काठमाडौं । मुख्यसचिव सुमन अर्यालको जागिर यही असार २६ गते सकिँदै छ । भावी मुख्यसविच सरकारले कसलाई बनाउँछ भन्ने कुनै निश्चित छैन । यतिबेला निजामती कर्मचारीभित्र ५५ वर्षे र ३० वर्षे सेवा अवधिको विवादले भाँडभैलो मच्चाएको छ । कतिपय ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुले जागिर छाड्ने मनस्थिति बनाएका छन् भने ५५ वर्ष उमेरहद पुगेकाहरुले ५८ वर्ष सेवा अवधि हुनुपर्ने जिकिर गरिरहेका छन् । सरकारको रैवैयाले गर्दा कतिपय कर्मचारीहरुले काम गर्न छाडेका छन् ।
सरकारले ३० वर्षे र ५५ वर्षे सेवा अवधिको नाममा कर्मचारी हटाएर संवैधानिक निकायदेखि कर्मचारीतन्त्रमा समेत सेनाका भूतपूर्वहरुलाई भर्ना गर्ने हल्ला चलिरहेको छ । त्यसले गर्दा निजामती क्षेत्रभित्र जागिर खानेहरुको दिन गन्ती सुरु भएको छ । निजामती क्षेत्रमा हाल ८६ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । कर्मचारीलाई राज्यको मेरुदण्ड मानिन्छ । तिनै कर्मचारीहरुले जस्तोसुकै अवस्थामा राज्य चलाउँदै आएका छन् । कतिपय कर्मचारीले देश जनताको आफ्नो बलिदानी पनि दिएका छन् । राजनीतिक दलहरुको सरकार आउँछ जान्छ, तर देश चलाउने भनेको कर्मचारीले नै हो । आज तिनै कर्मचारीहरुलाई बालेन सरकारले मनपरी गरेर दुःख दिने काम गरेको छ । त्यसले गर्दा कर्मचारीहरु ‘नून खाएको कुखुरा’ झैं झोक्राउन वाध्य भएका छन् ।
रास्वपा नेतृत्वको बालेन सरकारले निजामती ऐन कस्तो ल्याउँछ भन्ने निश्चित भइसकेको छैन । सरकारले ल्याउन लागेको निजामती विधेयको विषयमा विरोध भइरहेको छ । त्यसले गर्दा नयाँ कर्मचारी भर्ना गर्ने कि पुरानालाई यथावत राख्ने भन्नेमा त्यत्तिकै विवाद चलिरहेको छ । सरकारले जताततै तहसनहस बनाउँदै लगेको छ । सरकारको विरुद्धमा सुकुम्वासी, सर्वसाधारण, मानव अधिकारकर्मी, पत्रकार, वकिल र सरोकारवालाहरुले सडक आन्दोलन गर्ने तयारी गरिरहेका छन् । कर्मचारीहरु पनि ‘पर्ख र हेर’ को अवस्थामा बसिरहेका छन् । त्यसले गर्दा भावी मुख्यसचिवमा सरकारले कसलाई नियुक्ति गर्छ भन्ने कौतुहलता कर्मचारीमा छाएको छ ।
कर्मचारीको अभिभावक भनेका मुख्यसचिव हुन् । मुख्यसचिवकै आदेश र योजनाअनुसार कर्मचारीतन्त्र चल्छ । मुख्यसचिवले सुरक्षा निकायदेखि निजामती क्षेत्रको नियन्त्रण गर्दछन् । कर्मचारीहरुले ऐन, निमयलाई टेकेर निजामती प्रशासन चलाउँछन् । कुनै राजनीतिक दलको नेता र मन्त्रीको आदेशमा कर्मचारीतन्त्र चल्न । मन्त्रीहरुले नीतिनियमलाई पन्छाउँदै आफ्नो स्वार्थ अनुकूलको काम गर्ने कर्मचारीलाई लगाउँछन् । उनीहरुले लगाएको काम नगरेपछि कर्मचारीलाई विभिन्न बहाना बनाएर अन्यत्र सरुवा गर्ने र आफूनिकटका सचिव र सह–सचिवलाई खोजी–खोजी आ–आफ्नो फेवरमा काम गर्ने कर्मचारीलाई ल्याउँछन् । तर कर्मचारीहरुले नीति, नियम संगत हुने कामका फाइलहरु अगाडि बढाउँछन् भने आदेश र भनसुनको फाइलहरु दराजमा थन्क्याउँछन् ।
त्यसले गर्दा बालेन सरकारको आदेशमा काम गर्ने मुख्यसचिवको खोजी भइरहेको छ । सरकारले मुख्यसचिव नियुक्ति गर्दा वरियताको आधारमा गर्छ कि प्रधानन्यायाधीश जस्तै वरियता मिचेर नियुक्ति गर्छ त्यो हेर्न बाँकी छ । मूख्यसचिवको दौडमा सचिव किरणराज शर्मा, गोपाल सिग्देल, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, गोविन्द प्रसाद शर्मा, राजकुमार श्रेष्ठ, रविलाल पन्थ, कृष्ण राउत, रामेश्वर दंगाल, मुकुन्द निरौला, घनश्याम उपाध्यक्षलगायत छन् । सरकारले यिनैमध्येबाट मूख्यसचिव बनाउँछ कि अन्यलाई बनाउँछ त्यो प्रतिक्षाको विषय बनेको छ ।

