नेताहरुले घमण्ड तोड्ने कि कम्युनिस्ट सिद्धिने ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेकपा एमालेभित्र विगत लामो समयदेखि गुट, उपगुट झाँगिएसँगै कार्यकर्ता पनि विभाजित भएका थिए । एमालेभित्र संस्थापन पक्ष हावी हुँदा इतरपक्षका नेताहरुले नेतृत्वसँगै पार्टीलाई असहयोग गर्दै आएका थिए । संस्थापनको ढिपीले गर्दा जिल्ला सम्पर्क मञ्च, क्षेत्रीय सम्पर्क मञ्च, इलाका सम्पर्क मञ्च र वडा सम्पर्क सम्पर्क मञ्चदेखि विद्यार्थी, संगठन, मजदुर संगठन, शिक्षक संगठन, प्राध्यापक संगठन, बुद्धिजीवी संगठनलगायत विभिनन २३ वटा जनवर्गीय सगठनभित्र गुटबन्दीकै कारण विवाद हुँदै आएको थियो । सबै जनवर्गीय संगठनमा विवाद हुँदा गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा एमालेले नराम्रोसँग पराजय भोग्न पुगेको थियो । प्रत्यक्षमा पराजय भोगेसँगै आफ्नो समानुपातिक मत पनि गुमाउनुपरेको थियो । अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा बसेर हालीमुहाली गर्नेहरुकै कारण एमाले आज तेस्रो दलको रुपमा दर्जन हुन पुगेको छ ।

खासगरी अध्यक्ष ओलीको घमण्ड, इतरपक्षको विवाद र सचिवालयमा बस्नेहरुको हालीमुहालीले गर्दा एमाले पार्टीले इतिहासकै ठूलो हार बेहोर्नुपरेको थियो । त्यसैगरी एमाले अध्यक्ष ओली बढी राष्ट्रवादी बन्दा पनि देशी, विदेशी शक्तिहरुले पार्टी सिध्याउनको लागि चलखेल गर्ने मौका पाएका थिए । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओली २०८२ भदौमा चीन भ्रमणमा जाँदा चीन, उत्तरकोरियालगयात विभिन्न कम्युनिस्ट देशका राष्ट्रप्रमुखसँग लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि भारतले मिचेको कुरा उठाएका थिए । भारतले नेपाली भूमि मिचेको कुरा तत्कालीन प्रधानमन्त्री ओलीले चीनमा उठाएको भारतलगायत अन्य मुलुकलाई मन परेको थिएन । सो कुरा उठाएर चीन भ्रमणबाट नेपाल फर्किएपछि जेनजी आन्दोलनको नाममा ओलीको सरकार ढल्न पुगेको थियो । त्यसकारण केपी ओलीले राष्ट्रियताको नाममा बढी वकालत गर्दा आफै फन्दामा परेका थिए ।

आफू फन्दामा परेसँगै एमाले पार्टी नै धरापमा परेको छ । एमालेभित्र पार्टीको नेतृत्व बारेमा देशैभरबाट सुझाव संकलन गर्दा पनि अध्यक्ष ओलीको विपक्षमा मत आएको छ । त्यसलाई मध्येनजर गरी अध्यक्ष ओलीले पदबाट राजीनामा दिएर नयाँ नेतृत्वको खोजी गर्नुपर्ने धारणा देशभरबाट आएको छ । त्यसरी देशैभरबाट कार्यकर्ताको धारणा आउँदा पनि अध्यक्ष ओलीले आफ्नो अडान छोडेका छैनन् । एकातिर अध्यक्ष ओलीले आफ्नो घमण्ड नत्याग्नु अर्कोतिर देशी विदेशी शक्तिहरु नेपालमा कम्युनिस्टहरुको जरा उखेल्न लागिपर्नुले पनि नेपालका कम्युनिस्ट पार्टीहरुमाथि चुनौति थपिएको छ ।

पछिल्लो समय युरोपियन युनियनहरु खुलेरै नेपालका कम्युनिस्ट पार्टीविरुद्ध खनिन थालेका छन् । सन् २०२९ सम्ममा नेपालबाट कम्युनिस्ट पार्टीहरुलाई नामेट पार्ने योजनामा स्वदेशी तथा विदेशी शक्तिहरु लागिपरेको आँकलन गर्न सकिन्छ । यति हुँदाहुँदै पनि नेपालका कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वहरु एकभएर अगाडि बढ्न सकेका छैनन् । उल्टै एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीको अस्तित्व नस्वीकार्ने प्रवृत्ति हावी भइरहेको छ । एमाले र माओवादी मिलेर बनेको नेकपालाई विघटन गर्नुले नै कम्युनिस्ट पार्टीहरुले आजको दूर्दशा भोग्नुको मुख्य कारण हो । विश्वमा कम्युनिस्ट पार्टीहरु कमजोर भएसँगै नेपालमा पनि त्यसको असर परिरहेको छ । अझै पनि नेपालमा ६० प्रतिशत जनमत कम्युनिस्ट पार्टीमा हुँदाहुँदै त्यसको अस्तित्व नामेट पार्न खोजिनु भनेको नेपालका कम्युनिस्ट सिध्याउन विदेशी चलखेल बढ्नुहो । त्यसले गर्दा अस्तित्व जोगाउनको लागि पनि नेताहरुले घमण्ड त्यागेर नेपालका सम्पूर्ण कम्युनिस्ट शक्तिहरु एकजुट हुन आवश्यक छ । यदि त्यसो गर्न नसकेको अण्डमा सन् २०२९ पछि नेपालमा कम्युनिस्टहरु सिला खोज्नुपर्ने स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *