काठमाडौं । कर्मचारी सरुवामा विगतमा जस्तै विकृतीहरु देखिएका छन् । यस्तो विकृती गृह मन्त्रालयमा देखिएको छ । गत शुक्रबार गृह मन्त्रालयले ४२ उपसचिवको सरुवा गर्दा १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर भए । सरुवाको सूची अनुसार, जुम्ला र डडेलधुरामा प्रमुख जिल्ला अधिकारी फेरिए । सो जिल्लामा सहसचिवको दरबन्दी भए पनि गृहले उपसचिवलाई खटाएको छ । जबकी गृहको बरण्डामा २ सहसचिवहरु काम र जिम्मेवारी नपाएर बसिरहेका छन् । मन्त्री स्तरीय निर्णयबाट जुम्लामा उपसचिव तेजप्रकाश प्रसाईं र डडेलधुरामा उपसचिव मिना अर्याललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइयो छ । प्रसाई झापाको सहायक सिडियो थिए भने मिना गृहको कर्मचारी प्रशासन शाखामा कार्यरत थिइन । कर्मचारी खटाउँदा डडेलधुरामा उपसचिवको अण्डरमा सहसचिव बसेर काम गर्नुपर्ने स्थिति बनेको छ ।
डडेलधुराको सहसचिव सिडिओ विष्णुप्रसाद कोइरालाको बैशाख दोस्रो साता कोशी प्रदेशमा सरुवा भएसँगै अमर वलीलाई सिडिओको जिम्मेवारी दिइएको थियो । मन्त्रालयले उनलाई अन्यन्त्र सरुवा नगरी गृहको कर्मचारी प्रशासन शाखाबाट मिनालाई सिडिओमा खटाउँदा एउटै जिल्लामा दुई सिडियो हुने स्थितिमात्र आएन । यस अघि सिडियो चलाइसकेका वली सोही जिल्लामा सहायक सिडियो भएर काम गर्नुपर्ने स्थिति पैदा भएको छ । अझैं रोचक त, यसरी खटन पटन गरिँदा गृह आफैले बनाएको मापदण्डलाई समेत कुल्चिएको पाइन्छ । प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ अनुसार जुम्ला र डडेलधुरालाई सहसचिव सीडीओ भएर खटिने ‘ग’ वर्गमा राखिएको छ । उपसचिवलाई सिडियो बनाएर खटाउँदा अहिले पनि गृह मन्त्रालयमा पुष्पराज शाही र भूपेन्द्र थापा जगेडामा छन् ।
नायब सुब्बा, शाखा अधिकृत र उपसचिवमा पिछडिएको क्षेत्रबाट लाभ लिएका शाहीलाई सोही क्षेत्रको सिडियोको जिम्मेवारीमा पठाउन सकिन्थ्यो तर गृहले त्यसो गरेन । यस्तै यस अघि वन मन्त्रालयबाट गृहको जगेडामा पुगेका सहसचिव भुपेन्द्र थापाले कुनै जिम्मेवारी पएका छैन । बरु उपसचिवलाई सहससिचको दरबन्दी भएको जिल्लामा सिडियोे बनाएर खटाइएको छ । गृह प्रशासन शाखाका अनुसार, त् यहाँ अझैं मोहन न्यौपाने, दिनेश थानी र कृतनराज पौडेल अतिरिक्त समूहमा रहेका छन् । कर्मचारी सरुवामा कतिसम्म गडबडी देखिएको छ भने माओवादी सरकार हुँदा सामान्य, अर्थ, गृह जस्ता मन्त्रालयको कर्मचारी प्रशासन फाँटमा डेरा जमाएका कमान सिंह थापा मगरलाई सोलुखुम्बु जस्तो आकर्षक जिल्लाको सिडिओ बनाएर पठाइएको छ । तिनै कर्मचारी हुन, बर्षमान अर्थमन्त्री हुँदा सचिवालयमा बसेर अनेकन बदमासीमा मुछिएका थिए । माओवादीका मन्त्रीहरुको सचिवालयमा घुमेर जागिर खाएका उनी अघिल्लो पटक सुशीला कार्कीको सरकारले गोर्खाको स्थानीय तहमा खटाएको थियो । सरुवा उल्टाएर छोटो समयमा गृह फर्किएका उनी त्यहाँबाट त्रिवि अध्यागमनमा फड्को मारे । मगर सहायक सिडियो समेत नभई सिधैँ प्रमुख जिल्ला अधिकारी चलाउने अवसर पाएका छन् । घटनाक्रमले गृह मन्त्रालयले चाहिरहेको सुशासनलाई स्पष्ट पारेको गृहको कर्मचारीहरुले बताएका छन् ।

