प्रहरी महानिरीक्षक कार्की कि बोगटी ?

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र जुन ‘जोगी आएपनि कानै चिरेको’ भन्ने उखान चरितार्थ भएको छ । प्रहरीभित्रको विकृति र विसंगतिलाई रोक्नको लागि आईजीपी दानबहादुर कार्कीले सकेका छैनन् । महानिरीक्षक कार्की आफ्नो पद जोगाउनको लागि एसएसपी होबेन्द्र बोगटीको चाकडीमा लागिपरेका छन् । बोगटी गृहमन्त्री सुदन गुरुङका जिल्लावासी हुन् । गृहमन्त्री गुरुङले प्रहरीको पोशाक खरिदको ठेक्का तोडेर प्रहरीहरु आफैले आफ्नो पोशाक खरिद गर्न पाउने व्यवस्था गरिदिएपछि वर्षौंदेखि पोशाक खरिदको लागि विचौलिया, ठेकेदार, कमिसन खान पल्केका प्रहरी अधिकृतहरुको ओठतालु सुक्न थालेको छ । प्रहरी हेडक्वाटर अहिले एसएसपी होबेन्द्र बोगटीको निर्देशन अनुसार चल्ने गरेको छ । बोगटी यसअघि ललितपुर प्रहरी परिसरमा थिए । गुरुङ गृहमन्त्री भएपछि बोगटीलाई सिधै हेडक्वाटर ल्याइएको थियो ।

बोगटी गृहमन्त्री गुरुङको नजिक भएकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी .(रास्वपा)का ठूला नेतादेखि प्रधानमन्त्री र मन्त्रीहरुको नजिक बनेका छन् । बोगटीले पहिला काठमाडौं जिल्ला र वृत्तहरुमा बस्दा गरेको आर्थिक हिनामिनाको कुनै छानविन भएको छैन । काठमाडौं जिल्ला र वृत्तहरुमा बस्दा बोगटीले ज्यानमुद्दा, आर्थिक अपराध, लागुऔषधि, जुवातास, झैझगडाजस्ता मुद्दा मिलाउने नाममा ठूलो आर्थिक हिनामिना गरेको उजुरी हेडक्वाटरमा पर्दा पनि उनीमाथि कुनै छानविन भएको छैन । बोगटी शक्तिकेन्द्र मिलाउन माहिर भएकै कारण उनीमाथि कसैले प्रश्न उठाउन नसक्ने स्रोतले बताएको छ ।

बोगटी जुन पार्टीको सरकार बन्छ, त्यही पार्टीका शीर्ष नेतादेखि गृहमन्त्रीलाई गुमराहमा पारेर आर्थिक लाभ लिँदै आएका थिए । बोगटीलाई तत्कालीन प्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि त्यत्तिकै निकट भएर आर्थिक लाभ लिने गरेको आरोप छ । उनी निकट भएर काम गर्ने व्यक्तिहरु भ्रष्टाचारलगायत विभिन्न काण्डमा मुछिँदा पनि बोगटी भने चोखिँदै आएका छन् । आज उनै बोगटी रास्वपा सरकारका गृहमन्त्री सुदन गुरुङको दाहिने हात भएर प्रहरी हेडक्वाटरमा हालीमुहाली गरिरहेका छन् । त्यसले गर्दा प्रहरी महानिरीक्षक दानबहादुर कार्की पनि आफ्नो पद जोगाउनको लागि उनै बोगटीको सरणमा पर्ने गरेका छन् । बोगटीले प्रहरी महानिरीक्षक कार्कीसँगै आफ्नो दौतरीहरुलाई पनि गृहमन्त्री गुरुङको आडमा हायलकायल बनाइरहेका छन् ।

बोगटी नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतसँग पनि त्यत्तिकै नजिक थिए । बस्नेत अहिले भ्रष्टाचारको आरोपमा निलम्बनमा परिरहेका छन् । विभिन्न भ्रष्टाचारमा मुछिएका, विवादित र अवैध कारोबार गर्ने व्यक्तिहरुको बचाउँ गर्ने काममा बोगटी सधैं लागिपर्ने गरेको बताइन्छ । बोगटीले सीआईबीमा बस्दा पनि अनुसन्धानको नाममा भूमाफिया, विचौलिया, तस्कर र राजस्व छली गर्ने व्यक्तिहरुसँग सम्बन्ध राख्ने गरेको प्रहरीभित्र चर्चा चल्ने गरेको छ । पद र पैसाको लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्ने बोगटी अहिले रास्वपा सरकारका गृहमन्त्री गुरुङको दाहिने हात भएर सबै क्षेत्रमा हालीमुहाली गरिरहेको स्रोतको दावी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *