काठमाडौं । नेपाली समाजमा चिया पसल केवल चिया पिउने थलोमा सीमित छैनन् । पछिल्ला वर्षहरूमा राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा फरक–फरक नाम र अवधारणाका चिया पसल खुल्ने क्रम बढेको छ । यस्ता चिया पसलहरू अहिले राजनीतिक छलफल, सामाजिक भेटघाट, वैचारिक बहस तथा युवा पुस्ताको नियमित जमघट हुने साझा स्थलका रूपमा विकसित हुँदै गएका छन् । ‘चिया गफ’, ‘चिया चौतारी’, ‘चिया समाज’, ‘चिया भण्डार’, ‘चिया अदालत’, ‘मट्का चिया’, ‘इरानी चिया’, ‘चिया दानी’, ‘चिया माड’ र ‘चिया सागर’ जस्ता आलंकारिक नाममा सञ्चालन भएका चिया पसलहरूले ग्राहकलाई केवल चियाको स्वाद मात्र नभई खुला संवाद गर्ने वातावरण पनि उपलब्ध गराउँदै आएका छन् । यस्ता नामले परम्परागत चिया पसललाई आधुनिकताको स्वरूप दिएका पाइन्छ ।
राजधानीमा सञ्चालित धेरैजसो चिया पसलमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समर्थक, व्यवसायी, विद्यार्थी, पत्रकार तथा सर्वसाधारण नियमित रूपमा भेटघाट जम्मा हुने गरेका छन् । सार्वजनिक जीवनमा सक्रिय व्यक्तिहरूका लागि यस्ता स्थान अनौपचारिक छलफल गर्ने सहज माध्यम बनेका छन् । राजनीतिक विषयदेखि समसामयिक राष्ट्रिय घटनाक्रमसम्मका बहस यिनै चिया पसलमा हुने गरेको पाइन्छ ।
माथि उल्लेखित नामका चिया पसलहरुमा अधिकांश रास्वपाका नेताहरुले लगानी गरेका विभिन्न नामधारी चिया पसलहरुमा रास्वपा समर्थक नेता, कार्यकर्ता र कलेज पढ्ने युवायुवतीहरुको भीड लाग्ने गरेको पाइन्छ । त्यस्ता युवायुवतीहरुले यी चिया पसलमा चियासँगै चुरोट, हुक्का, ‘ई–सिग्रेट’ सेवन गर्ने प्रेम गर्ने थलो पनि बन्ने गरेको पाइन्छ । चिया पसलमा नवयुवा युवतीहरु चिया पिउनभन्दा पनि चुरोट र हुक्का सेवन गर्न साथी संगीसँग गफगाफ गर्न जम्मा हुने गर्दछन् । तर, रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरु भने भेटघाट गर्ने, सामाजिक सञ्जाल चलाउने र सरकारको गतिविधिलाई बढाइचढाइ गर्ने, अन्य दलहरुलाई गालीगलौज गर्ने अखडाको रुपमा चिया पसललाई प्रयोग गर्ने गरेका छन् ।
केही चिया पसलहरू (रास्वपा)का नेता केपी खनाल, भिक्टर पौडेल र शुवास शर्माको लगानी रहेको बताइन्छ । (रास्वपा)का नेता र सोसँग निकट रहेका केही व्यक्तिहरुको लगानी रहेको चिया पसलमा शीर्ष नेतादेखि प्रधानमन्त्री बालेन्द्र साहसम्म जाने गरेका छन् । केही हप्ता अगाडि प्रधामन्त्री साह चिया दानी नामक चिया पसलमा युवायुवतीसँग भलाकुसारी र भेटघाट गर्न पुगेका थिए । माथि उल्लेखित चिया पसलहरु प्रधानमन्त्री साहको युवाहरुलाई जमघट गरेर आफूप्रति आकर्षित गर्ने थलोको प्रयोग गर्ने गरेका छन् । यस्ता चिया पसलहरूमा विशेषगरी युवा पुस्ताको आकर्षण उल्लेखनीय देखिन्छ । कलेज तथा विश्वविद्यालयमा अध्ययनरत युवायुवतीहरू साथीभाइसँग भेटघाट, अध्ययनबाहेकका विषयमा छलफल, सामाजिक सञ्जालको प्रयोग तथा समय बिताउन नियमित रूपमा पुग्ने गरेका छन् ।
कतिपय स्थानमा चियासँगै चुरोट वा हुक्का सेवन गर्ने चलन पनि देखिने गरेको छ । यद्यपि, यस्तो व्यवहार कुनै एक राजनीतिक दल वा समूहमा मात्र सीमित नभई विभिन्न वर्गका ग्राहकबीच देखिने सामाजिक प्रवृत्तिका रूपमा पनि हेरिन्छ । यस्ता विभिन्न आलंकारिक नाम राखेर खोलिएका चिया पसलहरुमा गुणस्तरयुक्त सामान विक्रीवितरण गर्ने भन्दा पनि चिरच्याट्ट व्यवस्थापन देखाएर अत्याधिक महंगो मूल्यमा चुरोट, हुक्का ‘ई–सिगरेट’ भेपजस्ता पद्धार्थ विक्रीवितरण गरिन्छ । विशेषगरी युवा पुस्तामा यस्ता बानीको विस्तारले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले सचेतना आवश्यक रहेको बताइन्छ । राजनीतिक दृष्टिले हेर्दा पनि चिया पसलहरू अनौपचारिक संवादका महत्वपूर्ण केन्द्र बनेका छन् । यहाँ विभिन्न दलका समर्थकबीच राजनीतिक बहस, सरकारको कामकारबाहीमाथिको समीक्षा, सामाजिक सञ्जालका विषयमा छलफल तथा समसामयिक घटनाक्रमको विश्लेषण हुने गरेको देखिन्छ । कतिपय अवस्थामा राजनीतिक आरोप–प्रत्यारोप र सामाजिक सञ्जालमा देखिने ध्रुवीकरणका विषय पनि यिनै स्थानमा चर्चाको केन्द्र बन्ने गरेका छन् ।

