कांग्रेसको संस्थापन पक्षभित्रै दुई गुट

राजनीति समाचार

रामचन्द्र बस्नेत
देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यति बेला पुराना र मझौला पुस्ताका नेताहरुबीच जुँगाको लडाईँको सिकार भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा आक्रमण भएपछि तत्च्कालीन उपसभापति पूर्वबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मा दिएर उनी स्वास्थ्य उपचारको लागि सिंगापुरतिर हानिएका थिए । देउवा अहिलेसम्म नेपाल फर्किएका छैनन् । पूर्णबहादुरले काबाको जिम्मेवारी पाएपछि तत्कालीन महामन्त्री गगन थापाले विशेष महाधिवेशन गरेर आफू सभापति भए । थापा सभापति भएपछि कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकको नयाँ फन्डा बजारमा ल्याए । जब १५ औं महाधिवशेनको लागि देशैभरका क्रियाशील सदस्यहरुले सदस्यता नविकरण गरिसकेका थिए ।

गगन नेतृत्वको संस्थापन पक्षले क्रियाशील सदस्यता अध्यावधिक गर्न गरेको आग्रह इतर पक्षले अटेर गरिरहेको थियो । संस्थापन पक्ष र इतरपक्षको असन्तुष्टिकै कारण गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नराम्रोसँग पछारियो । देउवा निकटका केहीबाहेक ठूलो पक्तिले उत्त m निर्वाचनमा खुलेर सहभागी भएनन् । त्यसको परिणाम स्वरुप कांग्रेस ३८ सिटमा खुम्चिन पुग्यो । कांग्रेसको आन्तरिक झगडाकै कारण रास्वपा दुई तिहाई हाराहारी बहुमत ल्याउन सफल भयो । कांग्रेसभित्र भने संस्थापन पक्ष र इतर पक्षबीच कसले कसलाई सिध्याउने भन्ने युद्ध चर्केको छ । संस्थापन पक्षले प्रतिनिधि सभा निर्वाचन सकिएदेखि कांग्रेसले स्थानीय वडातहसम्म जरा अभियान चलाएर नयाँ क्रियाशील र पुराना अध्यावधिक गर्न प्रेरित गरेको थियो । तर, इतरपक्ष त्यसमा देउवा पक्षका झर्रो समूह भने क्रियाशील सदस्यता अध्यावधिकलाई अस्वीकार गर्दै आएको थियो । स्थानीय र प्रदेश निर्वाचन नजिकिँदै गर्दा कांग्रेस संस्थापन र इतर पक्ष झगडा झन् चर्किँदै गएको छ ।

१५ नियमित महाधिवेशनको तयारी गर्ने भनेर विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्व र कार्यसमिति इतरपक्षलाई बाइपास गर्न लागिपरेको छ । उता, इतर पक्ष भने छुट्टै सम्पर्क कार्यालय खोलेर नयाँ पार्टी गठन गर्ने तयारी गर्दै छ । यता, संस्थापन पक्षका नेताहरुबीच सबैलाई मिलाएर एकढिक्का भएर अगाडि बढ्ने कि इतरपक्षलाई छोडेर अगाडि बढ्ने भन्ने होडवाजी चलिरहेको छ । त्यसमा सभापति गगन थापा नयाँ र पुराना सबैलाई मिलाएर अगाडि बढ्ने मुडमा छन् भने उपसभापति विश्वप्रकाश शर्मा समूह इतरपक्षलाई पेलेरै अगाडि बढ्ने भनिरहेको छ । संस्थापन र इतर पक्ष दुवैलाई मिलाउने र एक्लै अगाडि जाने विवादले संस्थापन पक्षभित्र पनि दुई ÷तीन धार देखिन थालेको छ ।

चुनदेवीमा सम्पर्क कार्यालय खोलेर १५ औं नियमित महाधिवेशन गर्न कस्सिएका कांग्रेसका इतरपक्ष नेताहरुले संस्थापन पक्षसँग भागबन्डाको बार्गेनिङ गर्दै नयाँ पार्टी खोल्ने धम्की दिइरहेका छन् । त्योसँगै इतरपक्षले पार्टी एकतालाई जोड दिँदै राष्ट्रिय भेलाको आयोजनासमेत गर्ने भएको छ । तर, राष्ट्रिय भेला कहिले गर्छ र त्यसको स्वरुप कस्तो हुन्छ भन्ने एकिन भइसकेको छैन ।

इतरपक्षका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन संस्थापनलाई २५ गतेसम्मको अल्टिमेटम दिएका छन् । संस्थापन पक्षले त्यसबारे कुनै प्रतिक्रिय दिएको छैन । विशेष महाधिवेशनबाट आएको कांग्रेसभित्र पनि पार्टी मिलाउने र फुटाउने निहुँमा स्पष्ट रुपमा दुई गुट देखिन थालेको छ । कांग्रेसको संस्थापन पक्ष र इतरपक्षबीच यस्तै झगडा भइरहने हो भने पार्टीभित्र चार गुट हुने देखिन्छ । त्यसमा संस्थापन पक्षका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको दुई गुट उता इतर पक्षको पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाको दुई गुटबीच को ठूलो भन्ने प्रतिस्पर्धा चलेको देखिन्छ । कांग्रेसको आन्तरिक झगडा यसैगरी अगाडि बढिरहने हो भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा पार्टी झन् चकनाचुर हुने देखिन्छ । त्यसको फाइदा रास्वपाले संघमा लिएजस्तै स्थानीय प्रदेशमा पनि लिने पक्का छ । कांग्रेस कमजोर भएसँगै अन्य दलहरु पनि कमजोर हुने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *