काठमाडौं । भूमिसम्बन्धी ऐनमा हाउजिङ कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा राख्न पाउने कुनै स्पष्ट प्रावधान नै छैन । तर, सेटिङमा १६ वटा हाउजिङ कम्पनीहरुले ४ लाख २५ हजार ६ सय ४१ दशमलव ३३ वर्गमिटर जग्गा ओगटिरहेको पाइएको छ । हदबन्दी छुटको यो खेलमा सबैभन्दा अगाडि काठमाडौंको बलम्बुमा मात्रै एउटै कम्पनीले १ लाख २८ हजार ३ सय ३४.६ वर्गमिटर जग्गा राख्ने अनुमति पाएको छ । यो हाउजिङ कम्पनीहरूले पाएको स्वीकृतिमध्ये सबैभन्दा ठूलो क्षेत्रफल हो । यस्तै, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.ले काठमाडौंको सीतापाइलामा ६७ हजार ५ सय ७६.६६ वर्गमिटर जग्गा ओगटेका छन् । यी टेलिभिजनका साहुजी हुन ।
यस्तै, कोहिनुर हिल हाउजिङ प्रा.लि.ले उपत्यकामा ५५ हजार ४ सय ४.३२ वर्गमिटर, टचउड हाउजिङ प्रा.लि.ले काठमाडौंमा ३१ हजार ९ सय २८.९६ वर्गमिटर र बागमति प्रपर्टी डिलर्स प्रा.लि.ले काठमाडौं र भक्तपुरमा ३१ हजार ८४.२२ वर्गमिटर जग्गाको स्वीकृति हात पारेका छन् । होमल्याण्ड हाउजिङ प्रा.लि.ले काठमाडौंमा २२ हजार ९ सय ८६.५३ वर्गमिटर, टावर हाउजिङ प्रा.लि.ले काठमाडौं र चितवनमा २१ हजार ९ सय २६.०५ वर्गमिटर, रोड सो रियल स्टेट प्रा.लि.ले कास्कीमा १९ हजार ६ सय ७०.२८ वर्गमिटर, सि.ई. कन्स्ट्रक्सन प्रा.लि.ले काठमाडौंमा १५ हजार ८ सय १४ वर्गमिटर र सिभिल होम्स प्रा.लि.ले ललितपुर र काठमाडौंमा १५ हजार १०७.२१ वर्गमिटर जग्गा स्वीकृति गराएका छन् । यस्तै, शांग्रिला हाउजिङ प्रा.लि.ले १४ हजार ७ सय ७९.२३ वर्गमिटर, युरो इन्भेस्टमेन्ट प्रा.लि.ले १४ हजार ७२.९९ वर्गमिटर, सुभारम्भ हाउजिङ एन्ड डेभेलपर्स प्रा.लि.ले १३ हजार ८ सय ७३.०८ वर्गमिटर, सिद्धार्थ हाउजिङ प्रा.लि.ले १३ हजार २ सय ६५.९४ वर्गमिटर जग्गाको स्वीकृति पाएका छन् । यसैगरी, वृहत इन्भेस्टमेन्ट प्रा.लि.ले ४ हजार ८ सय ५५.७८ वर्गमिटर, सी.डी डेभलपर्स प्रा.लि.ले ४ हजार ४ सय ९७.२७ वर्गमिटर, ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रा.लि.ले ललितपुरमा ४ हजार १५५.९९ वर्गमिटर, सिनर्जी प्रोपर्टिज डेभलपर्स प्रा.लि.ले काठमाडौंको दहचोकमा २ हजार २ सय १७ .९४ वर्गमिटर, हेमेन्स भिलेज प्रा.लि.ले काठमाडौंमा ९ सय ६७.८२ वर्गमिटर र आयुषा डेभलपर्स प्रा.लि.ले काठमाडौंमा ३ सय ५७ वर्गमिटर जग्गा राख्ने अनुमति पाएका छन् । काठमाडौं उपत्यकामा एउटै व्यक्ति वा संस्थाले कुल २५ रोपनी (१२,७१८.२५ वर्गमिटर) भन्दा बढी जग्गा राख्न नपाउने कानूनी सीमा तोकेको छ ।
भूमिसम्बन्धी ऐन, २०२१ ले तराईमा १ बिघा तथा काठमाडौं उपत्यका र पहाडमा घरबारीका लागि अतिरिक्त ५÷५ रोपनीको सहुलियत तोकेको छ भने तराई तथा भित्री मधेशमा १० बिघा र पहाडी क्षेत्रमा ७० रोपनीको स्पष्ट हदबन्दी तोकिएको छ । तर, कानूनको यो स्पष्ट घेराबन्दीलाई धज्जी उडाउँदै सत्ता र शक्तिलाई हातमा लिएर हाउजिङ तथा रियल स्टेट कम्पनीहरूलाई असीमित जग्गा खरिदको स्वीकृति लिएको पाइएको हो । राज्यले हाउजिङ व्यवसायलाई जग्गा तथा घर निर्माण गरी विकास गरेर बिक्री गर्ने स्वीकृत दिएको हुन्छ । तर एउटै व्यवसायीले हदबन्दीको सास्तीबाट बच्न फरक–फरक कम्पनी दर्ता गरेर जग्गा खरिद गर्ने गरेको देखिएको छ । भूमि मन्त्रालयमा बसेका एक जना पूर्व सचिवका अनुसार,एउटै कम्पनीबाट धेरै जग्गा लिँदा हदबन्दी लाग्ने तर, फरक–फरक कम्पनी खडा गरिएको पाइन्छ भूमि प्रशासन मन्त्रालयको सूची अनुसार नेपालभर कुल १०४ वटा कम्पनी तथा संस्थाहरूले १ करोड ९२ लाख ४० हजार ३ सय २६.७२ वर्गमिटर जग्गा राख्न पाउने गरी हदबन्दी छुट पाएका छन् । जसमा हाउजिङ्गपछि सिमेन्ट उद्योगको बाहुल्यता छ । होङ्गसी शिवम्,युनाइटेड सिमेन्ट उद्योग,सगरमाथा सिमेन्ट,घोराही सिमेन्ट उद्योग, सोनापुर सिमेन्ट उद्योग,रोल्पा सिमेन्ट उद्योग र ह्वासिन सिमेन्ट नारायणले धादिङ गरी सात वटा सिमेन्ट उद्योगले हदबन्दी भन्दा बढी प्रयोग गरिरहेको पाइएको छ ।
विवरणका आधारमा होङ्गसी शिवम् सिमेन्टले ८ लाख ५३ हजार वर्गमिटर र मारुती सिमेन्टले २ लाख ३१ हजार वर्गमिटरभन्दा बढी जग्गा उपभोग गरिरहेका छन् । यस्तै युनाइटेड सिमेन्ट उद्योगले १ लाख ३८ हजार २ सय ४६ बर्गमिटर जग्गा उपभोग गरिरहेको भूमि व्यवस्था मन्त्रालयले विवरण दिएको छ । सगरमाथा सिमेन्ट उद्योगले २ हजार ११६ बर्गमिटरभन्दा बढी जग्गा लिएको देखिन्छ भने घोराही सिमेन्टले ३ लाख ५७ हजार ४४९ बर्गमिटर,सोनापुर सिमेन्टले १२ हजार ४ सय बर्ग मिटर जग्गा हदबन्दी भन्दा बढी राखेको पाइएको छ ।
प्राप्त विवरण अनुसार,रोल्पा सिमेन्टले ३६७० बर्गमिटर जग्गा हदबन्दी भन्दा बढी राखेको पाइन्छ । यस्का अलवा ह्वासिन सिमेन्ट नारायणले धादिङमा १८ हजार ५४९ बर्गमिटर र १ लाख ५७ हजार ४४ वर्गमिटर गरी कूल १ लाख ७७ हजार बर्गमिटर जग्गा हदबन्दी भन्दा बढी प्रयोग गरिरहेको पाइएको छ । यता,बाँकेको गिजरा खाडखारी मिलले १२ लाख १९ हजार वर्गमिटर, रियालन्स सुगर मिल्सले ५ हजार ५ सय ५३ बर्गामिटर जग्गा हदबन्दी भन्दा बढी राखेको पाइएको छ । यस्तै गिरी बन्धु टीस्टेटले १८ लाख ६ हजार वर्गमिटरभन्दा बढी, राज टी स्टेटले ९ लाख ७८ हजार वर्गमिटर, नक्कलबन्दा टी स्टेटले ८ लाख ३१ हजार वर्गमिटर, झापा टी स्टेटले ७ लाख २९ हजार वर्गमिटर र इलामको माङमालुङ चिया बगानले ३ लाख १५ हजार वर्गमिटरभन्दा बढी जग्गा कब्जामा राखेका छन् । विशेषगरी चिया उत्पादनका नाममा झापा र इलामका ठूला घरानाहरूले ठूलो भूभाग ओगटेका छन । उसो त पूर्वप्रधानमन्त्रीहरूको नाममा केपी ओली ट्रष्टले ३७ हजार ७ सय ७३ . ३७ वर्गमिटर जग्गा हदबन्दी छुटमा पाएको छ भने अर्का पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा जीपी कोइराला फाउन्डेसनले मोरङमा २४ हजार ८७७.८६ वर्गमिटर जग्गा हदबन्दी छुटमा पाएको छ ।

