रास्वपाको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तनको संकेत

राजनीति समाचार

अमेरिक अधिकारीको नेपाल दौडधुपले मुलुक कता जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेको दुई महिना भएको छ । सरकार बनेको दुई महिना बितिसक्दा पनि प्रधानमन्त्री बालेन साह छिमेकी मुलुक भारतले भ्रमणमा बोलाउँदा पनि गएका छैनन् । भारतीय विदेश सचिव विक्रम मिश्री गत वैशाखा अन्तिम साता नेपाल आउने कार्यक्रम थियो । तर, प्रधानमन्त्री साहले भेट नदिने भएपछि उनको भ्रमण रोकिएको थियो । अमेरिकी राष्ट्रपतिका विशेष दूतले भेट्न खोज्दा पनि प्रधानमन्त्री साहले भेट दिएनन् । बालेन साह प्रधानमन्त्रीमा गत चैत १३ गते नियुक्ति भएका थिए । चैत १७ गते नेपालमा रहेका १७ देशका राजदूतहरुसँग सामुहिक भेट गरेका थिए । त्यसबाहेक अन्य विदेशी कुटनितिज्ञहरुसँग भेट गरेका थिएनन् ।

तर, हिजो युरोपेली संघअन्र्तगतका २२ देशसहित दक्षिण एशियाली मुलुकका ३० भन्दा बढी कुटनीतिज्ञसँगहरु संयुक्त सिष्टचार भेट गरेका छन् । साह प्रधानमन्त्री भएको दुई महिनामा अमेरिकी उच्च अधिकारीहरु १५÷१५ दिनमा नेपाल आउने– जाने गरेका छन् । फेरि पर्सी १६ गते अमेरिकी उपविदेशमन्त्री सारबी रोजर्स तीनदिने नेपाल भ्रमणमा आउँदै छिन् । यसअघि वैशाखमा छुट्टाछुट्टै नेपालमा अमेरिकी अधिकारीहरु समीर पल कपुर र सर्जियो गोरभन्दा रोजर्स माथिल्लो तहकी अधिकारी हुन् ।

यसअघि नेपाल आएका अमेरिकी अधिकारीहरुलाई प्रधानमन्त्री साहले भेट दिएका थिएनन् । अब आउने रोजर्सलाई भेट दिन्छन् कि दिँदैनन त्यो निश्चित भइसकेको छैन । बालेन सरकार बनेको दुई महिनाकोबीचमा अमेरिकी अधिकारीहरुको नेपाल दौडघुपले मुलुक कता जाँदैछ भन्ने आशंका सर्वसाधारणमा उब्जिन थालेको छ । उता प्रधानमन्त्री साहले रक्षा र गृहमन्त्रालय आफैले सम्हाले तापनि ती मन्त्रालयको कामकारबाहीप्रति चासो देखाएका छैनन् । त्यस्तै सरकारले सभापति लामिछानेको भारत भ्रमणको बारेमा पनि कुनै चासो राखेको छैन ।

सीमा क्षेत्रमा भन्सार कडाईँ गरेर रु. १०० भन्दामाथिका सामानमा भन्सार लाग्ने नियम बनाएपछि भारत नेपालप्रति रुष्ट बनेको छ । त्यसैगरी नेपाली भूमि लिपुलेक भएर मानसरोवर तीर्थ यात्रा मार्ग सुरु गरेकोमा नयाँ दिल्ली र बेइजिङलाई कुटनीतिक नोटिस पठाएपछि भारत झन् नेपाल सरकारप्रति आक्रोशित बनेको छ । प्रधानमन्त्री साहको रवैयाले गर्दा पछिल्लो समय नेपाल–भारतबीचको कुटनीतिक सम्बन्ध चिसिन पुगेको छ । प्रधानमन्त्री साहले भारत भ्रमणमा जाने इच्छा नदेखाएपछि रास्वपा सभापति रवि लामिछाने यहीँ जेठ १८ देखि २० गतेसम्म तीनदिने भारत भ्रमणमा जाने भएका छन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछानेलाई भेट दिन्छन् कि दिँदैनन् त्यो एकिन छैन । लामिछानेको भारत भ्रमणले चिसिएको सम्बन्धलाई सुदृढ गर्छ कि झन् विवाद बढाउँछ त्यो निश्चित छैन ।

प्रधानमन्त्री तथा वरिष्ठ नेता साहको हर्कतका कारण रास्वपाभित्र असन्तुष्टि बढिरहेको छ । पार्टीभित्रको चरम असन्तुष्टिका बाबजुद पनि रास्वपाले आगामी असार ७–९ गते पहिलो महाधिवेशन गर्ने भएको छ । महाधिवेशन नजिकिएसँगै रास्वपामा भित्रभित्रै भुसको आगो झैं द्वन्द्व चर्किएको छ । रास्वपाको पहिलो महाधिवेशनले भावी सभापति रवि लामिछानेलाई बनाउने हो कि अन्य व्यक्ति हुन्छन् त्यो निश्चित भइरहेको छैन । महाधिवेशनमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन साहको टिमबीच मात्रै प्रतिस्पर्धा हुने हो कि अर्को टिम पनि खडा हुन्ँछ त्यो पनि निश्चित छैन । तर, सभापति लामिछाने भारत भ्रमणबाट फर्किएपछि महाधिवेशनमा लाग्ने र सरकारका गतिविधिलाई पनि नियालेर अगाडि बढ्ने संकेत देखिन्छ ।

रास्वपाको पहिलो महाधिवेशनबाट आएको नयाँ नेतृत्व र पदाधिकारीले सरकारको नेतृत्व परिवर्तन गर्न सक्ने राजनीतिक विश्लेषकको आँकलन छ । रास्वपाभित्रका नेता, कार्यकर्तालाई महाधिवेशन अगाडि कोही नबोल्न सभापति लामिछानेले आग्रह गरेका छन् । त्यसले गर्दा पनि रास्वपाका नेता, कार्यकर्ता अहिले बोल्न सकेका छैनन् । केन्द्रीय महाधिवेशनकै लागि रास्वपाले जिल्ला, पालिका र वडा अधिवेशन गरिरहेको छ ।

वडा अधिवेशनहरुमा पनि केन्द्रीय नेताहरुको लभिङ सुरु भएको छ । कतिपय जिल्ला, पालिका, क्षेत्रको अधिवेशनमा विवाद सिर्जना भएको छ । त्यसको उदाहरण लिन सकिन्छ बाराको घटनालाई । पार्टीभित्रको आन्तरिक झगडाकै कारण बाराको भेलामा सहभागी सांसदहरु नै भागाभाग भएका थिए । रास्वपाभित्र यस्तै आन्तरिक लडाईँ चलिरह्यो भने केन्द्रीय महाधिवेशनमा झन् विवाद चुलिने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *