काठमाडौं । स्वकीय सचिव अधिकृत स्तरको शैक्षिक योग्यताको आवश्यकता पर्ने भएपनि छोरा, बुहारी, श्रीमती, साला, साली, भान्जा, भान्जीलाई राखेर आफै तीनको तलबभत्ता बजाउने बहादुर माननीयहरुलाई सरकारले फकाउँदै छ । कांग्रेस र एमाले सांसदहरु क्रान्तिकारी बनेका छन् । तीनको हठमा सुकुम्वासी वस्तीको डोजर आतंकलाई सामान्यकरण गरिँदै छ । रास्वपाका सांसदरुले संसद सचिवालयमा सभामुखलाई सम्वोधन गरेर स्वकीय सचिव राख्न पाउनुपर्ने भनेका छन् ।
हिजो निवासमा भान्से र बगैँचे राख्ने नाउमा आफ्नै श्रीमती, भान्से, छोरी, बगैँचे बनाएर तलब आफैले हजाम गर्ने राष्ट्रिय सभाकै अध्यक्ष थिए । आन्तरिक सरकारले सांसदहरुले स्वकीय सचिव राख्ने व्यवस्था हटाइदिएको हो । तत्कालीन प्रधानमन्त्री शुशिला कार्कीको अधिक मितव्ययिताको निर्णयमा त्यो परेको थियो ।
स्वकीय सचिवको काम विचौलिया र माफियासँगको सम्बन्ध जोड्ने थियो । फाइल बोकेर मन्त्रीको चेम्बर र निवासमा सासदसँगै धाउने स्वकिय सचिवको खाँचो रास्वपाका सुकुम्वासी सांसदहरुलाई छ भने लिउन् हामी लिन्नौ भन्ने आँट एमाले र कांग्रेसमा छैन ।
संसदीय व्यवस्थालाई माफिया र भ्रष्टहरुको जमघट बनाउने यिनै थिए । जसले सांसदलाई पेन्सनको कानुन पनि बनाएकै थिए । देशलाई टाट पल्टाउने आफू धनाढ्य बन्ने त्यो योजनाका पारखीहरुलाई रास्वपाका सांसदहरुको सक्रियताले आकर्षित गरेको हुनसक्छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरुलाई पनि निजामती कर्मचारी बाहेकका स्वकीय सचिव राख्न दिएका छैनन् भने संसदको माग पुरा हुने छाँट देखिँदैन ।

