइन, यो संस्कृतिको आदानप्रदान, आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणको माध्यम पनि हो।

यस क्षेत्रमा रहेका सामुदायिक वनहरूले समतामुलक शासनकालागि सहभागीता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भहरूलाइ चिरफार गरेको छ । यी विषयमा तहगत नीतिगत सुनिश्चिता गर्नु पर्ने महसुस गरी सो का लागि ठोस कार्यक्रमको रूपरेखा बनेको छ ।कार्यशालामा सहभागी भएका सहभागीहरूले सम्वन्धीत संस्थामा गएर चर्चा गर्ने अठोट गरेका छन् । जस्बाट केही हदसम्म समतामूलक शासनको अभ्यास समुदायतहबाट नैं गर्न सकिने अवस्था आउन सक्नेछ । हामी ३ स्थानमा केहि दिन वसेका थियौं । यी स्थान रमाइला मात्रै होइनन् । आतिथ्यता पनि लोभलाग्दो थियो । थारूहरू परिकार पनि स्वादिष्ट थियो ।त्यसैले यस पटकको भ्रमण सिकाइ, घुमाइ अनी खुवाइका अर्थले पनि स्मरणिय रह्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *