संस्कृति, पर्यटन क्षेत्र रास्वपाको कार्यकर्ता भर्ती केन्द्र बन्दै

राजनीति समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेका खड्गराज पौडेलले सो मन्त्रालय चलायमान बनाउन सकेका छैनन् । पर्यटनमन्त्रालय अर्गन्तर्गत विभिन्न निकायमा पुराना कर्मचारी हटाएर नयाँ नियुक्ति गर्ने परिपाटीले गर्दा पर्यटन मन्त्रालय विगतमा भन्दा अहिले धेरै बद्नाम भएको छ । यतिबेला पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्रालय अन्तर्गत पर्ने पञ्चाङ्ग निर्णायक समितिमा अध्यक्ष, कार्यकारी निर्देशक र कर्मचारीहरुबीच विवाद चुलिएको छ । ंनेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला, राष्ट्रिय नाचघर, नेपाल नाट्य प्रतिष्ठान र पशुपति क्षेत्र विकास कोषलगायतमा सदस्यसचिवदेखि उपकुलपति, निर्देशक र महानिर्देशकलगायत अन्य सदस्यहरु गरी ८१ जनालाई सम्ब्न्धित क्षेत्रभन्दा बाहिरबाट ल्याएर नियुक्ति गरिएको छ । प्रधानमन्त्री कार्यालयका वीरेन्द्र यादवको निर्देशनमा ८१ जना व्यक्तिहरुलाई संस्कृतिसम्बन्धी विभिन्न कार्यालय, विभाग र निकायमा नियुक्ति गरिएको हो ।

यी निकायहरुमा साहित्य, गीत–संगीत र संस्कृतिविदहरुलाई नियुक्ति गर्नुपर्नेमा त्यस्ता व्यक्तिहरुलाई पाखा लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई नियुक्ति गरेपछि विवाद भएको छ । सो विवाद मिलाउन कर्मचारीहरु मन्त्रालयमा समेत धाउन थालेका छन् । सरकारले गरेका सदस्यसचिव, निर्देशक, महानिर्देशक, अध्यक्ष र सदस्यहरुको नियुक्तिलाई लिएर विवाद भएपछि ती निकायमा काम हुन छोडेको छ ।

पुराना दलहरुको तत्कालीन सरकारले राजनीतिक रुपमा नियुक्ति गरे तापनि सम्बन्धित विभाषयमा दख्खल भएका व्यक्तिहरुलाई नियुक्ति गर्ने गरेको थियो । तर, रास्वपा सरकारले भने तत्कालीन सरकारले नियुक्ति गरेका विषयविज्ञ व्यक्तिहरुलाई राजीनामा गर्न लगाएर आफ्ना कार्यकर्ताको भर्तीकेन्द्र बनाएको छ । नवनियुक्त कार्यकारी अधिकृत र निर्देशकहरुको निर्णय त्यहाँका पुराना कर्मचारीहरुले नमान्दा विवाद सुरु भएको छ । विवादकै कारण यी निकायहरुमा कर्मचारीबीच हात हालाहालको स्थिति सिर्जना भएको छ । त्यसले गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्त्गर्ततका विभिन्न निकायमा कर्मचारी र सरकारबीच टसल हुँदा नेपालको धर्म, संस्कृति अनुसारको सेवासुविधा सर्वसाधारणले लिन सकेका छैनन् । यस्ता विषयमा पर्यटनमन्त्री बेखबर जस्तै बनेका छन् ।

सरकारकै कारण नाथम जस्तो संस्थामा समेत भ्रष्टाचार, विकृति र विसंगति फैलिएको थियो त्यसको छानविन हुन सकेको छैन । त्यस्तै पर्यटन बोर्डको विकृति, विसंगति र भ्रष्टाचारको पनि छानविन हुन सकेको छैन ।सरकारले सम्बन्धित ठाउँमा उचित व्यक्तिलाई नियुक्ति गर्न नसक्दा पर्यटन व्यवसाय पनि थलालिङ्ग अवस्थामा गुज्रिइरहेको छ । पर्यटन प्रवद्र्धनसम्बन्धी सरकारले ध्यान दिन नसक्दा विदेशी पर्यटकहरु आउन सकेका छैनन् । दलको तत्कालीन सरकारहरुका पालामा राजनीतिक नियुक्ति हुने भएपनि शान्तिसुरक्षाको व्यवस्था भएकाले पर्यटकहरु आउने गरेका थिए । तर, २०८२ साल भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछिको सरकारले शान्तिसुरक्षाको व्यवस्था गर्न नसक्दा नेपालमा विदेशी पर्यटकहरु आउन छाडेका छन् ।

सरकारले शान्तिसुरक्षाको ग्यारेन्टी नगरेकै कारण पर्यटकहरु आउन छाडेका हुन् । रास्वपा सरकारले एकातिर देशमा शान्ति सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन भने अर्कोतिर पर्यटकको लागि यातायात, खाना, बसोवास र सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा दिनप्रतिदिन नेपालमा पर्यटकहरु घटिरहेका छन् । विदेशी पर्यटक घट्नु भनेको राजस्व, रोजगारी र व्यापार, व्यवसाय पनि डामोडल हुनु हो । रास्वपा सरकार बनेपछि नेपालमा लगानीयोग्य वातावरण नबन्दा व्यापार व्यवसाय पनि चौपट हुँदै गएको छ । एकातिर पर्यटकहरु नआउनु अर्कोतिर व्यापार व्यवसाय नहुनु भनेको देशको अर्थतन्त्र डामाडोल हुनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *