काठमाडौं । निजी मिडियाप्रति सरकारको विभेदकारी नीतिले श्रमजीवी पत्रकारहरु सडकमा भौतारिइरहेका छन् । सञ्चार माध्यम र श्रमजीवी पत्रकारहरुको हकहितमा आवाज उठाउने संस्था नेपाल पत्रकार महासंघका पदाधिकारीहरु भने पत्रकारका मुद्दा ओझेलमा पार्दै विदेश भ्रमणमा रमाइरहेका छन् । केही महिना अगाडि नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरु पत्रकारको आन्दोलन छोडेर हप्तौं दिनसम्म युरोप भ्रमणमा रमाइरहेका थिए भने यता श्रमजीवी पत्रकारहरु सडक आन्दोलनमा उत्रिइरहेका थिए । अहिले पनि पत्रकारहरु सडक आन्दोलनमै रहेका छन् ।
नेपाल पत्रकार महासंघले असार ५ गते शुक्रवारको लागि जिल्ला शाखा, प्रदेश, एसोसिएट, प्रतिष्ठान, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टरलगायत विभिन्न सरोकारवाला संघ, संस्थाका प्रतिनिधिहरुको बृहत भेला बोलाएको छ ।
यता पत्रकारहरु आन्दोलित भइरहँदा नेपाल पत्रकार महासंघका नेताहरु भने विदेश भ्रमणम रमाइरहेका छन् । युरोप भ्रमणबाट फर्किएको महिनादिनपछि फेरि जापान भ्रमणमा जाने तरखर गरिरहेका छन् । नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको ‘ग्लोबल मिडिया सम्मेलन २०२६’ मा सहभागी हुन महासंघका पदाधिकारी लगायतको जम्बो टोली जापान जान लागेको हो । जापान शाखाले आयोजना गरेको ग्लोबल मिडिया सम्मलन २०२६ जुलाई २३ देखि २६ सम्म तीनदिन चल्ने छ ।
उक्त सम्मेलनमा जापान शाखाले नेपालस्थित महासंघ केन्द्रका पदाधिकारीदेखि सम्पूर्ण सदस्यलाई निमन्त्रण गरेको छ । तर, यता पत्रकारहरु आन्दोलित भइरहेको बेला महासंघका नेताहरु विदेश भ्रमणमा निस्किँदा नराम्रो सन्देश जाने डरले केही पदाधिकारी र सदस्यहरु नजाने मनस्थितिमा छन् । त्यसले गर्दा अध्यक्षलगायत केही पदाधिकारीहरुले आफ्ना अनुकूलका अन्य पत्रकारहरुलाई लाने तयारी गरिरहेको स्रोतले बताएको छ । जापान जाने पत्रकारहरुको लागि खाने, बस्ने व्यवस्था जापान शाखाले गर्ने छ भने आतेजाते भाडाको बारेमा कसले बेहोर्ने भन्ने विषयमा अहिलेसम्म निश्चित भइसकेको छैन ।

